काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको पहिलो बैठक आज सुरु भएको छ ।
समितिको पहिलो बैठक आज सभामुखको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शङ्कर हलमा सुरु भएको हो ।
सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले संसदीय छानबिनको माग गर्दै संसद् अवरोध गरेपछि यही जेठ १५ गते एमालेका सांसद सूर्य थापाको संयोजकत्वमा संसदीय छानबिन समिति गठन भएको थियो ।
७ सदस्यीय समितिमा एमालेबाट सरिता भुसाल, काङ्ग्रेसबाट सांसदहरू ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, माओवादीबाट लेखनाथ दाहाल, रास्वपबाट शिशिर खनाल र राप्रपाबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् ।
समितिलाई तीन महिनाको समय दिएर ४ बुँदे कार्यादेश दिइएको छ ।