काठमाडौँ, २७ माघ । आजदेखि मलेसियामा हुने एसीसी महिला प्रिमियर कप सुरु हुदैछ ।
नेपालले आज आफ्नो पहिलो खेल खेल हङकङविरुद्ध खेल्दै छ । टी-२० फर्म्याटमा हुने यो खेल नेपाली समय अनुसार बिहान ७.१५ बजेदेखि सुरु हुने छ ।
यस प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ । समूह ‘डी’ मा नेपालसहित हङकङ, मालदिभ्स र भुटान रहेका छन् । नेपालले पहिलो खेल आज हङकङसँग खेल्ने छ भने दोस्रो खेल भुटानसँग फेब्रुअरी ११ मा र तेस्रो खेल मालदिभ्ससँग फेब्रुअरी १३ मा खेल्ने छ ।
एसीसी महिला प्रिमियर कपमा नेपाल, आयोजक मलेसियासहित थाइल्यान्ड, युएई, इन्डोनेसिया, हङकङ, चीन, म्यानमार, भुटान, बहराइन, ओमान, कुवेत, सिंगापुर, जापान, कतार र मालदिभ्स रहेका छन् ।
यस प्रतियोगिताको विजेता र उपविजेता एसीसी महिला एसिया कप २०२४ मा छनौट हुने छन् । त्यस्तै यस प्रतियोगिताका सेमिफाइनलमा पुग्ने देश एसीसी महिला इमर्जिंग एसिया कप २०२५ मा छनौट हुने छन् ।
एसीसी महिला प्रिमियर कप फेब्रुअरी १० देखि १८ सम्म मलेसियामा हुँदै छ ।
क्यानले इन्दु बर्माको कप्तानीमा एसीसी महिला प्रिमियर कप खेल्ने १४ सदस्यीय टिम मलेसिया पठाएको छ । नेपाली महिला राष्ट्रिय क्रिकेट टिममा इन्दु बर्मा (कप्तान), बिन्दु रावल, रुबिना क्षेत्री, सिता राना मगर, काजल श्रेष्ठ, पूजा महतो, सङ्गीता राई, अप्सरा बेगम, कविता जोशी, कविता कुँवर, सम्झना खड्का, रोमा थापा, डली थापा र अश्मिना कर्माचार्य रहेका छन् ।
त्यसै गरी महिला टिमको हेड कोचमा मनोज कटवाल, साहकी कोचमा जानकी भट्ट, फिजियोमा कमला श्रेष्ठ र म्यानेजरमा अम्बिका बुढाथोकी रहेका छन् ।