काठमाडौँ, ११ पुस । क्रिस्टियानो रोनाल्डो साउदी लिगमा गएसँगै उनको क्यारियर सकियो भन्नेहरूका लागि यो आँकडाले फेरी सोच्न बाध्य बनाएको छ ।
३८ वर्षीय रोनाल्डो २०२३ वर्ष सकिन लाग्दा वर्षमा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका छन् ।
रोनाल्डोले आफ्नो क्लब अल नासरका लागि ४३ र राष्ट्रिय टिम पोर्चुगलका लागि १० गोल सहित कुल ५३ गोलसहित २०२३ मा सबैभन्दा बढी गोल गर्ने खेलाडी बनेका हुन् ।
रोनाल्डोले एक वर्षमा ५० भन्दा बढी गोल गरेको यो आठौँ पटक हो ।
यस सूचीमा दोस्रो स्थानमा इङल्याण्डका ह्यारी केन र फ्रान्सका किलियन एम्बाप्पे रहेका छन् । दुवैले ५२-५२ गोल गरेर यस सूचीमा दोस्रो स्थानमा रहेका छन् ।
हाल बायर्न म्युनिखमा शानदार फुटबल खेलिरहेका केनले यस वर्ष ५२ गोल गरेका छन् । केनले २०२३ मा बायर्नका लागि २५ गोल गरेका छन् भने इङल्याण्डका लागि ९ गोल गरेका छन् । त्यस्तै यस वर्ष उनले टोटनह्यामका लागि १८ गोल गरेका थिए ।
त्यस्तै एम्बाप्पेले फ्रान्सका लागि यस वर्ष १० गोल गरेका छन् भने पिएसजीका लागि ४२ गोल गरेका छन् ।
त्यस्तै यस सूचीमा तेस्रो स्थानमा नर्वेका इर्लिंग हालाण्ड रहेका छन् । हालाण्डले यस वर्ष कुल ५० गोल गरेका छन् । उनले नर्वेका लागि ६ गोल गरेका छन् भने म्यानचेस्टर सिटीका लागि ४४ गोल गरेका छन् । यद्यपि हालाण्डले यस वर्ष अझै २ खेल खेल्न बाँकी रहेको छ ।
त्यसै गरी रोमाबाट खेल्ने बेल्जियमका रोमेलु लुकाकुले २०२३ मा ४० गोल गरेका छन् भने फेयनोर्डबाट खेल्ने मेक्सिकोका सान्टियगो गिमेनेजले ३९ र इन्टर मिलानबाट खेल्ने अर्जेन्टिनाका लाउतारो मार्टिनेजले यस वर्ष ३७ गोल गरेका छन् ।