health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

* डा.कौशिला रिसाल
अरबौँ पाइला हिँडेका
गाउँका साना गोरेटाहरू
साँघुरा गल्लीहरू
गौँडा, गल्छेँडा र सिँढीहरू
नबिर्सँदा नबिर्सँदै
बिराना भए
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।
सहर भन्नु
रहर रहेछ
दिनमा भोक बोकेर
रातमा निद्रा पन्छाएर
पैसाका लागि समर्पित
मन, मस्तिष्क बोकेर
घिर्सिदै छन् दुई खुट्टा
छोट्टाएर आयुको नापो
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।
साँढे दुई दशक भएछ
भाँचिएको सपना बोकेर
शीतल जूनको निम्ति
जिन्दगीको रहर हिँडेको
जीवनको मध्ये बिन्दुमा
मध्यान्हको घामजस्तै
उज्यालो बोकेर ल्याउन नसकेको
पुसको चिसोले झैँ
घाँटी समाउँछ बिहानीले
झकझक्याउँछ साँझले
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।
मेरी आमाजस्तै एक्लो जीवन बाँचेको
एक्ले गराको बुढो आँप
सकिनसकी सुसेल्दै
धकेल्छ जीवनको गति
एउटा अबोध बालकले
मेलामा गएकी आमालाई कुरेजस्तै
आँगनमा मलाई कुरिरहेको छ
मेरै उमेरको बेलौती
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।
विकासका चिल्ला बाटालाई
आजभोलि पैतालाहरूको भोक लागेको छ
निभ्न लागेको दियोझैँ
मधुरो सम्झना साँचेर
पीडाको मौन आवाजमा
मेरो गाउँले आज पनि
गाइरहेछ मिलनको गीत
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।
पानीको धारालाई
मान्छेको तिर्खा लागेको छ
बारीका कान्लाहरूले
स्पर्श खोजिरहेछन् हातहरूका
मानिसको सुगन्ध मिसिएको पसिना
पोखिन छोडेपछि माटोमा
रित्तो भकारीले कुरिरहेछन् अन्न
मेरो अतीत उतै छुट्यो
यादहरू सँगै छन् ।