Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

चाडपर्वमा प्रगतिशीलता कसरी सम्भव छ ?

 

  • निनु चापागाईँ

अनेकताका बिचमा एकता नेपाली संस्कृतिको एउटा विशेषता हो संस्कृतिका सम्बन्धमा खोजीनिती गर्ने विद्वान्हरूले यसो भन्दै आएका छन् । एकभन्दा बढी जाति, समुदाय र भाषा भाषी भएका सबै मुलुकमा यस्तो विशेषता नपाइने होइन । तर नेपालको हकमा भने यो विशेषतालाई अद्वितीय नै भन्न सकिन्छ । किनभने नेपालमा एक सयभन्दा बढी भाषाहरू बोलिन्छन् र साठीभन्दा अलि धेरै जातिहरूको बसोबासो छ । नेपालमा आठभन्दा बढी धर्मावलम्बीहरू रहँदै आएका छन् र ती सबैको आ-आफ्नै विशिष्ट संस्कृति छ । तिनमा आ-आफ्नै खालका चाडबाडहरू पनि चलनमा छन् । यसरी हेर्दा नेपाल संस्कृति र चाडबाडका दृष्टिले असाध्यै समृद्ध छ र त्यसमा विविधता पनि पर्याप्त छ ।
तर नेपालका सन्दर्भमा अर्को बिर्सनै नसकिने तथ्य के पनि छ भने नेपालको शासक वर्ग शताब्दियौं अघिदेखि हिन्दु धर्मावलम्बी रहेको छ र त्यसले आफ्नै धर्म र संस्कृतिलाई अन्य सबैमाथि लाद्ने र आफ्नै संस्कृतिलाई नेपालको संस्कृतिका रूपमा चिनाउँदै आएको छ । मल्लकालदेखि जाति प्रथालाई विशेष रूपले स्थापित गर्ने प्रयास भए तापनि ‘असल हिन्दुस्तान’ बनाउने उद्देश्यसहित गरिएको पृथ्वीनारायण शाहको पालादेखि शासक वर्गीय संस्कृतिलाई सबै समुदाय र जातिमा विस्तार गर्ने अभियानको परिणामस्वरूप शासक वर्गको संस्कृति अन्य भाषा भाषी, जाति र समुदायमा विस्तारित भएको छ र त्यसको प्रभुत्व अहिले सबैतिर देखिन्छ । चाडबाडका हकमा यही कुरो लागू हुन्छ । हामी नेपालका सबै जाति र समुदायमा चलनमा रहेका चाडबाडलाई भन्दा पनि शासक वर्गले अपनाउँदै आएका चाडबाडलाई कसरी हेर्ने र तिनका सम्बन्धमा प्रगतिशीलहरूले के कस्तो नीति अपनाउने भन्ने सम्बन्धमा छलफल गर्न खोज्दै छौँ ।

नेपालमा विविध प्रकृतिका चाडबाडहरू चलनचल्तीमा छन् । फागु, माघे सङ्क्रान्ति, नववर्ष जस्ता चाडहरू मौसम परिवर्तनसित सम्बन्धित छन् भने बुद्ध जयन्ती, शिवरात्रि, कृष्ण जन्माष्टमी, राम नवमी जस्ता चाडहरू धार्मिक व्यक्तित्व वा ईश्वरीय शक्तिसित सम्बन्धित छन् । दसैँ, तिहार जस्ता कतिपय चाडबाडहरू पौराणिक आख्यानसित गाँसिएका छन् । जनै पूर्णिमा र तीजजस्ता चाड लिङ्गगत विभेदमा आधारित छन् । त्यस अतिरिक्त कतिपय चाडबाडले कृषिसितको संलग्नतालाई पनि सङ्केत गर्दछन् । यी सबै चाडबाडले मनोरञ्जन दिने गर्दछन्, जनसमुदायको विश्रामको आवश्यकतालाई परिपूर्ति गर्ने गर्दछन् र सामाजिक सम्बन्धलाई दरिलो बनाउने काम पनि गर्दछन् । तिनले यत्ति मात्र काम गर्ने भए हामीले चाडबाडका सम्बन्धमा विशेष महत्त्व र चासो दिइरहनु पर्ने थिएन । यस्ता चाडबाडले मूल रूपमा खास सन्देश वा विचार समेत सम्प्रेषित गर्दछन् र ती विचारले मुख्यतः शासक वर्गको हितलाई सुरक्षा, संरक्षण र सम्बन्धन गर्ने र शासक वर्गको स्वार्थलाई दरिलो बनाउने कार्य गर्दछन् । हाम्रो चासोको मुख्य विषय यही हो र हामीले त्यसलाई रूपान्तरण गरेर आम जनसमुदायको हितसित गाँस्ने प्रयास गर्नु उचित हुन्छ । पुरानो संस्कृतिको ध्वंस र नयाँ संस्कृतिको निर्माण गर्न चाहने र शासक वर्गको होइन आफ्नै वर्गको आम उत्पीडित जन समुदायको र सर्वहारा वर्गको संस्कृति निर्माण गर्न चाहने प्रगतिशील समुदायले पुरानो संस्कृति र चाडबाडबाट मुक्त हुने प्रयास अपरिहार्य रूपले गर्नै पर्दछ । यो अहिलेको आन्दोलनको अहम् सवाल पनि हो ।

