काठमाडौँ, २३ फागुन । नेकपा माओवादी केन्द्रका पुनर्गठित सरकारमा अधिकांश पुरानैले निरन्तरता पाएका छन् ।
पुराना मन्त्री मध्ये नारायणकाजी श्रेष्ठ भने गृह मन्त्रालयबाट सरुवा भएर परराष्ट्र मन्त्रालयको जिम्मेवारीमा पुगेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एउटै कार्यकालमा श्रेष्ठले तीन तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । जसअनुसार सुरुमा नेकपा एमाले र माओवादीको गठबन्धन हुँदा उपप्रधानमन्त्रीसहित भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारीमा थिए, त्यो भत्किएर काँग्रेस–माओवादीको अर्को गठबन्धन भयो । त्यसमा उनी भौतिकबाट सरुवा भएर गृह मन्त्रालयको जिम्मेवारीमा पुगे ।
अहिले काँग्रेससँग गठबन्धन तोडेर एमालेसँग पुनः गठबन्धन हुँदा श्रेष्ठ परराष्ट्र मन्त्रालयको जिम्मेवारी लिने अवस्थामा पुगेका छन् । उनले आजै परराष्ट्र मन्त्रीको हैसियतमा शपथ ग्रहण गर्दै छन् ।
साथै, माओवादीले सबै मन्त्रीहरूलाई दोहोराउँदै पर्यटन मन्त्री सुदन किराँती भने यो पटक आउट हुने एक्ला मन्त्री भएका छन् । उनले सम्भवतः नदोहरिने सङ्केत पाएर हुन सक्छ हिजो नै पुलचोकस्थित मन्त्री क्वाटरबाट झिटी झाम्टा लिएर बाहिरिएका थिए । किराँतीले जिम्मेवारी लिएको पर्यटन मन्त्रालयमा हितबहादुर तामाङ आउने सम्भावना देखिएको छ ।
तर, यसअघि काँग्रेसको गठबन्धनमा रहेका तीन मन्त्री भने पुनः दोहरिने भएका छन् । जसअनुसार श्रेष्ठसहित सूचना तथा सञ्चार मन्त्री रेखा शर्मा, ऊर्जा तथा जलस्रोत मन्त्री शक्ति बस्नेत दोहरिएका छन् ।