health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

उर्लाबारी, २५ फागुन । मिना बरालका ५६ जना सन्तान छन् भन्दा कसैलाई पत्यार लाग्दैन यद्यपि यो सत्य हो । आफैले त्यति धेरै सन्तानलाई जन्म नदिए पनि मिना सडकमा भेटिएका बालबालिकालाई कर्म दिने आमाको भूमिका निर्वाह गरिरहेकी छिन् ।
२०५७ सालमा महिला विकास तथा बालबालिका चेतना केन्द्रद्वारा असहाय, वृद्ध एवं अनाथ आश्रम नामक गैरसरकारी संस्था दर्ता गरेर काम थाल्दा मिनाले ‘कमाई खाने’ भाँडो बनाई भन्दै कतिपयले कुरा काट्दा उनलाई राम्रो काममा साथ नपाइने हो कि भन्ने चिन्ताले सताएको थियो ।
मिनाले उर्लाबारी–७ मा बालगृह सञ्चालन गरेको २३ वर्ष भइसकेको छ । २०२२ सालमा १० वर्षकै उमेरमा मोरङबाट विवाह गरेर ताप्लेजुङ पुगेकी मिनाको वैवाहिक जीवन सफल भएन ।
उनले नयाँ घरमा लामो समय सङ्घर्ष गरिन् ।
श्रीमानले अर्की श्रीमती ल्याएपछि उनी त्यो घर छाडेर समाजसेवामा लाग्ने निर्णयमा पुगिन् । आफूले सानैमा भोगेको जस्तो पीडा अनाथ बालबालिकाहरूले भोग्नु नपरोस् भनेर उनले मोरङको उर्लाबारीमा २०५७ सालमा असहाय, वृद्ध एवं अनाथ आश्रम खोलेकी हुन् । उनको यो अभियानमा अन्य महिलाहरूले पनि साथ दिए ।
मिनाकै योजनामा सञ्चालनमा ल्याइएको नमुना कोसी प्रदेशकै उत्कृष्ट बालगृहका रूपमा परिचित छ । मिनाले गृहमै बसेर ५६ जना बालबालिकाको संरक्षण गरेकी छिन् । मिनालाई ती बालबालिकाले ‘ममी’ भनेर सम्बोधन गर्छन् । मिना काखे शिशुदेखि उच्च मावि तहसम्म पढ्ने बालबालिकाकी आमा हुन् ।
बराल भन्छिन्–‘सुरुमा विरोध गर्नेहरू पनि अहिले मलाई सहयोग गरिरहेका छन् ।’
वैवाहिक जीवन असफल भएपछि थुप्रै सन्तानकी आमा बन्ने चाहना राखेकी मिना अहिले उदाहरणीय महिलामा गनिएकी छिन् । सुरुमा उर्लाबारी–६ स्थित राधिका माविले आश्रमका लागि चार कट्ठा जग्गा उपलब्ध गराएको थियो भने स्थानीय समाजसेवी सर्वलाल धिमालले पनि २ कट्ठा जग्गा प्रदान गरेका थिए ।
त्यसै गरी पूर्व मेजर हर्कबहादुर राई, हेमराज न्यौपाने, कालीमाया श्रेष्ठ, शोभित निरौला, अनन्त बराल, खड्गकुमारी ढुङ्गानालगायतले १४ कट्ठा जग्गा दिए । हाल यो बालगृहमा १ बिघा क्षेत्रफलमा फैलिएको छ । बालगृहमा २० कोठाको दुई तले भवन र अर्को ९ कोठाको दुई तले भवन, ४ कोठाको पक्की दुई तले भवन, २ कोठाको व्यवस्थित भान्सा घर, जस्ताको छानो भएको पक्की गाई गोठ छ भने तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पहलमा भारतीय दूतावासले एम्बुलेन्स प्रदान गरेको थियो । उक्त एम्बुलेन्स बिग्रिएर थन्किएको छ ।
२०५८ सालमा आश्रम सञ्चालक समितिले श्रीमद्भागवत पुराणको आयोजना गरी एक कोठाको भौतिक संरचना निर्माण गरिएको थियो । त्यसपछि सहयोगी ९ परिवारले एक–एक वटा कोठा बनाइदिए । त्यसै गरी उर्लाबारी–४ का खगेन्द्र राई र श्याम राईको सक्रियतामा ८ जनाको संयुक्त लगानीमा दुई कोठे भवन निर्माण गरिएको थियो ।
२०५९ सालमा आश्रमको भवन निर्माण पूरा नहुँदै मिनाले ७ जना असहाय बालबालिका तथा दुई जना वृद्ध वृद्धालाई आफ्नै घरमा राखेर पालनपोषण गर्न थालेकी थिइन् । भवन निर्माण सम्पन्न भएसँगै आश्रममा बालबालिका एवं वृद्ध वृद्धाहरूलाई राख्न थालियो ।
त्यसपछि असहाय बालबालिका एवं वृद्ध वृद्धा थपिन थाले । हाल मेचीदेखि महाकालीसम्मका ५६ जना बालबालिका बालगृहमा छन् । मिनाले थालेको यो अभियानमा स्थानीय महिला नेतृहरू भागीरथा अधिकारी, सीतादेवी निरौला, अतिहीरा राई, हीरादेवी राई, चन्द्रकला गौतम, सुशीला थापा, कविता थापा, देवका खनाल, मिनादेवी कार्की, लक्ष्मीदेवी सुब्बा तथा रामप्यारी तामाङले सुरुवाती चरणमा साथ दिएका थिए ।
महिलाहरूले मात्र सुरुवात गरेको आश्रमबाट वृद्ध वृद्धाहरूको उचित व्यवस्थापनसँगै नमुना बालगृहको अवधारणामा कार्य सञ्चालन गरियो । महिलाहरूको अगुवाइमा थालिएको यो सामाजिक अभियानमा २०६५ सालदेखि पुरुषहरू पनि सहभागी हुँदै आएका छन् । यो बालगृहको सञ्चालक समितिमा महिलाको ६० प्रतिशत तथा पुरुषको ४० प्रतिशत प्रतिनिधित्व छ ।
बालगृहको अध्यक्षमा स्वयं मिना छिन् भने उपाध्यक्षमा भागीरथा अधिकारी छिन् । यही गृहकी एक बालिकाको नामबाट यो आश्रमको नाम नमुना बालगृह राखिएको हो । बालगृह सञ्चालन गर्न वार्षिक २४ लाख भन्दा बढी खर्च हुन्छ । खानपान, स्वास्थ्योपचार, शिक्षा, शैक्षिक सामग्री, लत्ताकपडा आदिमा मासिक २ लाख भन्दा बढी खर्च हुन्छ । यहाँको खर्च सहयोगी, दाता तथा ऋणकै भरमा चलिरहेको छ ।
संस्थापक अध्यक्ष मिनाले गृहलाई आफ्नो सम्पत्ति बिक्री गरेर प्राप्त भएको ७० लाख रुपैयाँ प्रदान गरेकी छिन् । अध्यक्ष मिनाले प्रदान गरेको र गृहको अक्षयकोषमा रहेको रकमले उर्लाबारी–७ को वैशाबारीमा १ बिघा ५ कट्ठा जग्गा खरिद गरिएको छ । उक्त जग्गामा नमुना कृषि फार्म सञ्चालन भइरहेको छ । बालगृहमा रहेका बालबालिका निजी, सरकारी विद्यालयमा अध्ययन गरिरहेका छन् ।