health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

हेमन्त केसी
सुर्खेत , २३ माघ ः उपल्लो डोल्पामा सङ्घीय संरचनामा देश नजाँदै खासै चर्चामा आउने गरेको थिएन । माथिल्लो भेग भएकाले चीनको सिमानासँगै भाषागत समस्याले गर्दा पनि उपल्लो डोल्पाका हरेक संस्कारहरू सबैसँग मिल्ने अवस्था थिएन ।
सङ्घीयतासँगै स्थापना भएका स्थानीय तहले अहिले उपल्लो डोल्पालाई अन्य ठाउँसँग जोडने काम गरेको छ । फोन सेवा, इन्टरनेट , सडक निर्माण ,खानेपानी , सौर्य मिनिग्रेट विद्युत् उत्पादन शिक्षालाई महत्त्व दिँदा अहिले उपल्लो डोल्पा राज्यको नीति निर्माण तहमा बस्नेसँग प्रश्न गर्ने हैसियत बनाएको छ । डोल्पो बुद्ध गाउँपालिका र शे–फोक्सुन्डो गाउँपालिकाको सिमाना ‘सिमेन’ देखि गाउँपालिका केन्द्र साल्दाङ सम्म एक खण्ड र साल्दाङ देखि काराङ गाउँसम्मको अर्को खण्ड दुई खण्डमा सडक निर्माण भएसँगै यहाँका सर्बसाधारणहरु खुसी भएका छन् । तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको रकमले उपल्लो डोल्पालाई सम्बोधन नगरेको तितो यर्थाथ यहाँका स्थानीयबासीहरु बताउँछन् । अहिले आफ्नो पालिकामा आफैँ बजेट निर्माण , समस्या पहिचान देखि समाधान सम्म हुँदा आफूहरूलाई सङ्घीयता वरदान साबित भएको गाउँपालिकाका अध्यक्ष धावा सम्डुक गुरुङले बताए । त्यस्तै सिँचाइ योजनाहरू निर्माणको क्रम जारी छ।त्यस्तै विभिन्न स्वास्थ्य संस्था भवन, विद्यालय भवन, झोलुङ्गे पुल, ट्रस ब्रिज, गोरेटो बाटो, घोडेटो बाटो, पर्यटन पदमार्ग लगायतका पूर्वाधारहरू निर्माण भएको उनले बताए ।
भूगोल अत्यन्तै कठिन छ। सदरमुकामबाट पालिका केन्द्र पुग्ने सडक सञ्जाल छैन। पैदल हिँड्नुपर्ने बाध्यता छ। पालिका केन्द्र पुग्न सदरमुकामबाट ४ देखि ५ दिनको पैदल यात्रा गर्नुपरेको प्रमुख प्रशासकीय अधिकृत सुमन ढकालले बताए । टाढाका बस्तीहरु भएका कारण सबै ठाउँमा सेवा प्रवाहमा समस्या हुँदै आएको उनले बताए । अधिकृत ढकालले भने,‘कतिपय वडाहरूमा एक वडा बाट अर्को वडासम्म पुग्न २ दिन सम्म पनि लाग्ने अवस्था छ। कठिन, भिरालो भूगोल तथा अप्ठ्यारा भीरहरूले गर्दा सडक निर्माणमा, खानेपानी तथा सिँचाइ पूर्वाधार निर्माणमा समस्या छ। ठुलो मात्रामा लगानी लाग्ने र गाउँपालिकासँग आन्तरिक स्रोत कमजोर भएकाले त्यस्ता ठुला विकास निर्माणका कार्यहरू गर्न सकिएको छैन।’
गाउँपालिकाको ८ र ९ बाहेक अन्य वडाका भुभागहरु ३८००/४००० मिटर भन्दा माथिको रहेका कारण भारी मात्रामा चिसो हुने गर्दछ । प्रायजसो कार्तिक महिनाको अन्तिम तिरबाट हिमपात सुरु हुन्छ। यो हिमपातको क्रम फागुन महिनाको अन्तिमसम्म जारी रहने हुँदा काम गर्न मुस्किल हुने गरेको हो । भौगोलिक विकटताले फिल्डमा ओहोरदोहोर गर्न भने साह्रै सकस हुने गरेका कर्मचारीहरू बताउँछन् । एक वडा बाट अर्को वडासम्म जान २–३ दिनसम्म लाग्ने ठाउँहरू रहेको बताएको छ।
गाउँपालिकाको सबै वडाहरूमा स्वास्थ्य संस्था (अस्पताल/प्राथमिक स्वास्थ्य केन्द्र/स्वास्थ्य चौकी/इकाइ सेवा केन्द्र) हरूको विकास नहुँदा समस्या भएको छ । हाल भूगोल र जनसङ्ख्यालाई मध्येनजर गर्दै विभिन्न समुदायहरूको पायक पर्ने स्थानमा ३ वडा स्वास्थ्य चौकी सञ्चालित छन्। अन्य स्वास्थ्य संस्थाहरू निर्माणका क्रममा छन्। गाउँपालिकाको ५ शय्या अस्पताल निर्माणको योजना स्वीकृत भई जग्गा प्राप्ति भईसकेको भएपनि स्रोत सुनिश्चितता नभएका कारण काम अगाडी बढ्न सकेको छैन । दुर्गम क्षेत्रको स्वास्थ्य सेवाको विषय अत्यन्तै संवेदनशील रहेकोले यसमा सरकारले उचित ध्यान दिनुपर्ने सरोकारवालाहरू बताउँछन् ।
