नेकपा (मसाल) द्वारा सञ्चालित ऐतिहासिक तीन अभियानअन्तर्गत २०८० माघ ७ गते आइतबार सम्पन्न लेनिन शताब्दी स्मृतिदिवसको अवसरमा केन्द्रीय कार्यालयद्वारा प्रस्तुत
लेनिनको मृत्यु भएको सय वर्ष पुगेको छ । त्यसरी अहिले विश्वभरमा नै लेनिनको शताब्दी स्मृति दिवस मनाइँदै छ ।
लेनिन अब हाम्राअगाडि नभए पनि उनको दर्शन र क्रान्तिकारी सिद्धान्त हाम्राअगाडि छन् । माक्र्स, एङ्गेल्सले क्रान्तिकारी दर्शन र वैज्ञानिक समाजवादको उच्च रूपमा विकास गरेका थिए भने लेनिनले माक्र्सवादी सिद्धान्तलाई सिर्जनात्मक विकास गर्नुका साथै त्यसलाई ठोस व्यावहारिक रूप दिने काम गरेका थिए । मानवजातिको इतिहासमा लेनिनको सबैभन्दा ठुलो योगदान यो थियो कि उनको नेतृत्वमा रुसमा समाजवादी क्रान्ति भएको थियो ।
माक्र्सले आफ्नो समयमा विद्यमान पुँजीवादको विश्लेषण गरेर त्यसभित्रबाट नै समाजवादको विकास हुनु कसरी अनिवार्य छ । त्यो कुरा मात्र स्पष्ट गरेका थिए । त्यो बेला पुँजीवादको स्वरूप प्रतियोगात्मक प्रकारको थियो तर बिसौँ शताब्दीमा पुँजीवादले एकाधिकार पुँजीवाद वा साम्राज्यवादको रूप लिएको थियो । लेनिनले त्यसको विश्लेषण गर्दै यो निष्कर्ष निकालेका थिए कि त्यो पुँजीवादको पतनोन्मुख र सर्वहारा क्रान्तिको अवस्था थियो । लेनिनको त्यो निष्कर्ष खालि सैद्धान्तिक मात्र थिएन, उनको नेतृत्वमा सर्वहारा क्रान्ति पनि सम्पन्न भएको थियो ।
रुसमा भएको त्यो क्रान्तिपछि स्तालिन र माओको नेतृत्वमा विश्वका अन्य भागमा पनि विस्तार हुँदै गयो । लेनिनले एउटा कम्युनिस्ट पार्टीको सङ्गठनको रूप बुर्जुवा पार्टीको भन्दा बेग्लै हुन्छ र हुनुपर्दछ भन्ने कुरा पनि स्पष्ट गरे र त्यससम्बन्धी सङ्गठनात्मक सिद्धान्तको पनि प्रतिपादन गरे ।
लेनिनको अर्को महत्त्वपूर्ण योगदान यो थियो कि उनले पार्टीको रणनीति र कार्यनीतिसम्बन्धी सिद्धान्तबारे पनि स्पष्ट अवधारणा तयार पारे । लेनिनको सङ्गठनात्मक प्रणाली तथा रणनीति र कार्यनीतिसम्बन्धी सिद्धान्तले संसारभरिका माक्र्सवादी–लेनिनवादीलाई पथप्रदर्शन गर्दै आएका छन् तर माक्र्सवादी–लेनिनवादी दर्शनमा देखा पर्दै आएको एउटा समस्या के हो भने त्यसभित्रबाट बारम्बार अवसरवादी धारा देखा पर्ने गर्दछन् ।
माक्र्स, एङ्गेल्स आफ्ना दार्शनिक सिद्धान्तको विकास गर्ने सिलसिलामा विभिन्न अवसरवादी धाराका विरुद्ध सैद्धान्तिक वा राजनीतिक रूपले कडा सङ्घर्ष गर्नुपरेको थियो । लेनिन, स्टालिन र माओले पनि आफ्ना क्रान्तिकारी आन्दोलनको सिलसिलामा विभिन्न अवसरवादी धाराका विरुद्ध सङ्घर्ष गर्नुपरेको थियो । त्यस प्रकारका अवसरवादी धाराका विरुद्धको सङ्घर्षमा विजय प्राप्त गरेर नै क्रान्तिकारी आन्दोलन अगाडि बढ्छन् र सफल हुन्छन् तर विश्व कम्युनिस्ट आन्दोलनको इतिहासले बारम्बार यो पनि देखाउने गरेको छ कि इतिहासका कैयौं कालखण्डमा माक्र्सवादी–लेनिनवादी सिद्धान्तमाथि अवसरवादी धारा हावी हुन्छन् र त्यसको परिणामस्वरूप क्रान्तिकारी आन्दोलन कमजोर मात्र हुन्न, क्रान्तिद्वारा प्राप्त उपलब्धि पनि समाप्त हुँदै जान्छन् । अहिले विश्व समाजवादी व्यवस्थाको पतन हुनु तथा विश्व कम्युनिस्ट आन्दोलन रक्षात्मक र अत्यन्त कमजोर अवस्थामा पुग्नुको पछाडि पनि त्यही कारणले काम गरेको छ अर्थात् विभिन्न अवसरवादी धारका विरुद्ध माक्र्सवादी, लेनिनवादी सङ्घर्षको पक्ष कमजोर हुनुको परिणामस्वरूप नै त्यस प्रकारको स्थिति उत्पन्न भएको हो ।
