काठमाडौँ, २७ माघ । नेपालले क्यानडाविरुद्ध लगातार दोस्रो जित हासिल गरेको छ । शनिवार सम्पन्न दोस्रो खेलमा नेपालले क्यानडालाई ४ विकेटले पराजित गरेको हो ।
क्यानडाले दिएको २८६ रनको लक्ष्य पछाएको नेपालले ४५.१ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको हो ।
नेपालको जितमा कप्तान रोहित पौडेलले सर्वाधिक ८७ रन बनाएका थिए भने देव खनालले ७६ रन बनाएका थिए । त्यस्तै अनिल शाहले १९ बलमा ५० रन बनाउँदै नेपालबाट सबैभन्दा कम बलमा अर्ध शतक बनाउने नयाँ रेकर्ड बनाएका छन् । यस अघि असिफ सेखले २१ बलमा अर्ध शतक बनाएको रेकर्ड थियो ।
त्यस्तै भीम सार्कीले २३, पवन सराफले १४, आसिफ सेखले १० रन बनाएर आउट भएका थिए भने कुशल मल्लले अविजित ९ र सोमपाल कामीले अविजित ९ रन बनाएका थिए ।
त्यसै गरी क्यानडाका बलर हर्ष ठाकेर र इश्वोरजोत सोहिले २-२ विकेट लिएका थिए भने साद बिन जाफर र दिलप्रित बाज्वाले एक एक विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै क्यानडाले ५० ओभरमा ९ विकेट गुमाउँदै २८५ रन बनाएको थियो ।
क्यानडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए भने नवनीत धालिवालले ४६ रन बनाएका थिए । त्यसै गरी परगत सिंहले ३८, श्रेयस मोभ्भाले ४०, निकोलस किर्तन र उदय भागवानले २०-२० तथा दिलप्रित बाजवाले १९ रन बनाएका थिए ।
त्यसै गरी नेपाली बलर कुशल मल्ल र कप्तान रोहित पौडेलले २-२ विकेट लिएका थिए भने सोमपाल कामी, आकाश चन्द, सूर्य तामाङ र पवन सराफले एक एक विकेट लिएका थिए ।
यो जितसँगै नेपालले क्यानडाविरुद्धको ३ खेलको सिरिजमा २-० ले अगाडी रहेको छ र सिरिज जितेको छ । अब सिरिजको अन्तिम खेल आगामी सोमबार हुने छ ।