
नेपालगन्ज, ६ माघ । मुलुकमा सङ्घीयता कार्यान्वयन भएको आठ वर्ष भयो तर खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका साबिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत निर्माण भएको नेपालगन्ज रङ्गशालाका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका छन् ।
खेलकुदमा सङ्घीयता कार्यान्वयन नहुँदा करोडौँ खर्चेर निर्माण भएका सालिक मध्यपश्चिम खेलकुद विकास समिति अन्तरगत नेपालगन्ज रङ्गशालामा रहेका खेलकुदका संरचनाहरू संरक्षणको अभावमा खण्डहरमा परिणत भएका हुन् ।
सालिक मध्यपश्चिम खेलकुद विकास समिति नेपालगन्जका कार्यालय प्रमुख महेश चन्दले राष्ट्रिय खेलकुद परिषद् अन्तरगत रहेको नेपालगन्ज रङ्गशाला सङ्घीयता पछि स्थानीय तह, जिल्ला, प्रदेश कसको अन्तरगत रहने स्पष्ट नहुँदा संरक्षणको लागि आवश्यक बजेट नआएको साथै नबौ राष्ट्रिय खेलकुदपछि खेलका कुनै गतिविधि समेत नभएको जानकारी दिए ।
उनले भने, ‘ यहाँ यत्रो संरचना छ । केन्द्रले नै अनिर्णयको बन्दी बनेका कारण न त खेल गतबिधि हुन सकेको छ । नत यसको संरक्षण नै ।’ उनले नेपालगन्ज रङ्गशालाका लागि आवश्यक कर्मचारी तथा मर्मत सम्भारको जिम्मेवारी र रकम कुनै पनि नआउनु दुर्भाग्य भएको बताए ।
उनले भने, ‘म यहाँको कार्यालय प्रमुख हुँ तर यहाँ हुने कुनै पनि गतिविधि मलाई थाहा छैन । यहाँ निर्माण भएको के निर्माण हुँदै छ । त्यसको पनि जानकारी छैन । आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा निर्माण भएका संरचना खण्डहर बन्दै छन् एउटा नटबोल्ट कस्ने र खोल्ने अधिकार हामीलाई छैन ।’
नेपालगन्ज रङ्गशालाको रेखदेख गर्ने जिम्मेवारी जिल्ला प्रदेश तथा स्थानीय तहलाई नदिएर केन्द्रले नै आफ्नो मातहतमा राखेका कारण खेलकुदका गतिविधिहरू प्रभावित बनेको उनको भनाई छ ।
तत्कालीन मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले नेपालगन्ज रङ्गशालामा आठौँ राष्ट्रिय« खेलकुद प्रतियोगिता २०७५ मा आयोजना गर्दा २५ करोडको लागतमा निर्माण गरिएपछि खेलकुद परिषद्ले रङ्गशाला संरक्षण र सञ्चालनको अनुमति नदिँदा खण्डहरमा परिणत हुने अवस्थामा पुगेको बताए ।
उनले भने, ‘यति ठुलो संरचना छ । कसको अधीनमा यसको सञ्चालन गर्ने भन्ने किटान नहुँदा यसको संरक्षण हुन सकेको छैन । यहाँ खेल गतिविधि हुन सकेको छैनन् । यसले राज्य र खेलाडी दुबैलाई घाटा हुँदै गएको छ ।’
राष्ट्रिय खेलकुद परिसदका पूर्व सदस्य विनोद मैनालीले राज्यले खेलकुदमा नयाँ नयाँ संरचना बनाउँदै जाने तर, भएका संरचनालाई संरक्षण नगर्ने रणनीतिका कारण खेल क्षेत्रको विकास हुन नसकेको औँल्याए ।
उनले भने, ‘राखेपमा सङ्घीयता नआएको कारण नेपालगन्ज रङ्गशाला खण्डहर भएको हो । केन्द्रमा बसेर मोफसललाई अत्यन्त न्यून अधिकारी दिने परिपाटीले खेलकुदमा खेल नीति मौलाउनु पर्नेमा राजनीति मौलाएको कारणले सङ्घीयता कार्यान्वयन हुन नसकेको हो ।’
प्रतिनिधि सभामा शिक्षा स्वास्थ्य, सूचना, युवा र खेलकुद समितिका सदस्य तथा प्रतिनिधि सभा सदस्य दिपा शर्माले आठौँ खेलकुदका संरचनाहरू राज्यले संरक्षण गर्न नसक्दा नेपालगन्ज रङ्गशाला खण्डहर भएको आफूले अनुगमनका क्रममा पाएको र यस विषयमा सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउने बताइन ।
लामो समय देखिको मर्मत सम्भारको अभावका कारण करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको स्टेडियम, प्यारा फिट, पौडी पोखरीलगायतका खेलकुदका पूर्वाधार र संरचना खण्डहरमा परिणत भएको हो । नेपालगन्ज रङ्गशालाको संरक्षण गर्न खेल गतिविधि सञ्चालन गर्नको लागि सङ्घीयताको कार्यान्वयन गरी अधिकार प्रत्यायोजन गर्न आवश्यक देखिएको छ ।