काठमाडौँ । निरन्तरको बर्सातका कारण काठमाडौँ उपत्यकामा रहेका नदी तथा खोलामा पानीको बहाव बढेका कारण केही स्थानको आवागमनमा प्रभाव परेको छ । बल्खुस्थित तरकारी बजार जाने बाटो र पार्किङ क्षेत्रमा खोलाको पानी पसेका कारण आवागमन रोकिएको छ ।
यस्तै कुपण्डोल पुल मुनीको कोरिडोर, टंकेश्वर र टेकु क्षेत्रमा रहेका कोरिडोरमा पनि खोलाको पानी सडकमै आएका कारण सवारी आवागमन प्रभावित भएको छ ।
शंखमूल, युएन पुल, रोजबर्ड स्कुल नजिक, सानेपा कालो पुलको तल्लो बाटो र च्यासल क्षेत्रमा रहेका कोरिडोरमा पनि विष्णुमती नदीको बहाव बढेर पानी सडकमै आएका कारण सवारी आवात जावतमा आंशिक प्रभाव परेको छ ।
यस्तै धापाखेल स्थित सुमेरु अस्पताल नजिकै पनि वर्षातको पानी जमेका कारण सवारी आवागमनमा आंशिक प्रभाव परेको छ ।
काठमाडौँ उपत्यकाका विभिन्न कोरिडोर हुँदै यात्रा गर्दा सचेत भएर यात्रा गर्न सडक प्रयोगकर्तालाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।
यस्तै वर्षातले भिजेको सडकमा चिप्लिएर सवारी दुर्घटना हुनसक्ने सम्भावना रहेकाले संयमित भएर सीमित गतिमा सवारी साधन गुडाउन चालकलाई ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।