काठमाडौँ, ५ माघ । भारतले जारी एसिया कपमा लगातार दोस्रो हार बेहोरेको छ ।
गए राती सम्पन्न समूह बी अन्तर्गतको खेलमा उज्बेकिस्तानले भारतलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।
उज्बेकिस्तानको जितमा अब्बोसबेक फाय्जुल्लेभ, इगोर सेर्गीभ र शेर्जोद नस्रुल्लाएभले एक एक गोल गरेका थिए ।
यो जितपछि उज्बेकिस्तानको २ खेलमा ४ अङ्क भएको छ र समूहमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै भारतले भने लगातार दोस्रो हार बेहोरेर समूहमा पुछारमा रहेको छ । अब यो हारसँगै भारत दोस्रो राउन्डको दौडबाट पनि बाहिरिएको छ ।
अब भारतले अर्को खेल आगामी मङ्गलवार सिरियासँग खेल्ने छ । त्यस्तै उज्बेकिस्तानले अर्को खेल मङ्गलवार नै अस्ट्रेलियासँग खेल्ने छ ।