काठमाडौँ, १६ माघ । आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र नाजुक अवस्थामा रहेका बेला चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान दिएको छ । गएका पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७० अर्ब रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७५/७६ मा ११ अर्ब ६७ करोड, २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड र २०७९/८० मा १६ अर्ब १४ करोड कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।
अर्थतन्त्रमा आएको सङ्कुचनका कारण सरकारले लक्ष्यअनुसार राजश्व सङ्कलन गर्न सकिरहेको छैन । राष्ट्रिय अर्थतन्त्रमा आएको मन्दी र त्यसबाट व्यावसायिक कारोबारमा परेको असरका कारण अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चौधरी ग्रुपको राजश्व योगदानमा केही कहीँ आएको छ । उक्त आर्थिक वर्षमा ग्रुपले १७ अर्ब ७२ करोड रुपैयाँ कर तिरेको थियो । सीजीले आर्थिक वर्ष २०७९/०८० मा सरकारलाई १६ अर्ब १४ करोड रुपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा १ दशमलव ८७ प्रतिशतको योगदान हो । चौधरी ग्रुपअन्तर्गत सञ्चालित कम्पनीहरूले सरकारी राजश्वमा गरेको यो योगदान सबैभन्दा उच्च रहेको ग्रुपले जनाएको छ ।
देशको समग्र अर्थतन्त्र मन्दीबाट गुज्रिरहँदा र सरकारको कुल राजश्व सङ्कुचित बनेको समयमा पनि चौधरी ग्रुपले उच्च कर तिर्न सक्षम भएको तथ्यले हामीलाई उत्साहित बनाएको वरुण चौधरीको भनाइ छ । राष्ट्रिय अर्थतन्त्रको विस्तार र राष्ट्रका विकास निर्माणका परियोजनामा उल्लेख्य योगदान गर्न पाउँदा सन्तोष लागेको उनले बताए ।
नेपालमा द्रुत गतिमा लगानी विस्तार गरिरहेको बताउँदै उनले त्यसबाट राष्ट्रिय अर्थतन्त्रमा अर्थपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । सिजी ग्रुपले नेपालमा लगानीको वातावरणमा सुधार गरी लगानीकर्तालाई प्रोत्साहित गरेर मात्रै राजश्वको दायरा फराकिलो बनाउँदै लैजान सम्भव हुने भएकाले यसतर्फ सबैको ध्यान जानुपर्ने र यस्तो सोचबाट राजश्वको अपेक्षित वृद्धिदर हासिल भई हाम्रा राष्ट्रिय विकासका लक्ष्य प्राप्त गर्न सम्भव हुनेमा जोड दिएको छ ।
सिजी ग्रुपले नेपाललाई मुख्य प्राथमिकतामा राखेर लगानी विस्तार गरिरहेको जनाएको छ । खाद्य एवं पेय पदार्थ, हस्पिटालिटी, वित्तीय क्षेत्र, अटोमोबाइल्स, शिक्षा, पूर्वाधार एवं न्यु टेक्नोलोजीसम्ममा तीव्र गतिमा लगानी विस्तार गरिरहेको ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले जानकारी दिए ।
‘नेपालको समग्र अर्थतन्त्रमा हामी प्रभावकारी योगदान पुर्याउन चाहन्छौँ’, उनले भने, ‘हाम्रो ग्रुप एक सय ५० वर्षदेखि नेपालको अर्थतन्त्रको विकासमा सक्रिय छ र हामी नेपालका सातै प्रदेशहरूमा लगानी विस्तार गरिरहेका छौँ । यसबाट देशको समावेशी विकासमा योगदान पुग्ने विश्वास छ ।’
नेपालमा व्यावसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।
