काठमाडौँ । ‘सिप मेला २०८१’ अन्तर्गत टुँडिखेलमा अहिले १० क्षेत्रका २९ पेसासँग सम्बन्धित तालिमहरू चलिरहेका छन् । हरेक दिन बिहान ८ बजेदेखि नै कक्षाहरू सुरु हुन्छन् ।
तालिम सञ्चालनसँगै अहिले आवेदकहरूको समूह विभाजन र कागजमा फाराम भर्नेहरूको विवरण कम्प्युटरमा प्रविष्टि गराउने काम भइरहेको छ ।
२ हजार ८१ जनालाई प्रशिक्षण दिने लक्ष्यसहित अनलाइन आवेदन माग गरिएको थियो । अनलाइनबाट फाराम भर्न कठिन हुनेहरूका लागि वडाबाट कागजमा फाराम भर्न सक्ने व्यवस्था गरिएको थियो । यससँगै शुभारम्भका दिन टुँडिखेलमा आएका सहभागीहरूको ठुलो सङ्ख्याले प्रशिक्षणको अवसरका लागि माग गर्नुभएपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो ।
यसरी लिइएका आवेदनमध्ये अनलाइनबाट करिब ५ हजार जनाले फाराम भरेका छन् । वडाहरूबाट करिब ३ हजार २ सय जनाको र टुँडिखेलमै आएर कागजमा फाराम भर्नेको सङ्ख्या १० हजार बढी छ ।
यसरी आएका मागलाई व्यवस्थापन गर्न तालिमलाई सिप मेलासँगै महानगरको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमसँग आबद्ध गरेर नियमित गरिने योजना बनाइएको, सिप मेला निर्देशक समितिका सदस्य सुदिप ढकालले जानकारी दिए ।
ढकालका अनुसार वैशाख १९ गतेभित्र फाराम भर्ने आवेदकलाई सिप मेलामा सहभागी गराइनेछ । उहाँहरूलाई वैशाख २८ गते शुक्रवारभित्र तालिम तालिका उपलब्ध गराइने योजना छ । २० गतेपछि फाराम भर्नेहरूको हकमा अर्को व्यवस्था गरिनेछ ।