health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

बुटवल, १० पुस । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त दुई मन्त्रीले पद तथा गोपनीयताको शपथ लिए । शनिवार मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका थिए । प्रदेश प्रमुख अमिक शेरचनले नेकपा (माओवादी केन्द्र)बाट सहरी विकास मन्त्री बनेकी कृष्ण केसी र नेपाली काङ्ग्रेसबाट उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका सरोज थापा( रोज राणा) लाई आइतबार बुटवलमा शपथ खुवाएका हुन् ।
बाँकेकी केसी र प्युठानका थापालाई नयाँ सरकार गठन भएको ८ महिनापछि मन्त्री बनाए पनि मुख्यमन्त्री चौधरीले अझैँ मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन् । केसी र राणा दुवै प्रत्यक्ष निर्वाचित प्रदेशसभा सदस्य हुन् । लुम्बिनीमा माओवादी केन्द्रबाट धनबहादुर मास्की अर्थमन्त्री, काङ्ग्रेसबाट राजु खनाल स्वास्थ्य मन्त्री, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट सन्तोषकुमार पाण्डेय गृहमन्त्री, जनता समाजवादी पार्टी (जसपा)बाट भण्डारीलाल अहिर कृषि तथा भूमि व्यवस्था मन्त्री, जनमत पार्टीबाट चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री, नागरिक उन्मुक्ति पार्टीबाट धर्मबहादुर चौधरी भौतिक पूर्वाधार मन्त्री छन् । थप गरिएका दुई मन्त्रीसँगै लुम्बिनीको मन्त्रिपरिषद् ९ सदस्यीय बनेको छ ।
थपिएका दुई मन्त्रीमध्ये सरोज थापाको विषयलाई लिएर भने टिका टिप्पणी सुरु भएको छ । गुण्डागर्दी पृष्ठभूमिबाट आएका थापालाई मुख्यमन्त्री चौधरीले एकाएक मन्त्री बनाएपछि सरकारको नेतृत्व गरेको काङ्ग्रेससँगै सत्तारुढ दलभित्र चर्को आलोचना सुरु भएको छ । काङ्ग्रेसबाट संस्थापन इतर समूहबाट एक जनालाई पनि सरकारमा नलैजाने मुख्यमन्त्री चौधरीको निर्णयप्रति काँग्रेस प्रदेश नेतृत्व असन्तुष्ट बनेको छ ।
मुख्यमन्त्री चौधरी सभापति शेरबहादुर देउवा निकट हुन् । मुख्यमन्त्री चौधरीले वन वातावरण पर्यटन तथा खानेपानी मन्त्रालय आफैँले राखेका छन् । १० सदस्यीयभन्दा ठुलो ‘क्याबिनेट’ नबनाउने भनिए पनि भागबन्डा नपुग्ने भएपछि मन्त्रालय फुटाउने गरी सरकारले निर्णयसमेत गरेको छ । गत साताको मन्त्रिपरिषद्को बैठकले प्रदेश सरकार कार्य विभाजन नियमावली–२०७९ को अनुसूची १ र २ हेरफेर गर्ने निर्णय गरेको हो । नियमावलीको अनुसूची १ मा लुम्बिनी प्रदेशमा रहने मन्त्रालयको सङ्ख्या किटान गरेको छ ।
काँग्रेसभित्रको विवाद मिलाउन नसक्दा मन्त्रिपरिषद्ले अझैँ पूर्णता पाउन सकेको छैन । काँग्रेसका डिल्लीबहादुर चौधरी नेतृत्वको सरकारलाई सोही पार्टीका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तीन–तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक–एक जना र स्वतन्त्र एक सांसद गरी ५३ जना सांसदको समर्थन छ ।
१० राजनीतिक दलको प्रतिनिधित्व रहेको प्रदेशसभा ८७ सदस्यीय छ । प्रदेशसभामा सबैभन्दा ठुलो दल नेकपा (एमाले) हो । एमालेका २९ सांसद छन् ।
यस्तो छ रोजको पृष्ठभूमि
सरोजबाट रोज बनेका उनको पहिलो सार्वजनिक छवि फिल्म निर्माता नै हो । उनले ‘दादागिरी’, ‘डन’, ‘खलनायक’, ‘महान्’, ‘टक्कर दुई मुटुको’ लगायतका फिल्म निर्माण गरेका थिए । उनले ‘मेरो पैसा खोइ’ र ‘जय परशुराम’को निर्देशन समेत गरे ।
फिल्म क्षेत्रका कलाकार उनको डनगिरीबाट हैरान थिए । आफ्नो फिल्म अभिनय गर्न नमान्ने कलाकारलाई उनी अपहरणै गर्थे । त्यो बेलाका स्टार निखिल उप्रेतीले उनको फिल्ममा अभिनय गर्न नमान्दा घरैबाट उडाउने धम्की दिएको घटना प्रहरीसम्म पुगेको थियो ।
