* डा.गोविन्दशरण उपाध्याय
(१) नेपाली समाज तथा व्यक्तिमा बढ्दो असन्तोषको कारण वर्तमान राजनीतिले स्थायित्व र अडान लिन नसक्नु नै हो | सबै राजनैतिक दलका घोषणापत्रहरू उत्कृष्ट छन् तर घोषणापत्र, व्यावहारिक धरातल र दलका नेतृत्व तथा तर्काकर्ताहरूको रहनसहनमा एकताका लागि हरेक पार्टीको नेतृत्वले इमानदार भएर सैद्धान्तिक तथा व्यावहारिक तहमा चिन्तन, मनन र क्रियान्वयन गर्न आवश्यकता छ | देश, जनता र समय हामीसँग छ | यसको सदुपयोग गर्नुपर्छ |
(२) राजनीतिले मानवको चिन्तन, स्वभाव तथा गतिलाई निर्दिष्ट गरेर समाजलाई सुसभ्य, समुन्नत तथा सहृदयी बनाउँछ | यी सबै थोक केवल सुशासनबाट प्राप्त हुन्छन् | नेपाली समाजमा मात्र होइन विश्वभरिका राजनैतिक प्रणालीहरूप्रति प्रश्न र असन्तोष फैलिरहेको छ | अगुवाहरूले बोलेको कुरा र व्यवहारमा कत्ति पनि समानता देखिन्न | नैतिक जिम्मेवारीलाई बलियो बनाउने आवश्यकता छ | नेतृत्वमा रहेकाले पुनः सकारात्मक निर्णयसहितको व्यवहार प्रदर्शन गर्नुपर्छ |
(३) राजनीतिमा वैचारिक मतभेद हुनु स्वाभाविक हो तर समग्र समुन्नतिका लागि निम्नतम सहमति सबैमा हुनुपर्छ | उदाहरणका लागि विद्यालयहरू, महाविद्यालयहरू, विश्वविद्यालयहरू र चिकित्सालयहरूमा राजनैतिक उद्देश्यसहित कुनै नियुक्तिहरू नगर्ने र राजनैतिक उद्देश्य प्राप्तिका लागि विद्यार्थीहरूलाई “मोहरा” नबनाउने सहमति गर्न सबै दलहरू तयार हुनु निम्नतम सहमतिको आरम्भ हुन सक्छ | शिक्षा क्षेत्रको बेथितिबाट अपरिचित र असहमत एउटा सर्व सामान्य मान्छे असहमत हुँदैन भने क्षमतावान् राजनैतिक नेतृत्वले बुझेको छैन भन्न मिल्दैन |
(४) आधुनिक सञ्चारमाध्यमको विकासले विश्वको जुनसुकै घटना वा विचारले जुनसुकै व्यक्ति, समाज वा राष्ट्र प्रभावित हुन सक्छ | यस्तो प्रभावमा असल र कसल दुवै विचार वा घटनाको प्रवेश हुन्छ | अहिलेको नेपाली समाज आफ्नो मौलिक पहिचान र विभिन्न माध्यमहरूबाट प्रवेश गरेका विदेशी वाद, जीवनशैली तथा व्यवहारका बिचमा आकुल व्याकुल छ | भौतिक सुमुन्नातिका लागि विदेशीवाद र जीवनशैलीले आकर्षण गरिरहेको छ भने आफ्नो मौलिक परिचयले निर्मित व्यक्तित्वले “आफ्नोपन जीवित राख्न सङ्घर्ष” गरिरहेको छ | यस्तो अवस्थामा, हाम्रो समाजलाई विदेशी प्रभावबाट कति प्रभावित हुने दिने, कति ती प्रभावलाई स्वीकार गर्ने भन्ने विषयमा निश्चित तहबाट नीतिगत निर्णय लिनै पर्छ | नत्र देश मात्र होइन एउटा सामान्य नागरिक पनि “विद्रोही” बनेर अशान्तिको कारण बन्छ | दुर्भाग्यवश, नेपाली मन विद्रोहप्रति बढी आकर्षित भएको छ |
