* सरोज न्यौपाने, स्ट्रगल
प्रदर्शनको १६ औँ दिनमै ३० करोड हाराहारीमा व्यापार गरिसकेको नेपाली चलचित्र इतिहासकै कीर्तिमानी चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ हेरियो । ६ दशक लामो इतिहास बोकेको नेपाली चलचित्र उद्योगमा तरङ्ग नै पैदा गरिरहेको `पूर्णबहादुरको सारङ्गी´ ०३० को दशकदेखि ०६० को मध्ये( ०३६ सालको जनमत सङ्ग्रहदेखि ०६२/६३ को जनआन्दोलनसम्म) दशकसम्मको नेपाली समाज र खास गरी ग्रामीण परिवेशका विविध आयामहरूको दुरुस्त चित्रसहितको पूर्ण दस्ताबेज नै हो ।
एक जना गन्धर्व समुदायका पिताले आफ्नो छोरालाई डक्टर बनाउन गन्धर्व पेसामार्फत गर्दै गरेको सङ्घर्ष, त्यस क्रममा पूर्णबहादुरले भोग्नुपरेको दुःख, सहनु परेको अपमान र खप्नुपरेको कष्टलाई बडा मिहिन ढङ्गले प्रस्तुत गरिएको छ । आजको चलचित्र उद्योगमा सुनामी नै ल्याउन सफल `पूर्णबहादुरको सारङ्गी´ साँचो अर्थमा भन्दा राम्रो छ । साधारण कथालाई विशिष्ट ढङ्गबाट उठान गरेर एकसाथ मानवीय समवेदनालाई जागृत गर्दै मान्छेको मस्तिष्कमा कम्पन सिर्जना गर्न सक्ने र दिलमा हिर्काएर आँसु झार्ने दम जोकोही चलचित्रले राख्दैन । त्यो तागत कथावस्तु/कन्टेन्टका हिसाबले, निर्देशकीय क्षमताका हिसाबले, कथा र घटनाको सिलसिलाका हिसाबले र मुख्यतः पूर्णबहादुरको चरित्रमा विजय बराल र अतिथि कलाकार जस्ता देखिने प्रकाश सपुतको जीवन्त अभिनयले राख्दछ ।
तुलनात्मक रूपमा औसत लगानीमा बनेको यस चलचित्रले कैयौँ दक्षिण भारतीय चलचित्र र सारा नेपाली चलचित्रलाई चुनौती मात्रै दिएन, उनीहरूमाथि हाबी भयो र नयाँ कीर्तिमान तथा इतिहास नै रच्न सफल भयो । यो नेपाली चलचित्र क्षेत्रका लागि ज्यादै सुखद कुरा हो । स्वाभाविक रूपमा चलचित्र व्यावसायिक हिसाबले नै निर्माण गरिन्छ । तर, यस चलचित्रले व्यावसायिकताको परिधिभन्दा बाहिर गएर समाजलाई शिक्षा र चेतनाको क्षेत्रमा लगानी गर्न र त्यसका मार्फत स्वाभिमान प्राप्त हुने सन्देश प्रवाह गरिएको छ । तत्कालीन समयको पारिवारिक तथा सामाजिक मुद्दा र आंशिक रूपमा राजनैतिक मुद्दालाई जसरी उठाइएको छ, त्यो सशक्त छ, बेजोड छ ।
एक जना पिताले छोराको शिर नझुकोस् भनेर गरेको त्याग र सङ्घर्षको साधारण कथावस्तुमा एउटा अद्भुत चलचित्र बनेको पाएँ । यसमा छुटाउन नहुने अर्को पाटो पनि छ- त्यो हो बाटुलीको विद्रोह ! जसले आफ्नो श्रीमानले पुर्ख्यौली पेसाका कारण समाजबाट भोग्नुपरेको उपेक्षालाई देखेर आफ्नो छोरो पनि उस्तै व्यवहार खेप्नु नपरोस्, उस्तै जीवन बाच्नु नपरोस् भन्नका खातिर बाटुलीले आफ्नो श्रीमान्, ससुरा बुवा र समाजसँग गरिरहेको विद्रोह चर्चायोग्य छ । छोरालाई योग्य, असल र स्वाभिमानी बनाउन उनले जुन बाटो अपनाएकी छिन्, त्यसमा मेरो साधुवाद नै छ । किनकि, बाटुली तत्कालीन समाजका लागि प्रतिपक्षी हुन् र साँचो अर्थमा क्रान्तिकारी तथा विद्रोही आमा हुन् । शिक्षा र चेतनाका मार्फत नै छोरालाई स्वाभिमानी बनाउन सकिन्छ भन्ने विश्वास बाटुलीमा छ । त्यो बडा बेजोड लाग्यो मलाई !
सँगसँगै ! पूर्णबहादुरको सारङ्गीले जुन लोकप्रियतासँगै व्यावसायिक सफलता प्राप्त गरेको छ, त्यसको लागि चलचित्र निर्माण र त्यसमा संलग्न टिमलाई बधाई नै छ । मैले सोचेको १० मा १० नै त होइन, ८ नम्बर दिँदा न्यायोचित नै होला । यो दुई नम्बर मैले कमल गन्दर्भकी आमामाथि लेखक र निर्देशकले गरेको अन्याय र शिक्षकलाई नै खलनायकका भूमिकामा उभ्याउनुले घटाइदिएको हुँ । अङ्क नघटे पनि कथावस्तु र घटनाक्रमको सिलसिलामा कहीँ-कहीँ तालमेल नमिलेजस्तो महसुस गरेँ । र मुख्य कुरा चलचित्रको अन्त्य सुखद (Happy Ending) हुनुपर्थ्यो भन्ने हो । मैले महसुस गरेको कुरा नमिल्न पनि सक्छ भनेर त्यसलाई पुरा अङ्क नै दिइयो ।
यति सुन्दर, चर्चित र कीर्तिमानी चलचित्रका निर्देशक प्यूठानी छोरा आदरणीय सरोज पौडेल सरलाई विशेष बधाई !