health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्।
– प्रकाश रेग्मी
बढ्दो जलवायु परिवर्तनका कारण मौसमी ढाँचामा आएको परिवर्तित स्वरूपले सिर्जना गरेको जटिलता सम्बोधन गर्न सन् २०१० मा मेक्सिकोको क्यानकुनमा संयुक्त राष्ट्र संयुक्त राष्ट्र संघको जैविक विविधता सम्मेलनमा हरित जलवायु कोष स्थापना भयो। अर्थात् जलवायु परिवर्तनलाई सम्बोधन गर्न विकासशील देशहरूलाई बढ्दो वित्तीय सहयोगको आवश्यकता पूरा गर्ने प्रयास स्वरूप कोषको स्थापना भएको थियो।
सन् २००० देखि २०१९ सम्म गरिएको जलवायु परिवर्तनको प्रभाव मूल्याङ्कनले नेपाललाई दसौँ अत्यधिक जोखिमको स्थानमा राखेको छ। नेपाल भन्दा बढी जोखिममा रहेका एसियाका अन्य देशहरूमा म्यानमार (दोस्रो), फिलिपिन्स (चौथो), बङ्गलादेश (सातौँ) पाकिस्तान (आठौँ) र थाइल्यान्ड (नवौँ) स्थानमा छन्।
नेपालको हिमाली भागमा रहेका हिमतालको विस्फोटका घटनाहरू सामान्यजस्तै हुने गरेका छन्। सन् १९७७ देखि नेपालले हालसम्म जम्मा २६ वटा हिमताल विस्फोटका घटना व्यहोरिसकेको छ। पछिल्लो हिमताल विस्फोटको घटना सन् २०२४ को अगस्ट १६ मा चामे क्षेत्रको थानबो हिमताल फुटेर भएको बाढीबाट ठुलो क्षति भएको थियो। त्यस्तै, हालै (२०२५ जुलाई ८ का) तिब्बतमा रहेको एक हिमताल विस्फोट हुँदा भोटेकोसी नदीमा ठुलो बाढी आउँदा झन्डै १०० वटा सवारी साधन बगाएको थियो भने अन्य धनजनको समेत क्षति पुगेको थियो।
हिमताल विस्फोटबाट हुनसक्ने क्षति कम गर्ने कार्यका लागि नेपालले हरित जलवायु कोषबाट पाँच अर्ब नेपाली रुपैयाँ बराबरको अनुदान प्राप्त गरेको छ। हिमताल संरक्षणको क्षेत्रमा नेपालले प्राप्त गरेको यो रकम हरित जलवायु कोषले उपलब्ध गराएको पहिलो र सबैभन्दा ठुलो सहयोग हो।
यो सात वर्षे परियोजनामा जोखिम अनुगमन र पूर्व चेतावनी प्रणालीको विस्तार र स्तरोन्नति गर्न निम्नानुसारका चार उच्च जोखिम भएका हिमतालहरू (थुलागी, तल्लो वरुण, लुम्दिङ होङ्गु-२) छनोट गरिएका छन्। यी तालहरूमा पानीको स्तर घटाउने, ताल वरपर र तल्लो तटीय क्षेत्रहरूमा १५० हेक्टरभन्दा बढी भूमिमा रूखहरू रोप्ने, चेक बाँध बनाउने र वनस्पतिमा आधारित ग्याबियन पर्खाल बनाउनेजस्ता सुरक्षात्मक पूर्वाधारहरू तयार गर्ने कामका साथै नदी किनार र बाढीग्रस्त क्षेत्रहरूलाई संरक्षण गर्ने काम समावेश छन्।
चयन गरिएका हिमनदी तालहरूको छोटो विश्लेषण
छनोट गरिएका चार हिमतालहरूको नक्सा डाटा विश्लेषण गर्नको लागि मैक्सार, इस्री र अर्थस्टारले सम्पादन गरेको सन् २००३ मार्च १८ तारिख र सन् २०२१ को नोभेम्बर २८ तारिखमा खिचिएका भिन्न भिन्न सेटेलाइट नक्साहरूलाई जिआइएस प्रो प्रविधि प्रयोग गरेर गरिएको हो।
१. थुलागी हिम ताल :
मर्स्याङ्दी रिभर बेसिनअन्तर्गतको यो हिमताल पुरानै हो। इसिमोड (अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र) को एक अध्ययनले यो हिमताल सन् २००१ र २०११ मा पनि देखिएको थियो। यसमा पहिरो जाने वा हिम पहिरो खस्न सक्ने उच्च सम्भावना रहेको मानिएको छ। ठुलो तालमा जमेको पानीले बाढीको रूप लिँदा मर्स्याङ्दीको तटीय क्षेत्रको बस्ती खतरामा पर्ने देखिएको हो। थुलागी हिमताल, जसलाई स्थानीय रूपमा दोना ताल भनेर पनि चिनिन्छ। भौगोलिक अवस्थितिको हिसाबले ८४.५४२१ पूर्वी देशान्तर र २८.