काठमाडौँ, ५ माघ । इराकले जारी एसियन कपमा जापानमाथि रोमाञ्चक जित हासिल गरेको छ । शुक्रवार सम्पन्न समूह डी अन्तर्गतको खेलमा इराकले जापानलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
फिफा वरियतामा ६३औँ स्थानमा रहेको इराकले हाल १७औँ स्थानमा रहेको जापानलाई स्तब्ध बनाएको छ ।
इराकको जितमा आइमेन हुसैनले दुवै गोल गरेका थिए भने जापानका लागि खेलको ९३औँ मिनेटमा वाटारु एन्डोले एक गोल फर्काएका थिए ।
यो जारी प्रतियोगितामा इराकको लगातार दोस्रो जित हो । समूह डीमा २ खेलमा ६ अङ्क हासिल गरेको इराक शीर्ष स्थानमा रहेको छ । त्यस्तै जापानको भने २ खेलमा ३ अङ्क रहेको छ ।
अब समूह चरणको अन्तिम खेलमा जापानले आगामी बुधवार इन्डोनेसियाको सामना गर्ने छ भने इराकले भियतनामको सामना गर्ने छ ।