काठमाडौँ । पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोले नयाँ पार्टी घोषणा गरेका छन् । मङ्गलवार काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै महतोले आफ्नै नेतृत्वमा ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक पार्टी घोषणा गरेका हुन् ।
पार्टी घोषणा गर्दै महतोले देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, संवृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मदेसका जनता अब सँगै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको बताएका छन् ।
नयाँ पार्टी घोषणा गरेका महतोले तत्कालै पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइने पनि जानकारी दिएका छन् । महतोले घोषणा गरेको नयाँ पार्टीलाई सामाजिक अभियन्ता सुमन सामयीले पनि साथ दिएका छन् । गत आम निर्वाचनमा काठमाडौँ ८ बाट स्वतन्त्र उम्मेदवार बनेका सामयी दोस्रो भएका थिए । त्यसयता उनी महतो नेतृत्वको अभियानमा सक्रिय बनेका थिए ।
पार्टी घोषणा गर्दै महतोले भनेका छन्- ‘देशको विद्यमान सबै प्रकारका विभेद, असमानता, शोषण, दमन, उत्पीडन, अन्याय, अत्याचार, भ्रष्टाचार, कुसंस्कार संस्कृतिबाट देशलाई मुक्ति दिलाई देशका सबै पहिचान, वर्ग, समुदाय,धर्म, जात—जाति,क्षेत्र,लिङ्गका जनतालाई अधिकार, पहिचान, स्वाभिमान, स्वशासन, सुशासन, संवृद्धि, सामाजिक न्याय तथा सभ्यता र संस्कृतिको रक्षाको निमित्त हिमाल, पहाड, तराई मदेसका जनता अब सँगै मिली एकताबद्ध भई राष्ट्रिय मुक्ति क्रान्ति गर्नु अपरिहार्य भएको छ ।’
महतोले चलाउँदै आएको अभियानलाई पार्टीको रूपमा रूपान्तरण गर्ने गरी राष्ट्रिय मुक्ति क्रान्तिको मिति २०८१ असोज १ गते बसेको राष्ट्रिय समितिको बैठकले राजेन्द्र महतोको अध्यक्षतामा “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल” नामक राजनीतिक दल गठन गर्ने निर्णय गरेको छ ।
बैठकले सोको जानकारी निर्वाचन आयोगलाई दिने र कानुनी सबै प्रक्रिया पूरा गरी विधिवत् रूपमा निर्वाचन आयोगमा दल दर्ता सम्बन्धी सबै कागजातमा हस्ताक्षर गर्ने तथा दल दर्ता गराउन सबै अधिकार राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतोलाई दिने निर्णय गरेको छ ।