health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

धनगढी । सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दो रहेको जनगुनासो जताततै सुनिन्छ। सामुदायिक विद्यालयका शिक्षक राजनीतिक क्रियाकलापमा बढी सक्रिय हुने, नियमित विद्यालयमा उपस्थित नहुने, विद्यार्थीलाई पर्याप्त ज्ञान प्रदान गर्न अल्छी गर्ने आरोप खेप्दै आएका छन्।
तर, कैलालीको धनगढी उपमहानगरपालिका- १२ जुगेडामा रहेको श्री दुर्गा आधारभूत विद्यालय भने शैक्षिक गुणस्तर अभिवृद्धिमा फड्को मार्दै गइरहेको छ। विद्यालयका प्र अ मोहन भण्डारी विद्यार्थीलाई कसरी गुणस्तरीय शिक्षा प्रदान गर्ने भन्नेमा तल्लीन देखिन्छन्।
भण्डारीको सक्रियतामा शैक्षिक गुणस्तर अभिवृद्धि मात्र भएको छैन, विद्यार्थी सङ्ख्या पनि बढ्दै गइरहेको छ। विद्यालयमा वालविकासदेखि ८ कक्षासम्म पठनपाठन हुन्छ। वालविकासदेखि १ कक्षासम्म अङ्ग्रेजी माध्यम र २ देखि ८ कक्षासम्म नेपाली माध्यममा पठनपाठन भइरहेको भण्डारीले बताए।
भण्डारी २०७७ सालमा विद्यालयको प्राचार्यमा नियुक्त भएका हुन्। उक्त समयमा विद्यालयमा भौतिक पूर्वाधारको कमी हुनुका साथै विद्यार्थी सङ्ख्या न्यून थियो। यी दुवै कुराले भण्डारीलाई पोलिरहेको थियो। उनी भौतिक संरचना र विद्यार्थी सङ्ख्या कसरी बढाउन सकिन्छ भन्नेमा चिन्तित थिए।
प्र अ भएको चार वर्षमा उनले विद्यार्थी सङ्ख्या दोब्बर पारेको बताए। ‘म प्राचार्य भएर आइसकेपछि यो चार वर्षमा विद्यार्थी सङ्ख्या दोब्बर पारेका छौँ। अङ्ग्रेजी माध्यमबाट पठनपाठनको व्यवस्था गरेका छौँ। यसलाई माथिल्ला कक्षामा बढाउँदै लैजाने योजना छ,’ भण्डारीले भने।
अहिले विद्यालयमा भौतिक संरचना पनि पर्याप्त रहेको उनले बताए। ‘पहिले विद्यार्थीलाई कहाँ राख्ने समस्या खेप्दै आएका थियौँ। अहिले ८ कोठे र ४ कोठे दुई नयाँ पक्की भवन बनेका छन्। दिवा खाजाका लागि छुट्टै भान्सा, वाल उद्यान, सरस्वतीको मन्दिर र सवारी पार्किङ स्थल छ। स्कुलको वरिपरि पर्खाल निर्माण गरिएको छ। यसरी हेर्दा हामी पूर्ण व्यवस्थित बन्दै गएका छौँ,’ उनले भने।
अहिले आफ्नो विद्यालयमा शैक्षिक जनशक्तिको अभाव हुन नदिनका लागि तीन जना निजी स्रोतबाट राखेर भए पनि विद्यार्थीहरूको पठन पाठनमा बाधा नपुग्ने गरी शिक्षा प्रदानको काम भइरहेको उनले बताए।
