Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
'उसले आज सरकार चिन्यो' - Gyaan Ghar

Gyaan Ghar

Advertisement

‘उसले आज सरकार चिन्यो’

बाह्रबिसेको बस स्टपमा बोकाएर ल्याएपछि नैन भन्ने नैनबहादुरले आफ्नो जहानलाई एउटा शीतल ठाउँ खोजी थकाइ मार्न लगायो र आफू तरकारी पसलतिर लम्क्यो । केही छिनपछि अलिकति दही, च्यूरा, आलुको तरकारी र पानी लिएर ऊ फर्क्यो । अनि, आफ्नो जहानलाई खान कर लगाउँदै भन्यो, ‘खा खा अलिक बेथालाई त खाएकैले जित्छ । भरै अस्पताल पुग्नेसाथै तोक लाग्यो भने भर्ना हुन पाइहाल्छेस् खाने चाँजो मिल्ने हो होइन, खा खा ।’

पहेँली, ख्याउटी, फुकीढल भएकी स्वास्नी मान्छे, जो दोहोरो सास फेरिरहेकी थिई, सुस्केरा जस्तो आवाजमा आफ्नो लोग्नेलाई भनी, ‘टुङ्गोमा पुग्छु जस्तो लागेको छैन मलाई, खै रगत त्यत्तिकै आइरहेको छ ।’

त्यसपछि उसले खोकी, आफूसँगै बोकेको झुत्रो भइसकेको सिङ्गो फरियामा थुक पोको पार्दै भनी, ‘बोकेर आइयो भन्ने नाउँ मात्रै, असाध्यै दुख्दो रहेछ । अहिले त झन् धेरै रगत मात्रै आइरहेको छ ।’

नैनले देख्यो, उसकी स्वास्नीको आँखा बिस्तारै धमिलो हुँदै जाँदै छ तर उसले यस वास्तविकतालाई महत्त्व दिएन । उसले के मात्र सोच्यो भने हिजोसम्म यो आइमाई कान्लामा घाँस काट्दै थिई, त्यसैले अहिले नै यो मरिहाल्न सक्दिन । मान्छेको जीवन हिजोको आजै तलमाथि परिहाल्ने खालको हुँदैन, अस्पतालसम्म पुग्न पाउनुपर्छ सब ठिक हुन्छ । अन्तमा उसले आफैँलाई सम्झायो, हामी गरिबको कोही नहोस् रे, सरकार त छ नि !

यता छहारीमा बसेर पहेँलो सुकेको औँलाहरूले मन नगरी–नगरी दही च्यूरा मुछ्न लागेकी थिई किस्नेकी आमा, अँ नैनले उसलाई जेठो छोराको नाउँबाट किस्नेकी आमा नै भन्ने गरेको छ । किस्नेकी आमा एक गाँस दही च्यूरा कलेटी परेको ओठबाट भित्र हाल्यो तर चपाउने सुर उसको थिएन । जसरी त्यसरी तीन चार गाँस पेटभित्र हाली, एक बोहोता आलु पनि, अनि पानी पिई । उता नैनले खाना खाइसकेपछि देउराली चुरोटको धित मार्दो कस तान्यो, किस्नेकी आमा, तलतलले हुरुक्कै भई तर सहिदिई, कारण बाँच्ने नाउँमा हिजो मा नैनकै अघि चुरोट कहिले नखाने किरिया हालिसकेकी छ उसले ।

दृश्यहरू परिवर्तन भए । काठमाडौँ आउने बस लागिसकेको थियो । नैनले आफ्नो जहानलाई सहारा दिएर बसको ढोकासम्म ल्यायो । बस उक्लन गाह्रो परेको थियो । तापनि, उक्ल्यो र जहानलाई एक ठाउँमा थन्क्याइदियो । बस गुड्न थाल्यो, बसले काठमाडौँ पुग्नै पर्थ्यो, पुग्यो । बस अड्डाबाट वीर अस्पतालसम्म दश रुपियाँ भाडा तिर्‍यो नैनले, कारण रिक्सावालको तर्क थियो– बिरामी सवारी कसैले पनि बोक्दैन, दश रुपियाँ चाहिन्छ । बसको थकाइ, रिक्साको थकाइ अनि यात्राभरि फोक्सोबाट निस्केको रगतको फाल्साले किस्नेकी आमालाई हुनसम्म शिथिल तुल्याइसकेको थियो । ऊ हिँड्न सकिन, नैनले उसलाई बोकेर इमरजेन्सीतिर दौडायो र बाहिर चौतारीमा बिसायो ।