शासक वर्गका तहमा रहेका ब्राह्मण, क्षत्रीहरूका अधिकांश चाडबाडहरू धर्मसित गाँसिएका छन् । राजतन्त्रको समाप्ति हुनु यता मात्र नेपाल धर्मनिरपेक्ष देश घोषणा गरिएको हो । यसअघि लामो समयसम्म नेपाललाई हिन्दु धर्म मान्ने राज्यका रूपमा लिइने गरिएको थियो र हिन्दु धर्मसित गाँसिएका चाडबाडलाई नै राष्ट्रिय चाडबाडका रूपमा महत्त्व समेत दिइने गरेको थियो । धर्म अन्धविश्वास, रूढिवाद र अवैज्ञानिकता र जनहितको विरोधमा आधारित छ । धर्ममा बुद्धिलाई त्याग गरेर भावनाबाट काम लिने प्रवृत्ति भएको कारणले यो एकाङ्गी र सङ्कीर्ण हुन्छ । धर्मले बुद्धिको मात्र होइन इन्द्रिय ज्ञान र तर्क पद्धतिको पनि निषेध गर्दछ । यसले प्रत्यक्ष ज्ञान तथा अनुभव, बुद्धि र प्रयोगलाई आधार मान्ने विज्ञानको होइन अन्ध विश्वास र पूर्ण समर्पणको माग आफ्नो अनुयायीसित गर्दछ । यही मागले गर्दा अन्य धर्मप्रति पूर्ण अनास्था र निषेधको भावना यसमा निहित हुन्छ । अनुभव र विज्ञानमाथि आधारित ज्ञानले धर्मका मान्यतामाथि प्रश्न चिह्न लगाउने हुनाले यसले रहस्यवाद र अबुद्धिवादको शरण लिने गरेको छ । मानव जातिको सार्वभौम समानता र त्यसलाई यथार्थ बनाउने कुनै पनि उपाय धर्मसित छैन । यसको उल्टो श्रम र वर्ग विभाजनमा आधारित समाज व्यवस्थालाई नै यसले मान्दछ । धर्ममा विद्यमान यो लोक र अर्को लोक वा स्वर्ग र नरकको कल्पना धरतीमा विद्यमान वर्ग विभाजनकै अभिव्यक्ति हो र यसले यही वर्गीय विभाजनलाई दरिलो बनाउने काम गर्दै आएको पनि छ ।

धर्म वा जातिको आधारमा मानव जातिको विभाजन र विभाजित समूहहरूको असमानतामाथि जोड यसको विशेषता हो । एकताको सट्टा विभेद, सहयोगको सट्टा विरोध र सार्वभौमिकताको सट्टा सङ्कीर्णतालाई धर्मले अघि बढाउँदै आएको छ । वर्ग विभाजन मानिसको चेतनामा धार्मिक रूप लिएर यो लोक र परलोकजस्ता दुई लोकको धारणामा अभिव्यक्त हुँदै आएको छ, मानिसको स्वतन्त्रताको सट्टा परतन्त्रलाई बल पुर्‍याउने काममा नै यसले सहयोग गरेको छ । कर्म, पुनर्जन्म, भाग्यवाद, कर्मवाद, अवतारवाद जस्ता विचारहरू मानिसको यही परतन्त्रतालाई दरिलो बनाउनकै निम्ति, मानव जीवनमा उत्पीडनलाई निरन्तरता दिनकै निम्ति निर्माण भएका हुन् । हामी सबैलाई थाहा छ– दसैँ, तिहार, तिज, गाई जात्रा, भोटो जात्रा, राम नवमी, शिवरात्रि, कृष्णाष्टमी जस्ता चाडपर्वहरूले यही खालको चिन्तन र धारणालाई प्रवर्द्धन गरिरहेका छन् । त्यसैले भौतिकवादमाथि आस्था राख्ने र वर्ग विभाजनलाई समाप्त पारेर वर्गीय समानताको समाज व्यवस्था निर्माण गर्न चाहने प्रगतिशीलहरूले यस खालका चाडपर्वहरूलाई परम्परागत रूपले मान्नु उचित हुँदैन र तिनलाई रूपान्तरण गर्दै, आफ्नै खालका चाडबाडहरूको निर्माण गर्दै अघि बढ्नु पर्दछ ।