ती कुरा नेपालको कम्युनिस्ट आन्दोलनबारे पनि सत्य हो । यहाँ विभिन्न अवसरवादी धारहरू शक्तिशाली भएका हुनाले नै क्रान्तिकारी कम्युनिस्ट आन्दोलन धेरै नै कमजोर भएर गएको छ । त्यसको परिणामस्वरूप खालि कम्युनिस्ट आन्दोलन कमजोर मात्र भएको छैन, पार्टीका सदस्यको क्रान्तिकारी स्प्रिट, अनुशासन र सक्रियतामा पनि धेरै कमी आएको छ । अर्को शब्दमा नेपालको सम्पूर्ण कम्युनिस्ट आन्दोलनमा सर्वहारा चरित्रमा धेरै नै ह्रास भएको छ र निम्नपुँजीवादी दृष्टिकोण हावी हुँदै गएको छ ।
सैद्धान्तिक दृष्टिकोणले हाम्रो पार्टी सर्वहारा वर्गको नै पार्टी छ तर सङ्गठनात्मक दृष्टिकोणले हाम्रो पार्टीमा पनि निम्न पुँजीवादी सोचाइ हावी हुँदै गएका छन् । पार्टीको यो अवस्थामा रूपान्तरण गर्नका लागि नै हाम्रो पार्टीले एक वर्षसम्मको लागि ऐतिहासिक तीन अभियानको कार्यक्रम सञ्चालन गरेको थियो । त्यस सिलसिलामा हामीले देशव्यापी रूपमा कैयौँ प्रशिक्षणका कार्यक्रम सञ्चालन गरेका थियौँ । त्यस सिलसिलामा आज हामीले यो लेनिन शताब्दी स्मृतिदिवस कार्यक्रमको आयोजना गरेका छौँ । आज यो लेनिन शताब्दी स्मृतिदिवसको कार्यक्रममा लेनिनले प्रतिवादन गरेका क्रान्तिकारी सङ्गठनात्मक सिद्धान्तका आधारमा कम्युनिस्ट पार्टीलाई सङ्गठित गर्ने प्रतिबद्धता प्रकट गर्नुपर्दछ । त्यसरी नै हामीले सच्चा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टी निर्माण गर्न र क्रान्तिकारी आन्दोलनलाई अगाडि बढाउन सक्ने छौँ ।
आज विश्वमा नै साम्राज्यवाद धेरै नै शक्तिशाली भएको छ र त्यो विश्वको लागि ठुलो खतरा भएर उभिएको छ । त्यसैले विश्व साम्राज्यवादका विरुद्ध सङ्घर्ष गर्नुपर्ने ठुलो जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ । त्यसका साथै नेपालमा पनि एकातिर साम्राज्यवाद र अर्कातिर सामन्तवादका विरुद्ध सङ्घर्षको ठुलो उत्तरदायित्व पनि हाम्राअगाडि छ । त्यसको अर्थ हो– अहिले पनि नेपाल पुँजीवादी प्रजातान्त्रिक क्रान्ति अर्थात् नयाँ जनवादी क्रान्तिको अवस्थामा छ । हामी राजतन्त्रलाई समाप्त पार्नका लागि सफल भएका छौँ तर अहिले पनि राजावादी शक्तिको राजतन्त्रको पुनस्र्थापना गर्ने अभियान जारी छ । त्यसकारण अहिले पनि प्रतिगमनको गम्भीर खतरा छ । त्यो अवस्थामा प्रतिगमनका विरुद्ध सङ्घर्षमा लगातार जोड दिनुपर्ने गम्भीर राष्ट्रिय उत्तरदायित्व पनि हाम्रा अगाडि छ । ती ऐतिहासिक जिम्मेवारी पूरा गर्ने कार्य एउटा माक्र्सवादी–लेनिनवादी कम्युनिस्ट पार्टीले मात्र गर्न सक्दछ । लेनिनवादी सङ्गठन प्रणालीमा आधारित कम्युनिस्ट पार्टीले नै ती जिम्मेवारी पूरा गर्न सक्दछ । त्यसकारण त्यस प्रकारको पार्टीको निर्माण आजको हाम्रो केन्द्रीय वा प्रधान कार्य हुनुपर्दछ ।
अन्तमा, हामीले आधार आशा र विश्वास गर्दछौँ, त्यस प्रकारको पार्टीको निर्माण गर्न हामी सफल हुने छौँ ।