(५) आधुनिक सञ्चार माध्यमहरू उन्नत समाजका लागि सहयोगी छन् वा छैनन् ? यो कुराको बस्तुगत विश्लेषण आवश्यक भएको छ | सबैभन्दा सुरक्षित मानिने बेड रुममा समेत मानवीय चिन्तनलाई प्रभावित पार्ने क्षमता भएको आमसञ्चारको नैतिक धरातल बलियो छैन | दुर्भाग्यवश, आधुनिक सञ्चारमाध्यमहरूमा असल तथ्य. चिन्तन र नैतिक धरातल भन्दा कमसल, अनैतिक र भावनालाई उत्तेजित पारेर मान्छेको मन र स्वभावलाई “विद्रोहतिर प्रेरित गर्ने सन्देशहरू शीघ्र गतिमा फैलिने गर्छन् र यसको कुनै सीमा छैन | चिन्तनमा अविश्वास, विद्रोह र घृणावादको बीजारोपण र त्यसको विकासलाई नीतिगत तहमै सम्बोधन गर्नु आज विश्वको आवश्यकता रहेको छ भने नेपाली राजनैतिक नेतृत्वले दार्शनिकहरूसँग छलफल गरेर यी विषयवस्तुहरूलाई उचित सम्बोधन गर्नुपर्छ |
(६) विश्वले १९ दर्शनशास्त्र दिवस मनाउँदै गर्दा यस पटक चिन्तन र समाजका बिचको सम्बन्धका विषयमा छलफल हुँदै छ | नेपाली समाजको हकमा भन्नुपर्दा नेपाली राजनैतिक नेतृत्व र राजनैतिक गतिविधिहरूप्रति सर्वसाधारणको विश्वास गुमेको अवस्था छ | स्वीकार गर्न गाह्रो होला तर यस्तो अविश्वासको परिवेशमा असल सोच्ने, असल बोल्ने र असल कर्म गर्ने नियत लिएर प्रधानमन्त्री मन्त्री बन्ने व्यक्तिप्रति पनि जनताले विश्वास गर्न सक्ने छैनन् | सम्भवतः जनताको अविश्वास खिसेउटीका रूपमा प्रकट हुन्छ | गाईजात्राका बखतमा राजनैतिक नेतृत्वप्रति हुने व्यङ्ग्यहरूले सर्वसाधारणको चासोलाई अभिव्यक्त गर्छन् | तर राजनैतिक नेतृत्व ती चासोहरूप्रति गम्भीर हुँदैन | नेतृत्व तहमा हुने यो गम्भीर भूल हो |
(७) सिद्धान्त असल हुनुपर्छ, प्रस्ट हुनुपर्छ | देशको सामाजिक, धार्मिक, सांस्कृतिक तथा नैतिक धरातलसँग जोडिएको हुनुपर्छ | असल कुराहरू विश्वको जुनसुकै व्यक्ति, समाज वा राष्ट्रबाट ग्रहण गर्नुपर्छ | अमेरिकाले सर्वसाधारण नेपालीलाई भिजा नदिएझैँ कमसल कुराहरूलाई नियन्त्रण गर्ने नैतिक धरातल निर्माण गर्नुपर्छ | नेपाली समाज स्वाभाविक रूपमा अति धेरै उदारवादी (Open) छ | यसको प्रमाण हो – नेपाली कानुनले सेम-सेक्स म्यारिजलाई मान्यता दिनु र गर्भपतनलाई वैध बनाउनु | आज पनि अमेरिकाका धेरै राज्यहरूमा यी दुवै व्यवहारहरू बन्देज छन् | तर नेपालीको यो प्राकृतिक उदारतामा खेलेर शक्तिशाली राष्ट्रहरू र शक्तिशाली धार्मिक सम्प्रदायहरूले नेपाली समाजमा घृणावादको खेती गरिरहेका छन् र यस्तो घृणावाद राष्ट्र राज्य, द्वीराष्ट्रियता, बहुराष्ट्रियताका रूपमा प्रकट भइरहेको छ भने अर्कोतिर अब्रहमिक रिलिजनले एकलकाँटे धार्मिक, सांस्कृतिक तथा चिन्तन भएका मान्छेहरू तयार गर्दै छन् | नेपाली समाजबाट प्राकृतिक उदारता नष्ट हुँदै जानु र नक्कली उदारताको अनुहारमा प्रवेश गरेका कट्टरपन्थीहरूको उपस्थिति बाक्लो हुनु देश, समाज र व्यक्तिका लागि हितकर हुँदैन | सैद्धान्तिक धरातलमा सही “सबै सुखी होउन्, सबै सबै स्वास्थ्य होउन्, सबैको कल्याण होस् र सबैले उन्नति गरूँन् भन्ने उपनिषद्को उदात्त भावना र मान्छेहरूले आ-आफ्नो समाज, संस्कृति तथा परिवेश अनुसार आत्म उत्थानको अभ्यास गरूँन् भन्ने राजा मनुको चिन्तन प्रगाढ हुँदा नेपाल मात्र होइन विश्वको कल्याण हुन्छ |