काठमाडौँ । विभिन्न वामपन्थी सङ्गठनहरूको साझा सांस्कृतिक मोर्चा, प्रगतिशील लेखक सङ्घको राष्ट्रिय सम्मेलन चैत्र २३ र २४ गते काठमाडौँमा हुने भएको छ । सङ्घका महासचिव डा.देवी दुलालले जारी गरेको विज्ञप्ति अनुसार सम्मेलन तयारीका सन्दर्भमा विभिन्न गतिविधिहरू तीव्र रूपमा अगाडि बढिरहेको छ ।
देशभरिका ६८ जिल्लाहरूमा सङ्गठन रहेको सङ्घको पालिका तथा जिल्ला अधिवेशन माघ मसान्तसम्म तथा प्रदेश अधिवेशन फागुन मसान्तसम्म गरिसक्ने पनि जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सम्मेलन तयारीका सन्दर्भमा व्यापक रूपमा सदस्ययता अभियान तथा सङ्गठन सुदृढीकरणलाई व्यापकता दिइएको जानकारी हुन आएको छ ।
सम्मेलनकै अवसर पारेर सङ्घले रु.२५,१०० को प्रलेस कृति पुरस्कार तथा रु.१०,१०० को साहित्यिक पत्रकारिता पुरस्कार पनि प्रदान गरिने जानकारी गराइएको छ ।
स्मरण रहोस्, नेपालको कम्युनिस्ट आन्दोलनमा विभिन्न प्रकारको टुटफुट भए पनि वि.सं.२००९ सालमा स्थापना भएको प्रलेस, एउटा उदाहरण प्रस्तुत गर्दै एउटा साझा मोर्चाको रूपमा क्रियाशील हुँदै आएको छ । वामपन्थी पार्टीका भातृ सङ्गठनहरूमा नेतृत्व चयन हुँदा कुर्सी फोडाफोडको स्थिति भए पनि सङ्घले सहमतीय प्रक्रियाका आधारमा नेतृत्व चयन गर्दै आउनु पनि अर्को महत्त्वपूर्ण उदाहरणको रूपमा लिन सकिन्छ । यद्यपि सामन्तवाद तथा साम्राज्यवादी हस्तक्षेपका विरुद्ध अझ प्रभावशाली रूपले अगाडि बढ्नु पर्ने देखिन्छ ।