रौतहट, ११ पुस । भारतीय अपराधीबाट अपहरणमा परेका दुई जनालाई रौतहट प्रहरीले अपहरण मुक्त गरेको छ ।
उनीहरूलाई रौतहट प्रहरीले भारत विहारको सीतामढीबाट सकुशल अपहरण मुक्त गराएर आफन्तको जिम्मा लगाएको छ ।
चितवन भरत महानगरपालिका १९ हुलाक चोकका ४० वर्षीय कृष्ण थापा र रत्ननगर नगरपालिका १२ जिरौनाका ३५ वर्षीय दीपेन्द्र महतलाई भारत विहारको सीतामढीबाट भारतीय प्रहरीको सहयोगमा रौतहट प्रहरीले अपहरणमुक्त गराएको हो । बुधवार नै उनीहरूको अभिभावकलाई जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पुस ५ गते बिहान साँढे १० बजेको समयमा दुवै जना रौतहटको चन्द्रपुर जान्छु भन्दै मोटरसाइकलमा हिँडेका थिए । पुस ७ गते बेलका सात ५१ बजेको समयमा थापाले अपहरणमा परेको र ६ लाख रुपैयाँ फिरौती माग गरेको भन्दै श्रीमतीको म्यासेन्जरमा कल गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय चितवनबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा पत्र प्राप्त भएपछि सीमावर्ती सीतामढी प्रहरी सँग समन्वय गरेर सम्भावित स्थानहरूमा खोजी कार्य गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।
रौतहट प्रहरी प्रमुख एसपी श्रेष्ठले सीतामढी प्रहरी र रौतहट प्रहरीको खोजतलास पछि मङ्गलवार सीतामढीबाट थापा र महतलाई सकुशल अपहरणमुक्त गराई गौर ल्याइएको बताए । अपहरणमा संलग्न ६ जना लाई बिहारको सीतामढी प्रहरीले पक्राउ गरेर अपहरण तथा शरीर बन्धक शीर्षकमा जाहेरी लिई थप अनुसन्धान कार्य अगाडी बढाइएको उनले जानकारी दिए । भारतमा अपराधीहरू पक्राउ पर्दा त्यहीको कानुन अनुसार पीडितको जाहेरी लिएर आवश्यक कारबाही अघि बढाइएको एसपी श्रेष्ठले बताए ।
अपहरणमुक्त भएका दुबैजनालाई प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण गरी आफन्तलाई जिम्मा लगाई चितवन तर्फ पठाइएको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी एलिजा गिरीले जानकारी दिइन ।
अपहरणमा संलग्न सीतामढी जिल्ला डुम्रा मेहसोल २७ का मोहम्मद लियाकत राइनको छोरा मोहम्मद अकबर, मोहम्मद नईम, वर्ष ३० का कौशर अलि, वर्ष २० का मोहम्मद सदाब, वर्ष २७ का मोहम्मद इर्साद र वर्ष ३३ का रामनरेश कुमारलाई सीतामढी प्रहरीले अपहरण तथा शरीर बन्धक मुद्दामा कारबाही अघि बढाएको जानकारी दिँदै प्रवक्ता गिरीले खुला सीमा भएको हुँदा नेपालमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरी नेपालमा लुक्नेहरू माथि दुवै देशका प्रहरीहरूले गम्भीर भई सीमा क्षेत्रको अपराधलाई न्यूनीकरण गर्ने क्षेत्रमा लागि परेको बताइन ।