लमही ८ माघ । दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत अमिलिया रिहार सडक खण्डको लमही नगरपालिका–९ रिहार नजिकै राति ११ बजे बर्दिया देखि काठमाडौँ जाँदै गरेको प्रदेश ३–१००५ ख ९७१९ नम्बरको यात्रुवाहक बस दुर्घटना भएको हो ।
सो दुर्घटनामा परि गेरुवा गाउँपालिका–१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।
बसमा ४७ जना सवार रहेको २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ।
मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पट्टा भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। केही दिन अगाडि नेपालगन्जबाट काठमाडौँ जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो।