health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

विराटनगर- धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन्।
उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्।
नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन्।
गाउँका सोझासाझा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरी चेली बेच्ने सिलसिलामा आएका हुन्/हैनन् भन्ने शङ्काको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्।
ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन्। एजेन्टको कुरामा मक्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन्।
भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता भएपछि आफन्त प्रहरीको सम्पर्कमा पुग्छन्। प्रहरीले गाउँमा कोही नयाँ मानिस आएको हो/हैन र तिनीहरूको हुलियाबारे सोध्छन्।
हुलिया तथा सङ्केतहरू प्राप्त गरेपछि प्रहरी परिचालन भएका हुन्छन्। यसबिचमा एजेन्टले कारमा राखेर युवतीलाई जोगबनीतिर हिँडाउने चाँजो मिलाइसकेका हुन्छन्। तर, युवतीलाई उनीहरूले वैदेशिक रोजगारीमा लैजाने कानुनी बाटो अपनाइरहेका हुँदैनन्।
‘काठमाडौँ देखेका छौँ बहिनीहरूले?,’ एजेन्टले सोधे।
युवती भन्छन्, ‘छैन नि!’
‘उसो भए जाने त?,’ एजेन्टले सोधे।
‘जाने नि!,’ किशोरीले स्वीकृति दिन्छन्।
यसपछि एजेन्टले भने, ‘रेल चढेका छौ? चढ्ने हो?’
किशोरीले ‘चढ्ने’ भनेपछि उनीहरूले जोगबनीतिर हिँडाउँछन्। जोगबनीबाट वीरगन्जको रेल चढ्दै त्यहाँबाट काठमाडौँ जाने बताउँछन्।
एजेन्टसँग कुरामा लट्ठिएर सोझा किशोरीलाई घुमाउरो र पहाडी बाटोमा चक्कर लाग्छ।
बाटोमा चक्कर लागेपछि युवतीलाई एजेन्टले औषधी भन्दै बेहोस पार्ने ट्याब्लेट खुवाइदिन्छन्।
युवतीहरू बेहोस भएपछि ती दुई एजेन्टलाई बोर्डर पुर्याउन झन् सजिलो हुन्छ।
यसरी एजेन्टले उनीहरूलाई जोगबनी पुर्याउँदै गर्दा भारतमा रहेका चेलीबेटी बेचबिखनका नाइकेसँग संवाद गर्छन्। दुई युवती ल्याइरहेको सूचना दिन्छन्।
दुई युवती हराएको सूचना पाएको प्रहरीको टोली जोगबनी परिचालन भएर ती किशोरीको खोजीमा व्यापक सर्च गरिरहेको हुन्छ।
जोगबनी नाका पुगेपछि एजेन्ट समातिन्छन्। किशोरीलाई एजेन्टले भनेका कुराबारे प्रहरीले सोधी खोजी गर्दा उनीहरूले बेचिन लागेको सुइँको बल्ल पाउँछन्। सबै कुरा बताएपछि एजेन्ट प्रहरी खोरमा पुग्छन्।
वास्तवमा यो कथा चेलीबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक भिडिओ हो। र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ।
कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम गर्दै १५ मिनेट लामो यो सचेतनामूलक भिडिओ सार्वजनिक गरेको छ।
‘वास्तवमै हाम्रो गाउँ-घरमा गरिबी, बेरोजगार सोझासिदा दिदीबहिनीहरूलाई एजेन्टले कसरी फसाएर बेचबिखनसम्म पुर्याउँछन् भन्ने सन्देश दिन यो भिडिओ तयार पारिएको हो,’ कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्र कुबेर खापुङले भने।
उनका अनुसार ‘महिला हिंसा तथा मानव बेचबिखनविरुद्ध जनचेतनामूलक भिडिओ’ ‘सचेतना’ कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो। उक्त भिडिओ सामाजिक विकास मन्त्री पाँच कर्ण राईले सार्वजनिक गरेका थिए।
कार्यक्रमका मुख्य अतिथि रहेका उनले मानव बेचबिखन सचेतनाको कार्यक्रम सार्वजनिक गर्दा चेलीबेटी र आफन्तले भोगिरहेको पीडा उजागर भएको तथा त्यसको रोकथामका लागि भूमिका खेल्ने बताए।
‘यो भिडिओले नेपाली समाजको सचित्र बिम्ब र वास्तविक चित्र उजागर गरेको छ,’ उनले भने, ‘चेलीबेटी बेचबिखनमा सक्रियता साथ लागेर सचेतना फैलाउने कार्य गरेकोमा प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद।’
कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खापुङले प्रहरीले केही न केही सामाजिक हितका लागि र विकृतिको विरुद्धमा कार्यक्रम ल्याइरहने भन्दै ‘सचेतना’ भिडिओ त्यसमध्येको एउटा रहेको बताए।
उनले यस्तो भिडिओले गाउँ-गाउँसम्म पुर्याएर चेलीबेटीहरू र आफन्तलाई सचेत गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए।
खापुङले यो भिडिओ नेपाल प्रहरीको प्रदेशस्थित फेसबुक पेज, युट्युबलगायत च्यानलबाट व्यापक बनाइने बताए। ‘गाउँमा कोही अपरिचित व्यक्ति आएर डुलिरहेका छन् भने उनीहरूको गतिविधि हामीले बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतै अपराध त हुन गइरहेको छैन भनेर हामी बेलैमा सचेत भयौँ भने घटना न्यूनीकरणमा सहयोग पुग्छ।’