काठमाडौँ । उपसभामुख इन्दिरा रानामगर अमेरिकी भिसा प्रकरणमा विवादमा परेकी छन् । काठमाडौँस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र सार्वजनिक भएपछि उपसभामुख राना मगर विवादमा परेकी हुन् ।
उपसभामुख राना मगरले सन् २०२३ फेब्रुअरी २६ मा रानाले अमेरिकाको न्यूयोर्कमा आयोजना भएको ‘एनजिओ सिएसडब्लु ६७’ कार्यक्रममा आफूसहित अन्य पाँच जना सहभागी हुन जान लागेको र व्यस्त कार्य तालिका भएकाले भिसाको अन्तर्वाताको मिति मिलाइदिन दूतावासलाई लेखेको पत्र सार्वजनिक भएपछि सामाजिक सञ्जाल र मिडियामा उनको आलोचना मात्र होइन राजीनामा दिने दबाब पनि बढेको छ ।
रानाले दूतावासलाई लेखेको पत्रमा आफूसहित उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्ती मगर र धनबहादुर गुरुङका लागि भिसा अन्तर्वार्ताको समय तत्काल उपलब्ध गराइदिन आग्रह गरेकी छन् ।
उपसभामुख रानाले व्यक्तिगत रूपमा पत्र लेखेको र संसद् सचिवालयसँग असम्बन्धित व्यक्तिहरूलाई भिसा अन्तर्वार्ताको लागि सिफारिस गरेकोले प्रश्न उठेको हो । उपसभामुख समेत रहेकी रानाले रातो पासपोर्ट प्रयोग गर्ने हुनाले उनको हकमा भिसाका लागि समस्या नहुने भए पनि उनले सिफारिस गरेका व्यक्तिहरू संसद् र संसद् सचिवालयसँग सम्बन्धी नरहेपछि विभिन्न कोणबाट प्रश्न उठेको छ ।
विभिन्न सञ्चारमाध्यममा उनले आफूले अन्जानबस सिफारिस गरेको प्रतिक्रिया दिए पनि यस प्रकरणमा उनको यो प्रतिक्रिया प्रयाप्त हुने देखिँदैन । यो विषय त्यति बेला नै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र पनि उठेको बताइएको छ । सिफारिस गरिएका व्यक्तिले उजुरी गरेको आधारमा पार्टीको उच्च तहमै छलफल भएको र यो विषयलाई आन्तरिक रूपमा नै सामसुम पारिएको देखिएको छ ।
उपसभामुख रानाले जस्तो दलिल दिए पनि यो विषयले अब राजनीतिक रूप लिने निश्चित भएको छ । सभामुख देवराज घिमिरेले पनि यस बारेमा चासो लिँदै यो गम्भीर विषय भएको बताएका छन् । उपसभामुख संवैधानिक परिषद्को सदस्य समेत हुने र उनको यो प्रकरणले देशकै बदनाम गरेको विश्लेषण भइरहेको छ ।