काठमाडौँ, २० फागुन । चितवनको छात्रावासमा झुन्डिएको अवस्थामा फेला परेकी १४ बर्सिया शालीन पोखरेलको बलात्कार नभएको अनुसन्धानले देखाएको छ। पोखरेलको शवको पोस्टमार्टम र मृत शरीरको फरेन्सिक जाँच परीक्षण काठमाडौँको टिचिङ अस्पताल गरिएको थियो। अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार जाँचमा उनको बलात्कार नभएको पाइएको हो।
गत शनिवार बिहान रत्न नगर नगरपालिका-१२ माधवपुर मामाघरमा बसी एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा बस्ने शालीन मृत फेला परेकी थिइन्। बालिका होस्टेलको कोठामा रहेको सिलिङको पङ्खामा डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
उनको मृत्युपछि मृतकका आफन्तले बलात्कारपछि हत्या भएको दाबी गर्दै आएका छन्। आफन्तले ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिएपछि उक्त जाहेरीपछि प्रहरीले विद्यालयका प्रधानाध्यापक ६० वर्षीय बालहरि देवकोटा, सह प्रधानाध्यापक ४० वर्षका किरणबहादुर अधिकारी र होस्टेल वार्डेन ४८ वर्षीय कमल शर्मा पौडेललाई मङ्गलवार पक्राउ गरेको थियो।
चितवन जिल्ला अदालतको आदेश अनुसार अनुसन्धानको लागि उनीहरूलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। अहिले सामाजिक सञ्जालमा शालीनको मृत्यु प्रकरणले तातेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालले पनि यो घटनाको सत्य तथ्य छानबिन गर्न गृह मन्त्रालयलाई निर्देशन दिइसकेका छन्।
शालीन रत्न नगर-१० को एकता निकेतनको होस्टेलमा दुई वर्षदेखि बस्दै आएकी थिइन्। उनी १० वर्षदेखि मावली घरमा हजुरआमासँग बस्दै आएकी थिइन्।
बुवा-आमाले डिभोर्स गरेपछि उनी एक्लिएकी थिइन्। उनका बुवा काठमाडौँ वसुन्धरामा कान्छी श्रीमतीसाथ बस्दै आएका छन्। आमा भने पाकिस्तानी नागरिकसँग बिहे गरेर विदेशमा बस्दै आएकी छिन्।