किसानले उत्पादन गरेका सुन्तलाबाट राम्रो आम्दानी गरी आर्थिक रूपमा सक्षम बनाउनका लागि जाजरकोटमा छ ठाउँमा सेलार स्टोर स्थापना गरिएको छ । सिजनमा ४० रुपैयाँ प्रतिकिलो सुन्तला बिक्री गर्न समेत हैरानी भोग्दै आएका किसानहरू अब सेलार स्थापनासँगै खुसी भएका छन् ।
सुन्तला सेलार स्टोरमा राखेर फागुन देखि चैत सम्म बिक्री गर्न पाएमा राम्रो मूल्य पाउने सम्भावना रहेको छेडागाड नगरपालिका–१० का नरेश विक्रम शाहले जानकारी दिए । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन इकाई कार्यालय जाजरकोटको आर्थिक सहयोगमा निर्माण भएका सेलार स्टोरमा सुन्तला जम्मा गरी सुरक्षित राखेमा चैत महिना गर्मी याममा राम्रो आम्दानी गर्न सकिने उनले बताए ।
गर्मी मौसममा सुन्तलाको माग उच्च हुने भएपछि सो समय सम्मा सेलार स्टोर बाहेक अन्यमा सुन्तला राख्न समस्या हुने गर्दछ । सुन्तलालाई उचित तापक्रममा सुरक्षित राखेर मूल्य पाउने समयमा बिक्री गर्ने उद्देश्यका साथ सेलार स्थापना गरिएको परियोजनाका प्रमुख दीपेन्द्र पोखरेलले जानकारी दिए ।
कुशे गाउँपालिका–५,७ र ८ ,छेडागाड नगरपालिका–१०र १२ , नलगाड नगरपालिका– ३ मा सेलार स्थापना भएका हुन् । यी क्षेत्रमा सबै भन्दा बढी सुन्तला उत्पादन हुने गर्दछ । बेमौसममा पनि सुन्तला तथा अन्य तरकारीहरू बजारमा ल्याइ बिक्री वितरण गरी आर्थिक रूपमा बलियो बन्नु रहेको छ । सिजनमा सस्तोमा बिक्री वितरण तथा कुहिएर खेर जाने समस्या हल गर्नका लागि यो काम थालिएको पोखरेलले जानकारी दिए ।
प्रति सेलार १५ लाख ८५ हजारमा निर्माण गरिएका सेलारलाई परियोजनाले १० लाख ३३ हजार ३३३ रुपैयाँ र कृषकले ५ लाख ६१ हजार ६६७ रुपैयाँ बेहोरेर सेलार स्टोर निर्माण गरिएको छ । ६ वटा ठाउँ यही तरिकाले अनुदान उपलब्ध गराएको छ ।
किसानलाई आधुनिकीकरण र व्यवसायीकरणमा जोडनका लागि सेलार सिस्टमका लगानी गरेको प्रमुख पोखरेलले जानकारी दिए । सडकको पहुँच सबै ठाउँमा नहुँनुका साथै सस्तोमा बिक्री गर्दा आर्थिक रूपमा ठुलो नोक्सान हुने भएकाले सेलार स्टोरमा सुरक्षित गरी उचित समयमा बिक्री गर्न सकिने उनले बताए ।
५ मेट्रिक टन क्षमताको रहेका सेलारहरुमा ६ महिना सम्म सुन्तला सुरक्षित गर्न सकिन्छ । त्यस्तै सुन्तलालाई हुकाउन तथा बढाउनका साथै प्राविधिक सल्लाह समेत दिने गरिएको छ । त्यस्तै विभिन्न तरकारी तथा फलफूल ढुवानी गर्नका तीन वटा गाडी खरिदमा परियोजनाले आर्थिक सहयोग समेत गरेको छ । विद्युत् पुगेको ठाउँमा विद्युत्बाट र अन्य ठाउँमा सोलार सिस्टमबाट चार्ज गरेर सुन्तला राख्ने व्यवस्था मिलाएको छ ।
परियोजनाका अनुसार किसानको मागहरू प्रत्येक वर्ष नयाँ ,नयाँ सेलारहरु स्थापना गर्दै जाने योजना रहेको छ । किसानको खेतबारीमै पुगेर मल प्रयोग , काटछाट तथा औषधि दिने सम्मको प्राविधिक कुराहरू दिएर किसानलाई सहयोग गरिरहेको परियोजनाका धरम चन्दले जानकारी दिए । परियोजना लागू भएको ठाउँमा किसानको माग अनुसार प्राविधिक खटिएर सहयोग गदै आएको उनको भनाई छ ।
खेर जाने सुन्तलाबाट पछिल्लो समय जाजरकोटका किसानहरूले राम्रो आम्दानी गर्दै आएका छन् । बर्सेनि लाखौँको सुन्तला बिक्री हुँदै आएको कुशे ५ दम्दालाका दीपक ओलीले जानकारी दिए । सुन्तलाको माग उच्च रहेको समेत उनको भनाई छ । आफ्नै गाडी भएकाले माग अनुसार विभिन्न ठाउँमा लिएर बिक्री हुँदै आएको उनले जानकारी दिए ।