५२९५ उत्तरी अक्षांशमा रहेको छ। यो ताल समुन्द्री सतहबाट ४०५० मिटरको उचाइमा रहेको छ। यो मर्स्याङ्दी नदीको सहायक नदी डोना खोलाको मुहान हो। यो ताल मनासलु पर्वतको दक्षिण पश्चिममा लगभग ४.५ किलोमिटर लामो भग्नावशेषले ढाकिएको थुलागी हिमनदीको फेदमा अवस्थित छ। तालको निकासबाट लगभग १.५ किलोमिटर दायाँपट्टि मोरेनमा ठाडो पहाडी ढलानबाट चट्टानी हिम पहिरोको सम्भावना रहेको छ। माथि उल्लेख गरिएको अध्ययन अनुसार सन् १९८८ मा ०.७२ वर्ग किलोमिटर सतहको क्षेत्रफल रहेको उक्त ताल सन् २०१८ मा आइपुग्दा यसको क्षेत्रफल बढेर ०.९४ वर्ग किलोमिटर पुगेको छ।
थुलागी ताल मनासलु पर्वतको दक्षिण पश्चिममा ४,०४४ मिटरको उचाइमा अवस्थित काठमाडौँबाट १२० किलोमिटर दुरीमा छ। यो ताल मनाङ जिल्लाको नासो गाउँपालिका र गोरखा जिल्लाको चुम गाउँपालिकाको सिमानामा पर्ने मर्स्याङ्दी नदी बेसिनको जल ग्रहण क्षेत्रमा अवस्थित छ। जर्मनीको फेडरल इन्स्टिच्युट फर जियोसाइन्सेस एन्ड नेचुरल रिसोर्सेस र नेपालको जल विज्ञान तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको एक अध्ययनले थुलागी तालको आयतन २००९ मा लगभग ३५.३ मिलियन घन मिटर हुन आएको थियो। जबकि, यसको आयतन सन् १९९५ मा ३१.७५ मिलियन घन मिटर थियो।
यद्यपि, मौसम अनुसार हिमतालको क्षेत्रफल घटबढ हुने गर्दछ। यस लेख तयार पर्ने क्रममा माथि उल्लेख गरिएको स्रोत सामग्री र अनुसन्धान उपकरणको सहायताले गरिएको एक सानो अध्ययनले उक्त तालले सन् २००३ को मार्च १८ मा खिचिएको स्याटलाइट नक्सा अनुसार १८६४.९४ हेक्टर सतह ढाकेको देखिन्छ भने सन् २०२४ को नोभेम्बर २८ तारिखमा खिचिएको नक्साले त्यसको क्षेत्रफल बढेर २०११.७३ हेक्टर सतह ढाकेको देखिन्छ।
२. हिङ्कु हिमताल
हिङ्कु हिमताल नेपालको पूर्व उत्तरमा पर्ने सोलुखुम्बु र सङ्खुवासभा जिल्लामा फैलिएको मकालु वरुण राष्ट्रिय निकुञ्ज क्षेत्र र यसको बफर क्षेत्रभित्र पर्ने एक ताल हो। यो ताल सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिकामा पर्दछ। भौगोलिक अवस्थिति अनुसार यो ताल २७.८५४८०७ उत्तरी अक्षांश र ८६.९६४२९७ पूर्वी देशान्तरमा रहेको छ। यो हिम ताल काठमाडौँबाट १६४ किलोमिटर उत्तर पूर्व दिशामा अवस्थित छ। यस तालको पानी हिन्कु दरंगा हुँदै दुधकोशीमा झर्छ। यो तालको ढलानको कोण दक्षिणपट्टि फर्केको छ। नदी प्रणाली अनुसार यो नदी कोसी नदीको प्रशाखाको रूपमा रहेको छ। यो तालको आकार हेर्दा गोरुको सिङजस्तो देखिन्छ।
सञ्जवलरत्न बज्राचार्य र प्रदीप मूलले सन् २०१७ मा दुधकोशी जलाधार क्षेत्रमा पार्ने हिन्कु दरंगा क्षेत्रमा गरेको एक अध्ययन अनुसार उक्त क्षेत्रमा पर्ने हिमनदीहरू प्रतिवर्ष १०-५९ मिटर प्रतिवर्षका दरले सगरमाथा क्षेत्रका हिमनदीहरू पछाडि हट्छन्। यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
३. लुम्दिङ हिम ताल
दुधकोशी रिभर बेसिनअन्तर्गत पर्ने लुम्दिङ हिमताल पनि छिटो छिटो बढिरहेका कारण उच्च जोखिममा देखिएको छ । यो हिमताल सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ लाम गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १३४ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको ड्याम कमजोर देखिएकाले लुम्दिङ उच्च जोखिमको मानिएको हो ।
