काठमाडौँ, १ फागुन । नेपालले मालदिभ्समाथि फराकिलो जित हासिल गरेको छ ।
मलेसियामा जारी एसीसी महिला प्रिमियर कप अन्तर्गत समूह डी को अन्तिम खेलमा नेपालले मालदिभ्समाथि २१४ रनको जित हासिल गरेको हो ।
नेपालले दिएको २२८ रनको लक्ष्य पछाएको मालदिभ्स १३.५ ओभरमा १३ रन मात्र बनाएर अलआउट भएपछि नेपाल २१४ रनले विजयी भएको हो ।
यस अघि पहिला ब्याटिङ गर्दै नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै २२८ रन बनाएको थियो ।
नेपालका लागि रुबिना क्षेत्रीले शतकीय पारी खेलेकी थिइन् । रुबिनाले टी- २० अन्तर्राष्ट्रिय खेलमा नेपालको तर्फबाट पहिलो शतक बनाउँदै नयाँ कीर्तिमान बनाएकी छन् । यस खेलमा रुबिनाले अविजित ११८ रन बनाएकी थिइन् ।
त्यस्तै पूजा महतोले अविजित ५९ रन बनाएकी थिइन् । रुबिना र पूजाले पाँचौँ विकेटका लागि १६६ रनको कीर्तिमानी साझेदारी गरेका थिए । यो नेपालको महिला क्रिकेटमा कुनै पनि विकेटका लागि भएको अहिलेसम्मको उच्च साझेदारी हो ।
त्यसै गरी यस खेलमा कविता कुँवरले १३, सिता राना मगरले १५ रन बनाएकी थिइन् ।
यो जितपछि नेपाल समूह डी मा अपराजित रहँदै क्वाटर फाइनलमा कुवेतसँग भिड्ने भएको छ । समूह डी बाट नेपालसँगै हङकङ दोस्रो हुँदै क्वाटर फाइनलमा पुगेको छ । नेपालको क्वाटर फाइनलको खेल भोलि दिउँसो १.३०बजेबाट हुनेछ ।