health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् ।
तमु ल्होसार २०८० को अवसरमा काडमाडौंको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन् ।
उनले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएकोसमेत औँल्याए ।
प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको उनको भनाई छ।
प्रधानमन्त्री प्रचण्डले गर्नुभएको सम्बोधनको पूर्ण पाठ:
कार्यक्रमका अध्यक्षज्यू,
माननीय मन्त्रीज्यूहरू,
नेकपा (माओवादी केन्द्र) का महासचिवज्यू,
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय अध्यक्षज्यू,
आदिवासी जनजाति आयोगका सदस्यज्यू,
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सदस्यज्यू,
तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् संरक्षक परिषद्का अध्यक्षज्यू,
नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्षज्यू,
आमन्त्रित अन्य अतिथिगण,
सञ्चारकर्मी मित्रहरू,
उपस्थित सम्पूर्ण महानुभावहरू ।
सबैभन्दा पहिले स्वदेश तथा विदेशमा रहनुभएका तमु लगायत सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा तमु ल्होसराई आशिमला (शुभकामना) टक्राउन चाहन्छु ।
तमु (गुरुङ) समुदायको मान्यतामा १४ पुसको रात सबैभन्दा लामो र चिसो रात हो । १५ पुससँगै दिन लामो हुँदै जान्छ । धर्तीमा नयाँ बोट–बिरुवा उम्रन थाल्छन् । वर्षको सबैभन्दा छोटो दिनको अन्त्य र लामो तथा न्यानो दिन आगमनको खुसीयालीमा नयाँ वर्ष मनाउने परम्परा कायम हुन पुग्यो । अन्ततः यही परम्परा नै ल्होसार अर्थात् नयाँ वर्ष हो ।
ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्व मानिन्छ । पृथ्वीको ढल्काइअनुसार उत्तरी गोलार्द्धमा सूर्य करिब साढे २३ डिग्री दक्षिणी अक्षांशमा पर्दा पृथ्वीको उत्तरी गोलार्द्ध सूर्यको किरणबाट सबैभन्दा टाढा पर्छ । सूर्य प्रकाश मात्र होइन, तापको पनि मुख्य स्रोत हो । त्यसैले यो बेला पृथ्वीको उत्तरी गोलार्द्धमा रहेका मुलुकहरूमा धेरै चिसो महसुस हुन्छ । यस मौसममा नेपालसहित चीन, मङ्गोलिया, भियतनाम, कोरिया, भुटान, थाइल्यान्ड, बर्मालगायतका देशमा पनि ल्होसार पर्व मनाइन्छ । यद्यपि ल्होसारलाई पुकार्ने नाममा भने ती देशमा विविधता भेटिन्छ ।
नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ । म पनि सम्भव भएसम्म तपाईँहरूसँगै ल्होसार पर्वमा सहभागी हुने गरेको छु । एक वर्षपछि फेरि यही मञ्चमा आएर शुभकामना साटासाट गर्न पाउँदा खुसी लागेको छ ।
२०५८ सालदेखि १५ पुसमा गुरुङ जातिलाई सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । ०६२÷६३ को जनआन्दोलनपछि नेपालका सबैजसो प्रमुख जातिको चाडपर्वमा सरकारले सार्वजनिक बिदा दिन थाले पनि बिचमा सार्वजनिक बिदा कटौती गरिएको थियो । तर अहिले सार्वजनिक बिदा दिन थालिएको छ ।
नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात् गरेको छ । संविधानको यही मर्म र भावनालाई गहिरोसँग आत्मसात् गर्दै राष्ट्रिय एकतासहितको समृद्धिको लक्ष्य प्राप्त गर्नु हाम्रो राष्ट्रिय कार्यभार हो । नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो । यहाँ बसोबास गर्ने सबै जाति÷जनजातिको आ—आफ्नो भिन्न भिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति हो ।
नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति हो । यो ल्होसार परम्परा विश्वकै सबैभन्दा पुरानो सांस्कृतिक परम्परा हो । मानव जातिले पशुपालन र कृषिको सुरुवात गरेदेखि नै प्रकृतिको स्वभाव र गतिको नियम पत्ता लगाउने प्रयत्न गरेको थियो । यो परम्पराले धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र स्वास्थ्य जीवनको क्षेत्रमा समेत विशेष महत्त्व राख्दछ ।
ल्होसार राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो । नेपालमा यस्ता ऐतिहासिक एवं वैज्ञानिक महत्त्व बोकेका थुप्रै पर्व छन् । तसर्थ राज्यले ल्होसार लगायत सबै सांस्कृतिक पर्वहरूलाई राष्ट्रिय संस्कृतिको प्रवर्द्धन गर्नुपर्दछ ।
विभिन्न जाति एवं समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै विभिन्न सभ्यता, भाषा, कला, संस्कृति, लिपि, भेसभुसा र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको छ । लोकतन्त्र, सामाजिक न्याय, राष्ट्रिय एकता, स्वाधीनता, अखण्डता र देशभक्तिलाई केन्द्रमा राख्दै अनुसरण गरिने अक्षुण्ण एकता, सद्भाव र सहिष्णुता हाम्रो राष्ट्रिय विशेषता र पहिचानसमेत हो । यस विशेषतालाई आत्मसात् गर्दै देशमा विद्यमान चुनौतीहरूको सम्बोधन गर्दै समुन्नतिको राष्ट्रिय आकाङ्क्षा प्राप्तिका निम्ति सरकार निरन्तर प्रयत्नशील रहँदै आएको छ ।
नेपाली समाजले विकास गरेको आफ्नै मौलिक विचार नेपाली राष्ट्रियताको जगमा उभिएको छ । राष्ट्रियताको संवर्धन र समुदायको पहिचानमा नै मुलुकको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहन्छ । यस्ता मौलिक चाडपर्वहरूले नेपालीबिच सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बनाउँछ । तसर्थ, देशको विशेषता र मौलिकताको आत्मसातीकरण सहित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु हामी सबैको साझा जिम्मेवारी हो ।
अन्त्यमा, यस पर्वले राष्ट्रिय एकता र राष्ट्रिय मौलिक संस्कृतिको निर्माणमा ऊर्जा एवं सामाजिक न्याय, सुशासन र समृद्धिको राष्ट्रिय कार्यभारमा एकीकृत हुन हामी सबैमा उत्प्रेरणा पैदा हुने विश्वासका साथ फेरि एक पटक तमु जाति लगायत समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।