16
Apr
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबिच भेटवार्ता भएको छ । एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा सत्ता समीकरणमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री प्रचण्डले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् । एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएको भए पनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्ट रहेको छ । सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरीत काँग्रेससहितको समर्थनमा नाउपाकै रेसम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरङ्गित बनेको छ ।