पालिकाको चालु आर्थिक वर्षको कुल बजेट अनुमान करिब ३५ करोड रहेको छ । सडक सञ्जालको लागि पालिकाको यो बजेट सामान्य केही अंश मात्र रहेको छ । भौगोलिक विकटताले गर्दा साना साना विकासका योजनाहरूमा पनि ठुलो धनराशि खर्च हुने गरेको बताएको छ । विकास गर्नुपर्ने क्षेत्रहरू बहु आयामिक भए पनि स्रोतको अभावले सबै काम गर्न नसकिएको अधिकृत ढकालले बताए । सडक, भवन, कृषि तथा पशु क्षेत्र विकासका कार्यक्रम, सामाजिक सुरक्षा, विपद् व्यवस्थापन, उद्योग, पर्यटन पूर्वाधार, क्षमता विकासका कार्यक्रम, स्वास्थ्य, पोषण लगायतका सम्पूर्ण बहु आयामिक क्षेत्रहरूको विकासका लागि हाल विनियोजित हुने गरेको बजेट धेरै नै अपर्याप्त रहेको उनको भनाई छ । अहिले सबै शीर्षकमा सानो सानो बजेट अङ्क वितरण हुने गरेको छ। पालिकाको आन्तरिक स्रोत कमजोर रहेकोले केन्द्र तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान रकमसमेत अत्यन्तै न्यून हुँदा काम गर्न गाह्रो हुने गरेको उनको भनाई छ ।
केन्द्र र प्रदेश सरकारले बजेट विनियोजन गर्दा सुगम र दुर्गमको ख्याल नगरी सबै क्षेत्रलाई समान रूपमा हेरी बजेट विनियोजन हुँदा डोल्पामा मारमा परेको छ । सुगममा १ करोडमा लागत इस्टिमेट भएको कार्यको यहाँको लागत स्टिमेट ३÷४ करोडसम्म हुने गर्दछ ।
यहाँको मुख्य सम्भावनाको केन्द्रबिन्दु भनेको प्रसिद्ध फोक्सुन्डो ताल रहेको छ । ताललाई कर्णालीको मुख्य पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकियो भने यसले राम्रो बेनिफिट हुने देखिन्छ । एकातिर ठुलो सङ्ख्यामा पर्यटकहरू भित्रन्छन् अर्को तिर त्यस फोक्सुन्डो क्षेत्रका होटेल व्यवसायहरू फस्टाउँछन्, रोजगारी बढ्छ, सँग सँगै स्थानीय उत्पादनले बजार समेत पाउँछ अधिकृत ढकालको भनाइ छ । अर्को पर्यटनको गन्तव्य भनेको शे गुम्बा हो। प्रत्येक १२ वर्षमा शे–मेला लाग्छ। धार्मिक पर्यटनको हिसाबले यो उच्च सम्भावना बोकेको सम्पदा हो। त्यस्तै थासुङ छोलुङ गुम्बा, चार ताल, सुलिगाड झरना लगायत थुप्रै प्राकृतिक तथा धार्मिक सम्पदाहरू समेतले पर्यटकीय सम्भावना बोकेका स्थलहरू रहेका छन् ।
यहाँको अर्को सम्भावनाको क्षेत्र भनेको पशुपालन हो। यो क्षेत्र भेडा, च्याङ्ग्रा र चौरीको लागि उपयुक्त छ। पशुहरूको पालनलाई व्यवसायीक बनाउने, छुट्टा छुट्टै पकेट क्षेत्र निर्धारण गरी सरकारी तथा गैह्र सरकारी क्षेत्रसमेतबाट लगानी केन्द्रित गरेर स्थानीयलाई पशुपालनमा प्रोत्साहन दिने हो भने ठुलो मात्रामा अर्थोपार्जन गर्ने माध्यम बन्ने कुरामा शङ्का नरहेको जानकारहरू बताउँछन् ।
त्यस्तै जडीबुटी लाई अर्को मुख्य सम्भावनाको क्षेत्र रहेको छ । यार्चागुम्बा सङ्कलन र बिक्री वितरण यहाँका जनताको मुख्य आयस्रोत रहेको गाउँपालिकाले जनाएको छ। यार्चागुम्बाको घरेलु खेतीको समेत सम्भाव्यता लाई अगाडी बढाएर आधुनिक उन्नत प्रविधि र उत्पादन विधिको विकासबाट घरेलु रूपमा खेती गरियो भने आर्थिक लाभ हुने सम्भावना रहेको छ ।
गाउँपालिका प्रवेश गर्दा ४००० मिटरभन्दा माथिका धेरै जसो हिमालहरू पार गर्दै पैदल यात्रा गर्नुपर्ने यहाँको बाध्यता रहेको छ । हाइ अल्टिच्यूड सिकनेसको जोखिम रहेको छ । सङ्घ र प्रदेशबाट प्राप्त हुने सशर्त, विशेष र समानिकरण अनुदान बाट धेरै काम हुने गर्दछ । चिसो हिमपातका कारण चैत्रको अन्ततिर गएर मात्रै पुनः विकासका कार्यहरू सुचारु हुने भएकाले समयावधि ५ महिनाको हुने गरेको गाउँपालिकाका अध्यक्षले बताए ।सङ्घ र प्रदेशबाट प्राप्त भएको सशर्त÷ विशेप÷समपूरक अनुदान असार मसान्त सम्म खर्च गर्न समेत मुस्किल हुँदै आएको उनको भनाई छ । शे–फोक्सुन्डो गाउँपालिका जस्ता उच्च हिमाली क्षेत्रका स्थानीय तहहरूको लागि आर्थिक वर्ष पुस देखि मङ्सिर मसान्तसम्मको अवधिलाई निर्धारण गरिनुपर्नेमा यहाँका जनप्रतिनिधिको जोड रहँदै आएको छ ।