त्यसपछि देशको प्रतिष्ठित अस्पतालमा सरकारको विश्वास पर्दै स्वास्नीलाई बचाउन आएको नैनले जीवनको सबैभन्दा मार्मिक नाटक खेल्यो आफैँ नायक भएर । यस मार्मिक नाटकलाई यहाँ कथाको रूप दिन मिल्दैन यसरी अचानक नाटकमा भाग लिनु नैनको विश्वासमा पटक्कै नपरेको कुरा थियो तर सामना गर्नुपर्ने भएपछि सामना गर्नै पर्छ । नैनलाई त्यो भाग लिनु सपना अथवा तन्द्रा जस्तो पनि लागेको थियो । घटना र संवादलाई यसरी वर्णन गर्न सकिन्छ । नैनले केही सुझाउ, केही आदेश, केही प्रश्न र केही हप्कीदप्की निकै कडकदार भाषामा सुन्दै गयो । एउटा कोठाबाट घोक्रे ठ्याक पनि खायो ।

‘यहाँ होइन, यहाँ होइन उता लग…’
‘यता कता ल्याएको उता…उता’
‘जाँच्ने ठाउँ यहाँ होइन, त्यहाँ’
‘ए ! आफ्नो बिरामीलाई मात्र यतिका लामो ठाउँमा सुताएर… खै उठाएर राख हाम्रो बिरामी पनि बस्नपर्छ ।’
यसरी यता र उताको एउटा लामो सिलसिलापछि नैन नाटकको यस्तो बिन्दुमा आइपुग्यो, जहाँ प्रश्नहरू केही महत्त्वपूर्ण थिए । यति खेरसम्म नैनको स्वभाविकताको चौथाइ भाग मरिसकेको थियो ।

‘के रोग हो ?’
‘मुखबाट रगत आउँछ….हजुर, हजुर कफमा’
‘त्यो यहाँ जाँच्दैन…पर’
‘कहाँ पर ?’
‘टेकु अस्पतालमा’
‘टेकु अस्पताल कहाँ छ ?’
‘त्यहीँ पर, टेकुमा’

नैन भन्ने नैनबहादुरले आफूलाई अन्योलको भुमरीमा फस्दै गएको अनुभव गर्‍यो । उसलाई एउटा यस्तो वातावरणले कस्दै लगेको अनुभव भयो, जुन वातावरण उसको देशमा हुन्छ भन्ने कुरा उसको निर्बोध मनले कल्पनासम्म पनि गरेको थिएन । तर स्वास्नीको प्राण आफ्नो गरिब खल्तीमा सुरक्षित राखेको भ्रममा परेको नैनले नाटक नगरी सुखै थिएन । अस्पतालको प्राङ्गणमा फनफनी घुम्दा पनि उसले अस्पताल र डाक्टर भेट्नै सकेन तथापि उसको सरकारप्रतिको विश्वास खलबलिएको थिएन । ऊ सोच्दै थियो, यो त अस्पताल न हो सरकार त अझै छ नि, मानौँ उसको निम्ति सरकार यी सारा क्रियाकलाप र झन्झटहरूभन्दा बेग्लै, अलग्गै वस्तु हो, जो विस्मयकारीरुपले उसको अघि प्रकट हुनसक्छ । यसरी ऊ नाटकको तेस्रो चरणमा पुग्यो । यस पटक भने संवाद उसलाई अलिक तथ्यपूर्ण लाग्यो ।

‘मुखबाट रगत आँको आकै छ ?’
‘हजुर, हजुर’
‘छातीको फोटो खिच्नपर्छ’
‘त्यो कहाँ खिच्छ ?’
‘कालीमाटी चेष्ट क्लिनिकमा’
‘त्यो कहाँ छ ?’
‘यसो जाऊ अलिक उता पर्छ’

केही बेर चेष्ट क्लिनिकको खोजीमा भौँतारिएपछि नैन रित्तो हात असीन–पसिन थकित शरीर, थकित मानसिकता लिएर किस्नेको आमा भए ठाउँमा फर्क्यो र उसको खुट्टानिर यसो ठाउँ बनाएर बस्यो ।

‘किस्नेकी आमा ! डाक्टर अस्पताल केही पनि भेटिएन ।’
किस्नेकी आमा निरुत्तर । नैनले अझ घच्घचाएरै बोलायो, ‘ए तँलाई कस्तो छ ?’

