काठमाडौँ । कविताको लघुतम रूपमध्ये टुक्का कविता पनि एक हो ।२०७७ साल साउन २५ गते कवि ताराप्रसाद चापागाईँद्वारा प्रवर्तित टुक्का दुई हरफमा रचिने ५ देखि २७ अक्षरीय संरचनामा अनुबन्धित अनुप्रासयुक्त कविता हो।यस सिद्धान्तलाई आत्मसात् गर्दै टुक्का सर्जक भेटघाट तथा टुक्काकार अमृता रसाइली ‘रामदाम’ द्वारा रचित टुक्का कविता सङ्ग्रह ‘काव्य कलश’ लोकार्पण कार्यक्रमको आयोजना भयो।
प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदी लगायतले ‘काव्य कलश’को संयुक्त रूपमा अनामनगरस्थित डालो रेस्टुरेन्टको सभा हलमा लोकार्पण गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवेदीले जीवनको प्रयोगमा साहित्य रहेको उल्लेख गर्दै परम्परागत शैलीमा मात्र सीमित रहेर लेखिनाले साहित्यको प्रभाव क्षमता क्षीण हुन सक्छ। यसैले प्रयोगात्मक साहित्यिक प्रवृत्तिहरूको उत्थानमा योगदान गर्नुपर्ने समय आएको बताउनुभयो । दुई हरफभित्र पूर्ण सन्देश दिन सक्ने लघुतम काव्यिक संरचना टुक्का कविता आजको नेपाली साहित्यमा लोकप्रिय विधाको रूपमा स्थापित हुँदै गएको बारे चर्चा गर्नुभयो । उहाँले टुक्का कविताका प्रवर्तक ताराप्रसाद चापागाईँ र काव्य कलशकी सर्जक अमृता रामदामका बारेमा धारणा राख्नुभयो।
कार्यक्रमका विशिष्ट अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ सभा सदस्य चेतनाथ धमलाले नेपाली भाषामा प्रचलित साहित्यिक विधाहरूमा टुक्का कविता छोटो, लयात्मक, गेयात्मक र प्रभावशाली अभिव्यक्तिको माध्यम भएको हुँदा यो आजको आवश्यकता अनुसारको मौलिक विधा हो भन्दै यसको सैद्धान्तिक पक्ष र व्यापकता बारे धारणा राख्नुभयो। विशिष्ट अतिथि तथा महाकाव्यकार कलानिधि दाहालले टुक्का कविता छोटो समयमै सिर्जनात्मक अभिव्यक्तिको राम्रो माध्यम भएको बताउँदै नियमित लेखनमार्फत यसको विकास र विस्तार आवश्यक रहेको उल्लेख गर्नुभयो।
अर्का विशिष्ट अतिथि राधेश्याम लेकालीले टुक्का कवितालाई नेपाली भाषामा प्रयोग भएका विधामध्ये उत्कृष्ट र लोकप्रिय विधा मान्दै नेपाल प्रज्ञा–प्रतिष्ठानजस्ता संस्थाले यस्ता विधाको संरक्षण र प्रवर्द्धनमा अग्रसर हुनुपर्ने धारणा राख्नुभयो। भरतपुर–२ चितवन निवासी सर्जक अमृता रामदामद्वारा लेखिएको ‘काव्य कलश’ नामक टुक्का कविता सङ्ग्रहको समीक्षा टुक्का साहित्य समाजका सल्लाहकार रामशरण न्यौपानेले गर्नुभएको हो। मुक्तक अभियन्ता सुनिल अधिकारीले काव्य कलशका सर्जक रामदामको चर्चा गर्दै टुक्का कविता मुक्तक जस्तै शैलीमा लेखिने तर विधागत नियम फरक भएको टुक्का कविताले नेपाली साहित्यमा छुट्टै स्थान बनाउँदै गएको चर्चा गर्दै शुभकामना मन्तव्य राख्नुभयो ।
यसै गरी कार्यक्रममा कवि जनार्दन अधिकारी धड्कन तथा समीक्षक अरुणबहादुर खत्री नदीलगायतका अतिथिको उपस्थित रह्यो । कार्यक्रमको स्वागत मन्तव्य समाजका कोषाध्यक्ष होमप्रसाद न्यौपानेले गर्नुभयो भने सदस्य शोभा आचार्य गौतमले टुक्का कविता विधा र टुक्का साहित्य समाजको गतिविधिबारे सङ्क्षिप्त जानकारी दिनुभयो।
कार्यक्रममा ललिता दोषी, सुशील रिजाल, पूर्णबहादुर श्रेष्ठ ‘हृदयङ्कृत’, कृष्णबहादुर वैद्य, हरिगोपाल प्रधान, डम्बर थामी ‘अनुपम’, कल्पना मरासैनी, सुरेशचन्द्र घिमिरे, वासुदेव ठकुरी, राजेशराज गइतौला, रचना मोक्तान ‘यात्री’, पवन कुमार बुढाथोकी, प्रमोद नेपाल, इन्दु श्रेष्ठ, तिलक गाउँले, सङ्गी काली, शोभा आचार्य गौतम, रामप्रसाद पुरी, दीपा गुरुङ ‘समभाव’, राजकुमार राजभण्डारी, कल्पना भण्डारी, सुमित्रा पोखरेल, रुविना कट्टेल, कृष्ण घिमिरे लगायतका सर्जकहरूले आ-आफ्ना टुक्का कविताहरू वाचन गर्नुभयो। टुक्का साहित्य समाजका अध्यक्ष तथा टुक्का प्रवर्तक ताराप्रसाद चापागाईँले टुक्का उत्कृष्ट काव्य बन्नका लागि आवश्यक सैद्धान्तिक तत्त्वहरूलाई ध्यान दिई यसको लेखन सिल्पबारे चर्चा गर्दै छोटो अवधिमै टुक्का कविताले व्यापकता पाउनुमा सबै सर्जकको योगदान रहेको बताउनुभयो ।कार्यक्रमको सञ्चालन टुक्का साहित्य समाजका सदस्य रामप्रसाद पुरीले गर्नुभयो।