चितवन । रामहरि श्रेष्ठको हत्या प्रकरणमा पक्राउ परेका माओवादी नेता कालीबहादुर खाम पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
चितवन जिल्ला अदालतमा बिहीबार र शुक्रवार भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दयाराम ढकालले खामलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएका हुन् । खामले अदालतमा घटनामा आफ्नो संलग्नता अस्वीकार गरेका छन् ।
व्यापारी श्रेष्ठको २०६५ सालको वैशाखमा चितवन शक्तिखोरमा रहेको माओवादी लडाकुको अस्थायी शिविरको तेस्रो डिभिजनमा हत्या भएको थियो ।
शिविरभित्रै श्रेष्ठको कुटपिटबाट हत्या भएको पुष्टि भएपछि श्रेष्ठकी श्रीमती रमिलाले खामसहित अर्का कमान्डर गोविन्दबहादुर बटला, केशव अधिकारी र गङ्गाबहादुर थापा लगायत विरुद्ध जाहेरी दिएकी थिइन् । यो मुद्दामा बटला आफैँ प्रहरीमा उपस्थित भएर ६८ सालमा तीन बर्सको कैद सजाय पाए पनि अरू कोही पक्राउ परेका थिएनन् । खामलाई गत मङ्गलवार प्रहरीले काठमाडौँको ठमेलमा पक्राउ परेका थिए ।