काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको ७३औँ स्थापना दिवसको सन्दर्भमा विभिन्न प्रगतिशील सृष्टाहरु सम्मानित हुने भएका छन् । आश्विन ५ गते, पद्म कन्या क्याम्पसको सभा हल डेनिस हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री तथा लेखक झलनाथ खनालबाट उनीहरू सम्मानित हुने भएका हुन् ।
आफ्नो स्थापना दिवसको अवसर पारेर सङ्घले विभिन्न चार विधामा स्रष्टाहरुहलाई सम्मान तथा पुरस्कार अर्पण गर्ने भएको छ । यसरी सम्मानित हुनेहरूमा प्रलेस श्याम प्रसाद स्मृति पुरस्कारबाट झापाका साहित्यकार पुण्य खरेल, प्रलेस प्रतिभा पुरस्कारबाट धनकुटाकी लेखक तथा साहित्यकार झमक कुमारी घिमिरे, प्रलेस बाल-साहित्य पुरस्कारबाट ललितपुरकी नानीमैया अधिकारी तथा प्रलेस युवा पुरस्कारबाट रुकुम पश्चिमकी समष्टि बुढा रहेको सङ्घका महासचिव डा.देवी दुलालले ज्ञानघरलाई बताए । चार वटा विधाको पुरस्कार राशि क्रमशः पच्चीस हजार एक सय, बिस हजार एक सय, दस हजार एक सय र दस हजार एक सय रहेको छ ।
वि.सं.२००९ मा स्थापना भएको प्रलेस सामन्तवाद तथा साम्राज्यवादका विरुद्ध निरन्तर रूपमा सङ्घर्ष गर्दै लेखक तथा साहित्यकारहरूको सांस्कृतिक मोर्चा हो । यही वर्ष चैत्रको अन्तिममा आफ्नो राष्ट्रिय सम्मेलन गर्न गइरहेको सङ्घ, जिल्ला तथा प्रदेश सम्मेलनका साथ अगाडि बढिरहेको अध्यक्ष डा.मधुसूदन गिरीले बताए ।