‘तीन जना निजी स्रोतसहित हामी १३ जना शिक्षकले १२ ओटा कक्षालाई अध्यापन गराइरहेका छौँ। अङ्ग्रेजी माध्यमबाट पठन पाठनको व्यवस्था गर्दा विद्यालयमा विद्यार्थी आकर्षण बढ्दो छ। हामीले सबै शिक्षकलाई सक्रिय पारेका छौँ। अङ्ग्रेजी माध्यमको पठन पाठन सुरु गर्नका लागि शिक्षकलाई आवश्यक तालिम प्रदान गरेका थियौँ। बेला बखतमा शिक्षकका लागि विभिन्न खाले तालिमको व्यवस्थापन र पहल गरिरहेको हुन्छु,’ उनले भने।
सामुदायिक विद्यालयमा राजनीति बढी हुने र शिक्षकले अध्यापनमा ध्यान नदिने कुरा उठ्ने गरेको प्रति भने भण्डारी सन्तुष्ट देखिन्नन्। समुदायबाट नै विद्यालय व्यवस्थापन समिति हुने र स्थानीय जनप्रतिनिधिले नियमित निगरानी गर्ने भएकाले पनि शिक्षकले लापरबाही गर्न नपाउने र नसक्ने उनको भनाइ छ। अन्य विद्यालयको बारेमा धेरै कुरा जानकारी नभए पनि आफ्नो विद्यालयमा राजनीति र अन्य कुनै बहानाको छायासम्म पर्न नदिएको उनको दाबी छ।
‘विद्यालय र शिक्षकलाई विभिन्न आरोप लगाउनुभन्दा सरकारले समय सापेक्ष पाठ्यक्रम परिमार्जन गर्नुपर्छ। आवश्यक सामग्री उपलब्ध गराउनु का साथै अभिभावक शिक्षा कार्यक्रम गर्नुपर्छ। हामी कुनै कुरामा कम छैनौँ। स्कुलसँग पर्याप्त स्रोत हुँदैन। सरकारबाट आवश्यक सामग्री र तालिम प्राप्त हुँदैन,’ उनले भने, ‘सामुदायिक विद्यालयमा शिक्षकले तलब बाहेक कुनै सुविधा पाउँदैनन्। ५० वर्ष पहिले दिने गरेको मासिक प्र अ भत्ता प्रावि २००, निमावि ३००, र मावि ५०० अहिले २०८१ सालसम्म उही नै छ। त्यस्तै २०२८ सालको शिक्षा ऐनबाट नै शिक्षा चलिरहेको छ। मासिक रूपमा सरकारले तलब भत्ता दिन सकेको छैन। यस्ता हामीले थुप्रै समस्या खेप्दै आएका छौँ।’
उनले हाल कक्षा कोठामा विद्यार्थीका लागि आवश्यक पार्ने शैक्षिक सामग्री निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताए। वार्षिक क्यालेन्डर बनाएर नै पठन पाठन र अतिरिक्त क्रियाकलाप थालिएको उनको भनाइ छ। ‘विद्यार्थीहरूलाई अतिरिक्त क्रियाकलाप, शिक्षकहरूलाई विभिन्न तालिम, सरसफाइ, समूह विभाजन गरेर विभिन्न क्रियाकलापमा विद्यार्थीको सहभागितालगायत काम गरिरहेका छौँ,’ उनले भने।
यस पटक ८ कक्षाको नतिजा पनि ५२ प्रतिशत दिन सफल भएको उनले बताए। त्यसलाई बढाउँदै लगेर शतप्रतिशत नतिजाको लक्ष्यमा आफूहरू रहेको उनले बताए। ‘त्यसका लागि हामीले अहिलेदेखि नै अतिरिक्त कक्षा प्रदान गरिरहेका छौँ। बिदाको समयमा पनि थप कक्षा सञ्चालनको योजना बनाएका छौँ। त्यसका लागि विद्यार्थी, अभिभावक र शिक्षकसँग सहयोगका लागि अनुरोध गरेका छौँ,’ उनले भने।
राज्यले समय सापेक्ष र गुणस्तरमुखी कार्यक्रम ल्याएर सहयोग गरेमा आफूहरू जस्तो सुकै शिक्षा प्रदान गर्न पनि तयार रहेको उनले बताए।