काठमाडौँ २२ पुस । राजन कठेत र सुनिर पान्डेको निर्देशनमा बनेको डकुमेन्ट्री ‘नो विन्टर होलिड’ हलमा पनि रिलिज हुने भएको छ ।
निर्देशक राजन कठेतका अनुसार यो फिल्म आउँदो शुक्रवारदेखि काठमाडौँको सुनधारास्थित सिटिसी मलमा रहेको सिने दि सेफमा प्रदर्शन हुनेछ ।
लन्डनको सेफिल्ड डकुमेन्ट्री फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्मले विश्वका प्रतिष्ठित फेस्टिभलमा सहभागिता जनाएको थियो । त्योमध्ये फिल्मले अल्टरनेटिभ फिल्म प्रोजेक्टले प्रदान गर्ने ‘नेटिभा अवार्ड’ र डोकुबाकु अवार्ड जितेको थियो। त्योबाहेक डकुमेन्ट्रीले केही समय अघि सम्पन्न मानव अधिकार चलचित्र महोत्सवमा उत्कृष्ट डकुमेन्ट्रीको अवार्ड जितेको थियो ।
निर्देशक राजनले अनुभवका लागि एउटा हलमा रिलिज गर्ने र त्यसको प्रतिक्रिया हेरेर बाँकी हलमा रिलिज गर्ने कि नगर्ने भन्ने योजना रहेको बताए । ‘डकुमेन्ट्री हलमा प्रदर्शन गर्ने प्रचलन नै नेपालमा छैन । भएकामा पनि दर्शकको उपस्थिति के कति हुन्छ थाहा छैन । त्यसैले पहिला एउटा हलमा रिलिज गरेर हेरौँ । त्यहाँ राम्रो भयो भने अरू हलतिर सोच्न सकिन्छ,’ राजनले भने ।
नेपाली नाम ‘ढोरपाटन’ रहेको डकुमेन्ट्रीले त्यही क्षेत्रमा जाडो कटाउन बाध्य दुई सौतेनी महिलाको कथा प्रस्तुत गर्छ । बबिन दुलालले खिचेको फिल्मले फेस्टिभलहरूमा प्रशस्त प्रशंसा पाएको थियो । राजन कठेत र सुनिर पाण्डेको संयुक्त निर्देशन रहेको ७९ मिनेटको यो डकुमेन्ट्री दर्जन बढी विदेशी फिल्म फेस्टिभलको यात्रा गरिसकेको छ ।