करदाताको रूपमा व्यवसायमार्फत भुक्तानी गरेको रकम व्यक्तिले तिरेको करमा गणना हुँदैन । यसले कतिपय अवस्थामा जनमानसमा भ्रम उत्पन्न भएको पनि देखिँदै आएको ग्रुपको भनाइ छ ।
यो दुबिधालाई अन्त्य गर्न र आफूmले राजश्वमा गरेको योगदानलाई आम जनमानसका बिच सार्वजनिक जानकारीमा ल्याउन जिम्मेवार व्यावसायिक ग्रुपको सामाजिक उत्तरदायित्वका हिसाबले चौधरी ग्रुपले प्रत्येक वर्ष पारदर्शिताका साथ यो विवरण प्रकाशित गर्ने गर्दछ’, ग्रुपले भनेको छ ।
साथै, व्यावसायिक ग्रुपहरूबाट राष्ट्रिय अर्थतन्त्रमा पु¥याइएको योगदानको वास्तविक तथ्य आम जनमानससमक्ष राख्न सरकारी स्तरबाटै व्यावसायिक ग्रुपहरूले तिरेको करको गणना गर्ने र सार्वजनिक गर्ने व्यवस्था मिलाउन पनि ग्रुपले सरकारको ध्यानाकर्षण गराएको छ ।
यसैबिच विनोद चौधरीका विषयमा बाह्य जगत्मा यसरी चर्चा हुँदै आएको छ :
– विनोद चौधरी सिजी कर्प ग्लोबलका अध्यक्ष र नेपालका एक मात्र डलर अरबपति हुन् ।
– उनको सबैभन्दा ठुलो आम्दानीको स्रोत नेपालको नबिल बैङ्क, होटेल र सिजी फुडअन्तर्गतको लोकप्रिय चाउचाउ वाइवाइ हो ।
– वाइवाइको कारखाना भारत, सर्विया र बङ्गलादेशमा पनि छ । इजिप्टमा निर्माणाधीन छ ।
– उनको सिजी होटेलले भारतको चर्चित ब्रान्ड ताजको चेनका साथै विश्वभरका १४३ विलासी होटेलको नेतृत्व र व्यवस्थापन सम्हाल्छ ।
– उनका छोरा निर्वाण नेपालबाट व्यवसाय सम्हाल्छन् । राहुल र वरुण नेपाल बाहिरबाट विनोदलाई सघाउँछन् ।
विश्वविख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सन् २०२३ को संस्करणमा विनोद चौधरीबारे लेखेको ‘इन्ट्रो’ हो यो ।
बुबाले सुरु गरेको व्यवसायलाई विस्तार गरेर विश्वका धनाढ्यको सूचीमा पर्ने चौधरी एक्ला नेपाली हुन् । उद्योग व्यवसायबाट आफ्नो नाम उचाइमा पु¥याउने पनि सम्भवतः चौधरी पहिलो नेपाली हुन् । उनको चर्चित वाइवाइदेखि सेवामूलक उद्योगका साथै सयौँ उद्योग व्यवसायमा लगानी छ, जसले उनलाई अरबपति बनाएको छ । केही उद्योगमा भने सिजी ग्रुपले अझै मिहिनेत गर्नुपर्ने खाँचो देखिएको छ ।
२०७८ साल जेठमा सेवा सुरु गरिएको सिजी नेटको विस्तार अन्य कम्पनीसँग प्रतिस्पर्धा चलिरहेको छ । ठुलो व्यावसायिक घरानाले चलाउँदासमेत साढे दुई वर्षमा सिजी नेट काठमाडौँ उपत्यका र बाहिरका सीमित सहरबाट टाढा पुग्न सकेको छैन । सिजी नेट काठमाडौँ उपत्यकाका तीनसहित देशभरका १९ वटा सहरमा मात्रै हाल उपलब्ध छ । आम उपभोक्ताको विश्वास जितेको सिजी नेटको माग देशभरिबाट भइरहेको छ ।
यस्तै, पाल्पा र नवलपरासीमा सिजी सिमेन्टका उद्योग छन् । पाल्पाको चाहिँ नेपालको ठुलो सिमेन्ट उद्योगमध्ये एक हो । यसको वार्षिक उत्पादन क्षमता १५ लाख टन छ । उद्योगले वर्षमा १३ लाख टन कङ्क्रिट उत्पादन गर्न सक्छ ।