तर किस्नेकी आमा नियतिको अस्पतालमा नै पुगिसकेकी थिई । ओइलिएको सागको मुठा जस्तो, चिसो भएको, एकातिर लत्रक्क परी ऊ । नैनलाई वास्तविकताले एक छिनमा नै परिपक्व बनाइदिएको थियो । त्यसैले अब ऊ भ्रमभन्दा बाहिर थियो । एकपल्ट उसलाई चिच्याएर रुन मन लागेको थियो तर नियन्त्रण गर्‍यो, कारण उसले थाहा पायो यहाँ यसरी रुनुको अर्थ हुँदैन । हिजो यो स्वास्नी मान्छे मर्ली जस्तो थिइन, तर आज मरी, नैनलाई विश्वास भयो, केही बेरको यता होइन, उता…।

यहाँ कहाँ राखी छाड्ने, ए छोला छोलाको कोलाहल पछि नैनले सागको मुठा जस्तो हलुको उसको स्वास्नीलाई बोकेर बाहिर सडकमा नै आयो, त्यसपछि पेटीको एकातिर लास बिसाएर ऊ रिक्सा बोलाउन हिँड्यो ।

अब नाटकको चौथो चरण सुरु हुन्छ, जसलाई नैनबहादुरले पूरा नगरिकन सुखै थिएन ।
‘मरेको मान्छे पनि कसैले बिस रुपियाँमा लान्छ ? लान्दैना म ता, त्यही पनि बस अड्डासम्म पचास दिन्छ ?’
‘त्यति त पैसै छैन, घर पनि त पुग्नुपर्ला ।’
‘ट्याक्सी बस पार्कसम्म जाँदैन उही पनि लास बोकेर ?’
निःसहाय भएर नैन फर्केर आयो, उसलाई सबै मान्छे मरेको जस्तो लाग्यो । ज्यूँदो त उसकी स्वास्नी मात्र छे र अब उसैलाई गएर भन्नु नै छ कि तेरो ज्यानलाई बाह्रबिसेको बससम्म लैजान कुनै पनि रिक्सा, ट्याक्सीले मानेनन् सक्छेस् भने आफैँ उठेर हिँड्, यहाँ सबै मान्छे मरेका छन् । तै एउटी मात्र ज्यूँदी छेस् ।
ऊ फर्कँदा किस्नेकी आमाको लासलाई एउटा सानो भीडले घेरिसकेको रहेछ । एउटा पुलिस पनि कड्किरहेको थियो ।
‘कसको मान्छे हो यो ?’
‘यहाँ किन सुताइराखेको ?’
‘मरेको जस्तो छ ।’
‘ए…यसको मान्छे कहाँ छ, ल यसलाई चाँडै उठाइहाल ।’

अब नैन भन्ने नैनबहादुरले आफूलाई जीवनमा सबैभन्दा बढी विवश भएको पायो । उसलाई लाग्यो, ऊ एकदमै एक्लो छ त्यसैले हुलबाट बिस्तारै बाहिर निस्क्यो । जीवनमा पहिलोपल्ट नैनले उसको स्वास्नीलाई चिनेन, उसको तीन वटा लालावालाको आमालाई, उसकी अर्धाङ्गिनीलाई उसकी जीवन साथीलाई । तर, आज उसले बडो महत्त्वपूर्ण वस्तुलाई चिन्यो, उसले आज सरकार चिन्यो । नजिकैबाट असाध्य मज्जासँगले चिन्यो । कसैले चिनाउनै परेन, आफैँ चिन्यो । गरिबको सरकार भेट्यो उसले आज, सरकार उसको हातैमा आयो । उसले चेपारे हाँसो हाँस्दै जाने उसको गाउँको सतासीलाई र जिल्लाको माननीयलाई चिन्यो ।

भीडबाट पलायन भएको नैन साँझै भएर बाह्रबिसे जाने बसमा चढ्यो र आत्म स्वीकृति यसरी पोख्दै गयो, किस्नेकी आमा, मान्छेको आत्मा हुन्छ भन्ने सुनेको थिएँ, तैँले मेरो दुःख देखी हालिस् तेरो ज्यानलाई सद्दे बनाएर ल्याउन कम्मर कसेर गएको मैले तेरो लास पनि ल्याउन सकिनँ तर मैले सरकार, मान्छे सबै सबै चिनेँ, के म सितिमिति बिर्सन सक्छु र आज मुटुमा किला गाडेको दिन ?

(फिनिक्स बुक्सद्वारा प्रकाशित पारिजातको ‘मैले नजन्माएको छोरो’ कथासङ्ग्रहबाट साभार)

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...