घटना : एक
सिराहा नगरपालिका १५ का ४० वर्षीय देवेन्द्र यादवको कुटपिटबाट उनकी श्रीमती ३० वर्षीय संजिता कुमारी यादवको मृत्यु भयो। सामान्य घरायसी विवादमा समेत पटक–पटक कुटपिट खेप्दै आएकी थिइन्। यस पटक भने अति नै भयो। गत मङ्सिर ७ गते संजितामाथि देवेन्द्रले लात, मुक्का, इँटा, भाटा जे पायो त्यही लगातार प्रहार गरिरहे, जबसम्म सजिताको ढुकढुकी बन्द भएन। त्यस दिनको पिटाइले उनको प्राण पखेरु उड्यो। प्राण त्याग्नु अघि उनी रोइन, कराइन् , चिच्याइन्। ज्यान बचाउन उनी हार गुहार माग्दै थिइन्। तर पति नै व्याधा भएर उत्रेपछि उनको केही लागेन। सास्तीबाट छुटकारा दिलाउने त परै जाओस् कठै बर भन्ने पनि कोही भएन।
जिउँदो हुँदा सुखभोग गर्न नपाएको संजिताको लासले पनि सहज व्यवस्थापन पाएन। श्रीमतीको मृत्यु भएको निश्चित भएपछि उनले केही व्यक्तिको सहयोगमा भारत पुर्याएर शव बाँसको घारीमा फालेर आए। प्रहरीले घटनाको तीन दिन पछि नेपाल भारत सिमानाबाट करिब २० किलोमिटर भित्र भारत विहारको मधुवनी बेलाबाध सेलरा भन्ने ठाउँको बाँस घारीबाट बरामद गरयो।
भारतीय प्रहरीको सहयोगमा संजिताको शव परीक्षण भारतमै गरियो। प्रहरीले शव सिराहा ल्याएपछि पुनः प्रादेशिक अस्पतालमा पोस्ट मार्टम गरायो। प्रहरीले कानुनी प्रक्रिया पूरा गर्न बाध्यताले नेपालमा पनि पोस्ट मार्टम गर्नु परेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रवक्ता राजेन्द्र राज पाण्डेले जनाएको छ।
घटनाको सुइँको पाए लगत्तै खोजीमा सक्रिय भएको प्रहरीले देवेन्द्रलाई घटनाको दुई दिनपछि ९ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरयो । देवेन्द्रले दिएकै सुराकको आधारमा संजीताको शव प्रहरीले फेला पार्न सफल भएको प्रवक्ता पाण्डेले जनाए। अहिले देवेन्द्र कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा छन्।
आमालाई बाउले कुटेर मारे। बाउ कानुनको फन्दामा परे। उनीहरूका पाँच जना स–साना छोरा छोरीको कान्त बिजोग भएको छ।
घटना: दुई
सिराहा कल्याणपुर नगरपालिका ८ बडकी मझाउका राजकिशोर दासकी २७ बर्सिया श्रीमती सङ्गीता कुमारी दासले पनि अकाल मै ज्यान गुमाइन्। ससुरा राम अशिष दासले निर्ममतापूर्वक बन्चरो प्रहार गरेपछि सङ्गीता पुकलुक्कै ढलिन्। गत कात्तिक २७ गते समसाँझै सङ्गीताका हत्या गरियो। सामान्य घरायसी विवादमै आक्रोशमा आएका ससुराले दाउरा चिरे जस्तै गरी सङ्गीता माथि बन्चरो बजारे। आइया आथो पनि भन्न नपाई सङ्गीता ठहरै भइन्। बुहारी मारेर फरार रहेका दासलाई प्रहरीले मङ्सिर १२ गते लुकिछिपी बसेको अवस्थामा पक्राउ गरयो। पक्राउ परेका ससुरा दासलाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धानको लागि प्रहरीले थुनामा राखेको छ।
घटना: तीन
जिल्लाकै नरहा गाउँ पालिका ५ का उमेश कुमार यादवको कुटपिटबाट आफ्नै १५ बर्सिया छोरी चाँदनी कुमारी यादवको ज्यान गयो। फरक धर्मावलम्बी केटोसँग भागेकी छोरीलाई भारतबाट फर्काएर ल्याएको एक सातामै कुटपिट गर्दै घाँटीमा डोरी कसेर छोरीको हत्या गरे। हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
साउन ३० गते बेलुका १९ः३० बजे गोठमा कुटपिटबाट छोरीको मृत्यु भयो। हत्याको अभियोगबाट बच्न उमेशले नयाँ जुक्ति झिके। मरेको छोरीको लास बोकेर स्वास्थ्य संस्थामा पु¥याए। छोरीले विष सेवन गरेको र उपचारमा ल्याएको भनी ढाट छल गर्न खोजे। उपचारको क्रममा मृत्यु भएको भन्दै आफैले प्रहरीमा जाहेरी दरखास्त पनि दिए। तर उनको लागि पाप ‘धुरीबाट कराउँछ’ भनेजस्तै भयो। शवको प्रकृति देखेर शङ्का लागेपछि प्रहरीले अनुसन्धान सुरु गरयो।
अनुसन्धानको क्रममा घाँटीसहित शरीरको विभिन्न भागमा नीलडाम देखेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाउँदै घटनास्थल पुग्यो। घटनास्थलबाट रातो पदार्थ (रगत) लागेको तन्ना, सर्ट, डोरी, डोरीमा कपाल समेत भेटेपछि हत्या भएको भन्ने ठम्याइमा प्रहरी पुग्यो। प्रहरीले उमेशलाई उनकै घरबाट करिब एक महिना पछि गत भदौ २५ गते पक्राउ गरयो। अदालतको आदेशबाट यादवलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ।