सिजी सिमेन्टले श्रीलङ्कामा उद्योग खोल्ने तयारीसमेत गरेको छ । दुई ठाउँ उद्योग र नेपालको नम्बर एक व्यावसायिक घराना भए पनि सिजी सिमेन्टको बजार भने एक नम्बरमा छैन । गत वर्ष भदौदेखि सिजी सिमेन्ट भारतीय बजारमा निर्यात हुन थालेको छ । यद्यपि सीजीले भारतको चर्चित अदानी ग्रुपसँग सिमेन्ट व्यापारका लागि रणनीतिक साझेदारी गरेको छ । यसले नेपालका साथै भारतीय बजारमा सिजी सिमेन्टको उपस्थिति बढाउने अपेक्षा गरिएको छ ।
यस्तै, २०७५ पुस १३ गते १ करोड चुक्ता पुँजीसहित नेपाल राष्ट्र बैङ्कबाट भुक्तानी सेवा प्रदायकका रूपमा सिजी पेले अनुमति पाएको थियो । त्यसको एक वर्षअघि मात्रै खुलेका आईएमई पे, ई–सेवाजस्ता भुक्तानी प्रदायकको दबदबालाई सिजी पे–ले चुनौती दिँदै गएको छ ।
सिजी ग्रुपका थुप्रै कम्पनीले विश्व बजार तताएका छन् । सिजी कर्प ग्लोबलअन्तर्गत २०२ कम्पनीका २६१ भन्दा बढी ब्रान्ड बजारमा छन् । सिजी कर्प ग्लोबलका कार्यालय नेपालका साथै विश्व अर्थतन्त्रका बलिया देश भारत, चीन, अमेरिका, सिंगापुर, युएईजस्ता देशमा फैलिएका छन् । चौधरीको अध्यक्षतामा चलेको सिजी फुड्स विश्वभर पुगेको छ । वाइवाइ नेपालको नम्बर १ नुडल्स ब्रान्ड हो । भारतमा तेस्रो धेरै बिक्री हुने नुडल्समा वाइवाई पर्छ । ४० भन्दा बढी देशमा वाइवाई वार्षिक दुई अर्ब ८० करोडभन्दा बढी प्याकेट बिक्री हुन्छ । सिजी फुड्सले भारतका सात स्थानबाट उत्पादन तथा बिक्री–वितरण गर्छ । सिजी फुड्सको सर्बिया, काजकिस्तान, बङ्गलादेश, इजिप्टलगायत देशमा प्लान्ट नै छन् । सिजी फुड्समार्फत वाइवाई मात्रै २० भन्दा बढी स्वादमा उत्पादन भइरहेको छ ।
सिजी वेभरेजका विभिन्न उत्पादन पनि नेपाली बजारमा लोकप्रिय छन् । सिजी ब्रुअरीका नेपाल आइस, मुस्ताङजस्ता बियर नेपाली बजारमा निकै रुचाइएका छन् । सिजी हस्पिटालिटीले विश्वभर १४० ‘लक्जरी’ होटेलको नेतृत्व र व्यवस्थापन गर्छ ।
वित्त कम्पनीतर्फ सीजीको मुख्य लगानी रहेको नबिल बैङ्क नेपालमा सबै सूचकाङ्कका हिसाबले अब्बल मानिन्छ । नबिल इन्भेस्टमेन्ट बैङ्किङ लिमिटेड पनि वित्तीय सूचकमा बलियो छ । नबिल बैङ्कको ‘सब्सिडरी’ कम्पनीका रूपमा भर्खरै नबिल सेक्युरिटिजले काम सुरु गरेको छ ।
सिजी इन्फ्रा, सिजी डेभलपर्स, सिजी प्याकेजिङअन्तर्गतका विभिन्न उत्पादन चलेका छन् । सिजी इलेक्ट्रोनिक्स मातहतका एलजी, सिजी, बेको, सनसाइ, गोदरेज एप्लाइन्सेस, टीसीएललगायत सामग्री नेपालमा रुचाइएका ब्रान्ड हुन् । सिजी एजुकेसनअन्तर्गतका निनोस प्रि स्कुल, चाँदबाग स्कुल, दिल्ली पब्लिक स्कुल र क्याम्पियन स्कुल तथा कलेज नेपालका अब्बल शिक्षण संस्थामा पर्छन् ।
हाउजिङमा समेत सिजी ब्रान्ड लोकप्रिय छ । पछिल्लो समय छोटो समयमै सिजी मोटर्सले बिक्री गर्दै आइरहेको नेटा विद्युतीय गाडीले पनि नेपालमा राम्रो बजार लिएको छ ।
सिजी ग्रुपले गरेको चौतर्फी लगानीबाट स्वदेशी सामान ढुक्कसँग प्रयोग गर्न पाएकोमा उपभोक्ताहरू ढुक्क छन् । उनीहरूले सिजी ग्रुपले आगामी दिनमा आफ्ना उत्पादनहरूलाई झनै बढाउँदै लैजानुपर्नेमा जोड दिएका छन्