फिल्म त एउटा देखाउने धन्दा भइहाल्यो । उनको असली धन्दा रात्रिकालीन व्यवसाय थियो । त्यो बेलामा काठमाडौँमा नग्न डान्स बारको बिगबिगी थियो । रोजको बागबजार अनि गंगबुमा डान्सबार थियो । बागबजारमा रहेको उनको डान्सबार नग्न नृत्यका लागि कुख्यात थियो ।
काठमाडौँमा तत्कालीन एसएसपी थिए, रमेश खरेल । बागबजारमा रहेको टप भिआइपी डान्सबारमा छापा मार्ने क्रममा पक्राउ परेका युवतीहरूले बार सञ्चालकले जबरजस्ती नाङ्गै नचाउने गरेको बयान दिएपछि खरेलले रोजमाथि मानव बेचबिखनको आरोपमा अनुसन्धान प्रक्रिया अगाडि बढाए । केही महिना लुकेका उनी बागबजार क्षेत्रमै पक्राउ परे । काठमाडौँ जिल्ला अदालतको आदेशमा उनी केन्द्रीय कारागारमा सात महिना जेल पनि बसे । पछि उनले मानव बेचबिखनको अभियोगबाट सफाइ पाएका थिए । त्यसअघि २०७३ साउन ३१ गते मध्य बानेश्वरको एक रेस्टुरेन्टमा गुन्डाको परिचय बनाएका फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार भयो । बेलुका ७ बजेतिर सेन्ट्रल क्याफे अगाडि राणाको हात ताकेर खुकुरी हानेका थिए । उनी गम्भीर घाइते भएका थिए ।
रोजमाथि आक्रमण गरेको आरोपमा तत्कालीन महानगरीय प्रहरी अपराध महाशाखा(काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय) ले विवेचना प्रजापति र सूर्य लामालाई पक्राउ गर्यो । उनीहरू पक्राउपछि रोजको हात छिनाल्ने गरी आक्रमण गर्न उनीहरूले ३० लाखमा काम पाएको खुल्यो । राणामाथिको आक्रमणको घटना २०७१ साउन २१ मा काठमाडौँको भीम ढुङ्गा भन्ज्याङ नर्सरीमा भएको इन्काउन्टर घटनामा गएर जोडियो । त्यो दिन एमाले निकट अर्का गुन्डा नाइके दिनेश अधिकारी (चरी) प्रहरी इन्काउन्टरमा मारिएका थिए ।
नेपालमा खोजी सुरु भएपछि त्यो बेला सुजन पौडेल(रमेश बाहुन) अनि चरी भागेर भारतमा बसेका थिए । रोज पनि उतै थिए । प्रहरीले पहिला रमेश बाहुनको इन्काउन्टरको योजना बनाएर पक्राउ गरेर नेपाल ल्याएको थियो । तर उनी पक्राउ परेको पोल खुल्दा उनको ज्यान जोगियो । प्रहरीमा आपराधिक रेकर्ड पनि भएको र फरार रहेको गुन्डा नाइकेको चयन गर्दा चरी परे ।
उनी नेपालमा आएर आफ्नो मुद्दा मिलाउने तयारीमा थिए । उनी काठमाडौँमा आएर आफ्नो वकिलसँग भेट गरी धादिङ जाने तयारीमा रहेको सूचना चुहिएपछि ट्र्यापमा परेर मारिए । प्रहरीले पच्छ्याउने क्रममा प्रहरीमाथि प्रहार गर्न खोजेपछि प्रतिकारमा मारिएको दाबी गरेको थियो । भारतबाट ल्याइएका रमेश बाहुन कलङ्कीको खसी बजारमा हिँडिरहेको बेलामा पक्राउ परेको भन्दै अवैध हतियार र लागु औषधमा केन्द्रीय कारागार पुगिसकेका थिए ।
चरीबारे सूचना खुश्बु ओली र रोजलाई थियो । चरीको सूचना प्रहरीसम्म पु¥याउन रोजको भूमिका रहेको भन्दै चरी समूहका अन्य सदस्यले उनको हात छिनाल्न सुपारी दिएका थिए । रोज राणा उनको नक्कली नाम थियो । मन्त्री हुँदा सक्कली नाममै शपथ खाए । उनी काँग्रेसको राजनीतिमा लागेको धेरै लामो समय भएको छैन । साङ्घातिक हमलापछि नै हो उनी रात्रिकालीन व्यवसाय र फिल्म निर्माणको काम छाडेर राजनीतिमा लागेको ।
नेपाली काङ्ग्रेसभित्र आरजु राणा देउवाको प्रिय पात्रको छवि बनाएका उनी जिल्ला फर्किएर राजनीतिमा लागे । आरजुको आशीर्वादले उनी छोटो समयमै काँग्रेसको राजनीतिमा जम्दै गए । उनी प्युठान २ को पार्टीको क्षेत्रीय सभापति निर्वाचित भए । २०७९ मा प्रदेशको टिकट पाएर गठबन्धनबाट निर्वाचित भए पनि मन्त्रीको सूचीमा थिएनन् । संस्थापन पक्षको तारन्तार दबाबपछि चौधरीले संस्थापन इतर समूहको असहमतिमा थापालाई मन्त्री बनाए । आइतबार मन्त्रीको शपथका लागि आयोजित समारोह काँग्रेस संस्थापन इतर समूहले बहिष्कार गरेका थिए ।