प्रहरी अनुसन्धानको क्रममा हत्या वारदात भन्दा एक महिना पहिले चाँदनी जियाउदिन शेख (नाम परिवर्तन) सँग भागेकी थिइन्। गैर धर्मावलम्बीसँग भागेको एक हप्ता पछि भारतबाट फर्काएर ल्याइएकी चाँदनी बुवाको निगरानीमा रहेकी थिइन्।
सिराहामा यो वर्ष भएका माथि उल्लिखित फरक–फरक घटनाले घरभित्रै महिला कति असुरक्षित रहेका छन् भन्ने विषयलाई उजागर गरेको छ। यी घटनाहरूले महिलाको जीवन घरपालुवा पशुभन्दा पनि कम महत्वको बस्तु भएको दर्साउँछ। घरमा पालिएका जनावरले पनि विगार गरिरहेको हुन्छ। कहिले अन्न पात जुठाउने, कहिले बालीनाली खाइदिने, विगार गर्ने गरिरहेको हुन्छ। तर, त्यही कारणले पशुको हत्या गरिहाल्ने हाम्रो व्यवहार छैन। तर, महिलाले आज श्रीमानले भनेको नमान्दा, ससुराले अह्राएको नमानेको वा छोरीले आफ्नो खुसीले जीवनसाथी रोज्दा मृत्युवरण गर्नु पर्ने अवस्था छ। माथि उल्लिखित घटनाहरूले समाजको कुरूपतालाई छर्लङ्ग पारेको छ।
उपर्युक्त घटना प्रतिनिधि घटनाहरू मात्र हुन्।
सिराहामा आर्थिक वर्ष २०७९/०८० मा जबरजस्ती करनीका ३८ वटा घटना दर्ता भएको छ। घटनामा संलग्न १८ जना पुरुष पक्राउ परेका छन्। २८ जना अझै फरार रहेको छ। जबरजस्ती करणी उद्योगमा १४ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ७ जना पक्राउ परेको छ। ८ जना अझै फरार छन्। बाल यौन दुरुपयोगका ३ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ३ जना पक्राउ परेका छन् भने २ जना फरार रहेको छ।
चालु आर्थिक वर्षको मङ्सिर २० सम्ममा कर्तव्य ज्यानका तीन वटा मुद्दा दर्ता भएका छन्। घटनामा संलग्न तीन जना पक्राउ परेको छ भने केही फरार रहेको छन्।
जबरजस्ती करनीका १३ वटा मुद्दा दर्ता भएको छ। घटनामा संलग्न ६ जना पक्राउ परेका छन् भने १० जना फरार रहेको प्रहरीले जनाएको छ। त्यसै गरी, जबरजस्ती करनी उद्योगमा ८ वटा घटनाहरू दर्ता भएको छ। घटनामा सङ्लन ४ जना पक्राउ परेका छन् भने ४ जना अझै फरार रहेको छ।
यो त सिराहामा भएका घटनाहरूमध्ये प्रहरी सम्म पुग्ने हिम्मत गरेर सार्वजनिक भएका घटनाहरू हुन्। यो बाहेक सामाजिक, राजनीतिक, आर्थिक दबाब र प्रलोभनमा कति घटनाहरू गाउँका स–साना राजनीतिक दरबारहरूमै टुङ्गिन्छन्।
सिराहा मात्र हैन मधेसमा यस्ता घटनाहरू दिनानुदिन वृद्धि भइरहेका छन्। कहिले दहेजको नाममा, कहिले बोक्सीको नाममा त कहिले छोरीहरूले आफ्नो जीवनसाथी आफै रोजेको नाममा यहाँका महिला, युवती तथा किशोरीहरू हिंसाको सिकार भइरहेका छन्। कतिपय अवस्थामा मृत्युको सिकारसम्म हुनु परेको छ। हालै भएका घटनाहरूले समाजलाई प्रतिविम्वित गर्दछ। यस्ता घटनाहरू उन्मुलनको लागि राज्यका हरेक निकाय÷पक्षबाट अझै गम्भीर प्रयास हुन आवश्यक रहेको सामाजिक अगुवाहरू बताउँछन्।
समाजमा हुने अपराधका घटनाहरू उन्मुलन गर्न प्रहरीको एक्लो प्रयासबाट मात्र सम्भव नहुने प्रहरी अधिकारीहरू बताउँछन्। उनीहरू समाजका हरेक तह तप्काले समाजको सम्भावित घटनाहरू प्रति गम्भीर हुनु पर्ने प्रहरीको कथन छ। आफ्नोले अपराधै गर्दा पनि लुकाउन खोज्ने परिपाटीले पनि कानुनी रूपले बाधा अड्चन हुने गरेको प्रहरीको बुझाई रहेको छ।
सरकारले दाइजो विरोधी कानुन बनाएको छ। तर त्यसको कार्यान्वयन फितलो छ। बालविवाह गर्न नपाइने कानुनले भनेको छ। कसैलाई पनि बोक्सीको आरोप लगाउनु मात्र पनि कानुनी रूपमा अपराध हो भनिएको छ। तर कानुन बन्दै अपराध रोकिँदैन। कानुनको कडाइका साथ परिपालना गरिनु पर्छ। कानुनी राज्यको आभास हुने गरी भूइँतह सम्मैका मानिसमा पितृसत्तात्मक सोचको विरुद्धमा चेतना फैलाउनु पर्ने महिला अधिकारर्मीहरुको गङ्गा कुमारीको भनाई रहेको छ।