लुम्दिङ हिमनदी पछाडि हट्दै गएको कारणले यो तालको विस्तार हुँदै गएको छ। यो तालबारे सन् २०१७ मा एक अध्ययन भएको थियो। उक्त अध्ययन सन् १९६२ देखि सन् २०१३ सम्म गरिएको थियो। उक्त अध्ययनमा सन् १९६२ मा उक्त तालको क्षेत्रफल ०.२ वर्ग किलोमिटर थियो भने त्यो बढेर सन् २०१३ मा ०.७७ वर्ग किलोमिटर पुगेको थियो। साथै सन् १९६२ देखि सन् २००७ सम्म उक्त क्षेत्रका हिमनदीहरू प्रतिवर्ष ३५ मिटरका दरले पछाडि सर्दै गरेको पाइएको थियो।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त तालको तल्लो पुच्छरजस्तो देखिने भाग १.०७३ किलोमिटर अर्थात् प्रतिवर्ष ५३ मिटर पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि ५८३ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा ६१४ हेक्टर देखिन्छ।
यस लेख तयार पार्ने क्रममा माथिको प्रविधि प्रयोग गरेर हेर्दा उक्त ताल पूर्व-पश्चिम लम्बिएको र बिचको भाग माथि उठेको देखिन्छ। यो तालको पूर्वपट्टिको भाग २.५८ किलोमिटर लम्बिएको देखिन्छ। सन् २००३ को नक्सामा यो तालको लम्बाई ३.६२ किलोमिटर थियो भने सन् २०२४ मा यसको लम्बाई ६.२० किलोमिटर देखिन्छ। त्यस्तै, सन् २००३ मा यसको क्षेत्रफल २२० हेक्टर मापन गरियो भने सन् २०२४ को नक्सामा यसको क्षेत्रफल ३१९ हेक्टर मापन गरियो।
४. तल्लो वरुण हिमताल
विभिन्न अनुसन्धानहरूले तल्लो वरुण हिमताल धेरै दृष्टिकोणबाट नेपाली बस्तीलाई क्षति पुर्याउने उच्च जोखिममा देखाएका छन्। यो हिमतालमा पानीको मात्रा निकै छिटो बढिरहेको पाइएको छ । अनुसन्धानले तालको दायाँतर्फ पहिरो जान सक्ने र हिम पहिरो पनि आउन सक्ने सम्भावना देखाएका छन्। यो ताल सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा पर्दछ। काठमाडौँबाट १६७ किलोमिटर उत्तरपूर्वमा पर्ने यो तालको भौगोलिक अवस्थिति ८७.०२०५८ डिग्री पूर्व र २७.८२८५ डिग्री उत्तरमा छ।
तल्लो वरुण हिमताल नेपाल हिमालयमा रहेको मकालु पर्वत नजिकै वरुण उपत्यकामा अवस्थित एक ठुलो, गहिरो र द्रुत गतिमा फैलिरहेको हिमताल हो। तल्लो वरुण हिमनदीबाट निस्कने हिमनदी पग्लने पानीको कारणले गर्दा यो द्रुत वृद्धिको लागि परिचित छ र हिमताल फुट्ने र बाढी आउनका लागि उच्च जोखिम क्षेत्र मानिन्छ। विभिन्न अध्ययनहरूले सन् १९८९ मा यसको क्षेत्रफल ०.६४ वर्ग किलोमिटर मापन गरेका छन् भने सन् २०१८ मा २ वर्ग किलोमिटर मापन गरिएको छ।
उक्त ताल दक्षिण पूर्वतिर पुच्छरजस्तो भएर लम्बिएको देखिन्छ। यो पुच्छरजस्तो देखिने भाग अध्ययन अवधिको (२००३ देखि २०२४ ) अन्तरालमा ३.६३ किलोमिटर लम्बिएको देखिन्छ। अर्थात् प्रतिवर्ष १७२ मिटर हिउँ पछाडि सरेको देखिन्छ। त्यस्तै, सन् २००३ मा यस तालले ढाकेको भूमि १९१८ हेक्टर थियो भने यो क्षेत्र बढेर सन् २०२४ मा २२७६ हेक्टर देखिन्छ।
छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वटा ताल निकै जोखिम अवस्थामा देखिन्छन्। थुलागी हिमतालले नेपालको मर्स्याङ्दी नदीमा पानीको आपूर्ति गर्दछ। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै तीन वटा ठुला जलविद्युत परियोजना (उपल्लो मर्स्याङ्दी, तल्लो मर्स्याङ्दी र मर्स्याङ्दी) छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ। बाँकी तीन वटा तालले दुधकोशी नदीमा पानीको आपूर्ति गर्दछन्। यस नदीको तल्लो तटीय भागहरूमा बाक्लो आबादी हुनाको साथै चार वटा ठुला जलविद्युत परियोजना छन्। यी परियोजनाहरूको संरक्षणका लागि पनि उक्त तालको संरक्षण अपरिहार्य देखिन्छ।