health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको अनुगमन समितिले हाँडीगाउँमा पुनः निर्माण भइरहेका सम्पदाहरूको भौतिक अवस्थाको अनुगमन गरेको छ ।
यस क्रममा धन गणेश परिसरमा रहेको सत्तल र माली गाउँमा रहेको मैती अजिमा द्योः छेँः को निर्माण शैली, शिल्प, निर्माण सामग्री, कला र अमूर्त पक्षहरू हेरिएको थियो । अनुगमन समितिका संयोजक एवं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारी, सदस्य बाबुराम भट्टराई, वडाध्यक्ष वीरेन्द्र प्रजापति, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, योजना अनुगमन तथा मूल्याङ्कन एकाइका प्रमुख, वडा सदस्यसहितको टोलीले अनुगमन गरेको हो । त्यस क्रममा पुन निर्माण भइरहेको सम्पदासँग सम्बन्धित गुठियार तथा पुजारीहरूलाई बोलाइएको थियो ।
पुनः निर्माणको प्रगति हेरिसकेपछि प्रतिक्रिया दिँदै समितिका संयोजक डङ्गोलले, पुनः निर्माणका लागि उपभोक्ता समिति सक्रिय हुनु सबल पक्ष रहेको बताइन् । ‘नेवा शैलीमा निर्माण भएका सम्पदा काठमाडौँको पहिचानसँग जोडिएका स्मारक हुन् । परम्परागत विधिको पुनः निर्माण शैली अनुकरण योग्य छ ।’
‘पुनः निर्माण योजनामा निर्धारण गरिएको शैलीलाई पछ्याइएको पाइयो । कलात्मक थाम, ढोकामा मौलिक चुकुल र आग्लो बनाइएको छ ।’ आयोगका उपाध्यक्ष राजभण्डारीले भने, ‘यसरी पुनः निर्माण गरिने संरचनाले नेवा: संस्कृतिलाई पुस्तान्तरण गराउँछ ।’
समितिबाट सम्पदा संरचनाको अनुगमन हुन थालेपछि गुणस्तर सुनिश्चित हुन्छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतिले भने, ‘निर्माण पक्षले गलत गर्न पाउँदैन । स्तरमा तलमाथि गर्न पाउँदैन । कुनै कारणले त्रुटि भएको देखिए सच्याउने अवसर हुन्छ ।’
द्योः छेँः २०७२ सालको भूकम्पले जीर्ण भएको थियो । यसको पुनः निर्माणका लागि २०७७ मङ्सिर १३ गतेको साइत बनाएर भत्काउन थालिएको थियो । त्यही महिना (मङ्सिर) को २६ गते शिलान्यास गरियो । पुस १५ गतेबाट सुरु भएको काम २०७८ मङ्सिर २८ गते सकिएको सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिइन् ।
द्यो छेँ क्रमागत योजनाअन्तर्गत पुन निर्माण भएको हो । पहिलो चरणमा ६४ लाख १४ हजार रुपैयाँ लागतको काम भएको थियो । लागतको ७ प्रतिशत उपभोक्ता समितिले व्यवहारेको थियो । यो कामका लागि ७४ लाख ४७ हजार रुपैयाँ लागत अनुमान गरिएको विभागका प्रमुख कुमारी राईको भनाइ छ ।
दोस्रो चरणको काममा भवनको बाहिरी भागलाई नेवा: शैलीको बनाउने थियो । २०७८ चैत २ गते थालिएको काम सक्नु पर्ने अवधि २०७९ फागुन ३० गतेसम्म थियो । तर काम तोकिएको अवधिभन्दा अगाडि नै अर्थात् २०८० फागुन ६ गते सकियो । ७६ लाख ३१ हजार रुपैयाँ लागत अनुमान गरिएको कामका लागि उपभोक्ताको ५ प्रतिशत लागत सहभागिता रह्यो । यो काम ६६ लाख ९३ हजार रुपैयाँमा काम सम्पन्न भयो ।
तेस्रो चरणको कामका लागि उपभोक्ताबाट महानगरपालिकामा योजना माग भएको छ । यो चरणमा भित्री भागको निर्माण तथा सजावटको काम गर्ने योजना छ ।
यस देव घरमा मैतीदेवी मन्दिरको खट र देउता राख्ने गरिन्छ । मैतीदेवी मन्दिर महानगरको वडा ३० मा पर्छ । हरेक वर्षको तिहारमा पर्ने मैतीदेवी जात्रामा यहाँबाट खट र देवता निकाल्ने गरिएको छ । मैतीदेवीलाई गोरखाको प्रसिद्ध मनकामना देवीकी दिदीका रूपमा पुजिन्छ ।
वडा नं. ५ कै धनगणेश सत्तलको निर्माण कार्य सकिएको छ । २०८० असार २० गतेदेखि थालिएको काम आउँदो असोज ३० गतेभित्र सम्पन्न गरिसक्नु पर्नेमा जेठ २९ गते नै सकिएको, इन्जिनियर रुपा डङ्गोलले जानकारी दिइन् ।
धनगणेश हाँडीगाउँको भूतेश्वरको उत्तर र पञ्चेधाराको दक्षिणतर्फ छ ।
सत्तल निर्माणको लागत ७३ लाख ९१ हजार रुपैयाँ हो । यो काम ७२ लाख ११ हजार रुपैयाँमा सम्पन्न भएको हो ।