विशाल बस्नेत / न्युज कारखाना
महोत्तरी, १६ कात्तिक । प्याट्रोलिङ्गको क्रममा बर्दिबासमा प्रहरीले भेटाएको ९ लाख रुपैयाँ जिम्मा लगाइएको छ ।
अनुसन्धानको क्रममा उक्त पैसा महतो किराना पसलका सञ्चालक जगदीश महतोको यकिन भएपछि महतोलाई हस्तान्तरण गरिएको हो ।
उद्योग वाणिज्य सङ्घ बर्दिबासका अध्यक्ष विष्णु खडका, व्यवसायीहरू गुन्ज कार्की, ज्ञान बहादुर राउत, पत्रकार लगायतको रोहवरमा महतोलाई हस्तान्तरण गरिएको प्रहरीले जनाएको छ ।
कालो झोलाभित्र रहेको ९ लाख ५ सय ६२ रुपैयाँ महतोलाई जिम्मा लगाइएको इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवले जानकारी दिए ।
कसरी फेला परेको थियो ?
गत ३ असोजको राती इलाका प्रहरी कार्यालय गौरिडाडाको प्रहरी विट भोला वसन्त चोकबाट प्रहरी जवान अजय मण्डल प्याट्रोलिङ्ग गरिरहेका थिए । प्याट्रोलिङ्गको क्रममा ५० मिटर पर महतो किराना पसल नजिक पुगेपछि उनले एउटा कालो झोला देखे ।
झोलालाई आफैले बोकेको लौरोले यताउता चलाए । खासै शङ्कास्पद नभएको अनुमान लगाएपछि सोही लौरोले ताने अनि खोलेर हेरे । खोलेर हेरेका मात्र थिए, झोलाभरि पैसा नै पैसा देखेपछि उनी झसङ्ग भए । तत्काल प्रहरी बिटका इन्चार्ज असई मनसुरी गदिलाई जानकारी गराए । गदिले इलाका प्रहरी कार्यालयका प्रमुख विजय यादवलाई जानकारी गराए ।
यादवले केही स्थानीयहरूको रोहवरमा पैसा गन्नु र गनेको पैसाको भिडियो पनि बनाउन निर्देशन दिए । गन्ने क्रममा महतो किराना पसलको केही बिलहरू पनि भेटिए । पैसा गनिसक्दा जम्मा ९ लाख ५ सय ६२ रुपैयाँ रहेको यकिन भयो । भोलीपल्ट बिहान ९ लाख भेटाएको विषयमा निक्कै खैलाबैला भयो । महतो किराना पसलको केही आधारहरू देखिए पछि स्थानीयहरूले महतोलाई पनि जानकारी दिए ।
हप्ता दिनसम्म महतोबाहेक दाबी गर्न नआएपछि प्रहरीले उनको पैसा भएको निष्कर्ष निकाल्दै सोमवार पैसा जिम्मा लगाएको हो ।
महतो भन्छन् : प्रहरी मेरा लागी भगवान् जस्तै बने
पैसा हराएको थाहा पाएदेखि निक्कै चिन्तित बनेका महतोले प्रहरीको इमानदारिता माथि नतमस्तक भएको बताए ।
`व्यापार भएको पैसा र अन्य पैसा भोलिपल्ट बैङ्कमा राख्ने भनेर स्टाफलाई भनेको थिए, झोला त बिर्सेर बाहिर नै छाडेछु,´ उनले भने ।
पैसा यदि प्रहरीले बाहेक अरूले भेटाएको भए भेट्न निक्कै मुस्किल पर्ने बताउँदै उनले यो खुसीयालीमा प्रहरी विट तथा केही भौतिक संरचना बनाइदिने घोषणा गरेका छन् । २५ हजार बराबरको प्रहरीको लागि संरचना बनाइदिने महतोले बताए ।
व्यापार मन्दीको यो समयमा त्यति ठुलो रकम फेला पार्ने प्रहरी जवान मण्डललाई उनले धन्यवादसमेत दिएका छन् । प्रहरीले सर्वसाधारणको साथी मात्र हैन, गतिलो भरोसा हो भन्ने विषयलाई प्रहरी जवानले देखाएको जिम्मेवारीप्रतिको इमानदारिताले प्रमाणित गरेको स्थानीयहरूको तर्क छ ।