* डा.गोविन्दशरण उपाध्याय
काली दासले आफू बसेको हाँगो काटिरहेका थिए | शुभेच्छुकले आत्मघाती हुन्छ भन्दा कालिदासले तिनको तिरस्कार गरेका थिए | अहिलेको आफूलाई मोडर्न मान्ने समाजको मनोविज्ञान यस्तै दिशातिर अगाडी बढिरहेको छ | जब कुनै चलचित्र वा सिरियलले आफ्नो धर्म, संस्कृति, परम्परा र संस्कारको निन्दा गर्छ, त्यो हिट हुन्छ | अचम्मको कुरा त के भने आफ्नै परिचयको बदख्वाइँ देखेर, सुनेर आँसु बगाउँदै गरेका दर्शकहरू विश्वका सबैभन्दा अनौठा पात्र लाग्छन् | कुनै पनि अमेरिकी नागरिकले अमेरिकाको आलोचना गर्दैन तर इतिहासका विषयहरूलाई इतिहासझैँ लिन्छ तर नेपालका मोडीफाइड नागरिकहरूले इतिहासका कथाहरूलाई वर्तमान ठानेर झूटो प्रायश्चित्तको अभिनय गर्छन् | चिनीयाहरूले आफ्नो मौलिक परिचयसँग नाता जोडेका छन् र इतिहासलाई इतिहासको विषय बनाउँदै छन् |
इतिहास इतिहास नै हो | इतिहास परिवर्तित हुँदैन तर संस्कृति क्षण निकै परिवर्तनशील हुन्छ | संस्कृति परिवर्तन हुनुको अर्थ मान्छेको रहनसहन, मान्यता, भेष भूषा तथा मान्यताहरूमा परि परिवर्तन आउँछन् | नेपाली समाज पनि यसबाट अछुतो छैन | परिवर्तनका नाममा जम्मै विदेशको सिको गर्नेहरू होस् वा संस्कृतिको नाममा जडता अङ्गीकार गर्ने होस् – दुवै संस्कृतिका दृष्टिकोणले जडवादी हुन् | नेपाली समाजमा दुबै खाले प्रवृत्ति छन् – मोडर्न जडवादीहरू पछुतोको नक्कली आँसु बगाएर, आफ्नै इतिहास, धर्म, संस्कृति, परम्परा र छिमेकीलाई गालीगलौज गरेर, प्रतिमानहरूको अपमान गरेर रमाउँछन् भने अर्काधरि विगतवादको भुमरीलाई नै संसार भनेर घुम्न चाहन्छन् | नेपालको मोडर्नवाद रक्सीको भक्ति र इतिहासलाई शाप गरेर रमाउने प्रकृतिको भएको छ | मिडियाले यस्तैलाई चर्चामा राखेर जीवित रहन चाहन्छ अर्थात् आफ्नो हत्या गरेर जीवन चाहन्छ |
खराब विचार र चरित्रको आलोचना गरिनुपर्छ, त्यागिनु पर्छ | असल विषयको सधैँ प्रशंसा तथा स्वीकार हुनुपर्छ | असल तथ्य र व्यवहारहरू जहाँका भए पनि ग्रहण गर्नुपर्छ तर खराब छोड्नुपर्छ | उपनिषद्हरू लेख्छन् “सत्य अप्रिय छ भने बोल्नु उचित हुँदैन | नेपाली समाजमा सबै थोक असल छन् भन्ने होइन | केही व्यक्ति र समुदायले नेपाली धर्म, संस्कृति, इतिहास तथा गौरवलाई हास्यको बस्तु, अन्यायको प्रतिमान तथा अत्याचारको निरन्तरता पस्केर आँसु खसाल्ने र आफ्नै बदनामी गरेर पैसा बटुल्ने रोग लागेको छ | अनि, अर्कोतिर आफ्नो एकलकाँटे अभिमत नेपाली समाजमा पस्किने “उपर्युक्त अवसर ठानेर देश-विदेशका “घृणावादी”हरूले उचाल्छन् | नेपालको मौलिक प्रतिमान गिर्दा उनीहरूको उत्थान हुन्छ | सायद, धेरै नेपालीहरूले यो कुरा बुझ्न धेरै समय लाग्ने छ | त्यस बेलासम्म घृणावादीले नेपाली सभ्यता र संस्कृतिलाई धेरै क्षति गरिसकेका हुने छन् |
आफ्नो मौलिक धर्म, संस्कृति, गौरव तथा मौलिकतामा एकलकाँटे घृणावादीहरूले प्रहार गर्दा खुसी हुने र आफ्नो इतिहाससँग घृणा गर्ने नेपाली मानसिकता सबैभन्दा आत्मघाती मनोविज्ञान हो | पैसा कमाउनु पर्छ, मनोरञ्जन गर्नुपर्छ, समताका लागि सङ्घर्ष गर्नुपर्छ तर आफ्नै मौलिक प्रतिमानहरूलाई कठघरामा उभ्याएर बदनाम गरेको देख्ने, सुन्ने र सहानुभूति प्रकट गर्दै आँसु बगाउने पुस्ताहरूको कुनै भविष्य छैन | यस्तो मोडर्न-चिन्तनले देश वा सम्बन्धित व्यक्तिको कल्याण नगरेर इतिहासका पानालाई वर्तमानमा देखाएर सामाजिक बदनाम गर्नेहरूले पैसा कमाउने बाहेक नेपालको मौलिक सत्ताले निकै क्षति बेह्रनुपर्छ | सत्य लेख्न र बोल्न डराउनु पर्दैन |
जसले आफ्नो आफ्नो परिचयसँग घृणा गरेर रमाउँछ, त्यसले अर्काको कल्याण गर्ने छ भनेर सोच्नु वा सपना देख्नु सबैभन्दा ठुलो मूर्खता हो | चाइना, भारत, रुस र अमेरिका सबैले यस्तो मूर्खतापूर्ण निर्णय सच्याइरहेका छन् तर नेपालका मोडर्नहरू ती मूर्खतापूर्णहरूलाई आदर्श मानेर स्वागत गरिरहेका छौँ | यो आलेखका अक्षरहरूले धेरैको मन पोल्नेछ, पोलोस् | मैले इतिहासको जिम्मा लिन सक्दिन न अरूले थोपरेको इतिहासलाई स्वीकार गर्दै नाच्न सक्छु | आफ्नो अवमुल्यांकन हुँदा आँसु बगाएर समर्थन गर्ने मनोविज्ञानसँग सहमत हुन सक्दिन | आत्मघाती मोडर्नवादको आगोमा आफ्नो परिचयलाई जलाउन सक्दिन | कमसल कुरालाई छोड्न वैदिक संस्कृति र समाज जत्तिको गतिशील अरू कुनै समाज छ भने देखाउन चुनौती छ |