नेपालमा प्रचलनमा रहेका अधिकांश चाडबाड धर्मसित गाँसिएका छन् । तिनका बारेमा प्रचलनमा रहेका धार्मिक, पौराणिक कथाहरू र व्यवहार आदिले नै तिनको प्रकृतिका बारेमा पर्याप्त जानकारी गराउँछन् । कतिपय चाडबाडले जातीय र लिंगीय अभिमान र विभेदमाथि जोड दिने गर्दछन् । यहाँ केही उल्लेख्य चाडको जातीय, लिंगीय रूप र धार्मिक प्रकृतिका बारेमा चर्चा गरेर प्रस्ट्याउन अझ उचित होला । जनै पूर्णिमाका दिन बाहुन–क्षत्रीहरूले त्यसमा पनि बाहुनहरूले लगाउने जनैको पूजा गर्ने र फेर्ने चलन छ । यो नितान्त जातिवादी र लिङ्गवादी चाड हो ।

हिन्दु शास्त्र अनुसार बाहुन र क्षत्रीहरूलाई द्विज भनिन्छ । यस मान्यताअनुसार उनीहरू दुई पटक जन्मन्छन् । अरू जातका मानिसहरूको जन्म एक पटक मात्र हुन्छ, उनीहरू आमाको गर्भबाट मात्र जन्मन्छन् । तर बाहुन क्षत्री चाहिँ एक पटक आमाको गर्भबाट जन्मिन्छ र अर्को पटक जनै लगाएपछि फेरि जन्मन्छन् । जनैले उनीहरूलाई संस्कारित गर्दछ, अरूभन्दा पवित्र जातिको रूपमा माथि उकाल्दछ । यो उनीहरूको दोस्रो जन्म हो, हिन्दु धर्मशास्त्रअनुसार । अरूलाई नीच जाति र आफूलाई उच्च जाति देखाउने खस हिन्दुहरूको जातीय अभिमानको चिनो हो जनै पूर्णिमा । यसले जातीय र लैङ्गिक विभेदलाई पुष्टि गर्दछ र प्रश्रय दिने गर्दछ । महिला र अरू जातिका पुरुषहरूलाई पनि हिन्दु शास्त्रले जनै लगाउने अधिकार दिएको छैन ।
भाद्र शुक्ल तृतीयाका दिन व्रत, उपवास, पूजा आदि गरेर विवाहित नारीले आफ्नो पतिको दीर्घायु, सुस्वास्थ्य र उन्नतिका लागि मनाउने तीजका बारेमा पनि पनि धार्मिक कथा नपाइने होइन । पार्वतीले शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर तपस्या गरी शिवलाई पतिको रूपमा पाएकीले कुमारी कन्याहरू पनि असल लोग्ने पाऊँ भन्ने विचारले यो व्रत बस्दछन् । तीज नेपालका विशेष गरी हिन्दु महिलाहरूको विशेष चाड हो । भदौ शुक्ल पक्षको द्वितीयामा दर खाने र तृतीयामा तीज मान्ने गरिन्छ । यो खस संस्कृतिको विशिष्ट नमुना किन हो भने तराईका हिन्दुहरूले तीज यही रूपमा मनाउँदैनन् र उत्तरी क्षेत्रका मङ्गोल जातिले यसलाई मान्दैनन् । जनजातिहरूको चाड नभए तापनि यो उनीहरूमा पछि केही मात्रामा विस्तारित भएको देखिन्छ । शासक वर्गका महिलाको चाड भएकोले यसलाई पनि अरूमाथि लादियो । यसलाई लिङ्गवादी चाड मान्न सकिन्छ । यस चाडमा महिलाहरूले शिव पार्वतीको पूजा गर्दछन् । प्रचलनमा आएका धार्मिक कथाअनुसार हिन्दु धर्मका देवदेवी शिव पार्वतीको विवाहसित यो चाड गाँसिएको छ । हिन्दु धार्मिक मान्यताअनुसार पार्वतीले शिवसित विवाह गर्न पाउँ भनेर जङ्गलमा गई, अन्न, जल समेत त्यागी तपस्या गरिन्, शिवको आराधना गरिन् र आफूले चाहेको वर प्राप्त गरिन् । यही कारण हिन्दु नारीहरूले आफूले इच्छा गरेको पति, उसको दीर्घायु, सुस्वास्थ्य र सुख–समृद्धिका लागि यस चाडलाई निरन्तरता दिएका हुन् भनिन्छ ।

कथाहरूमा कतिपय असमानताहरू फेला पर्दछन् । स्वस्थानी व्रत कथाका अनुसार नदीको किनारामा एक महिनासम्म स्वस्थानी व्रत गरेपछि शिवलाई पार्वतीले प्राप्त गरेको उल्लेख गरिएको छ भने हरितालिका तीजको व्रत कथामा दिनभर अन्न, जल नखाई निराहार व्रत गरेपछि शिव प्रसन्न भई वरदान दिएको उल्लेख भएको भेटिन्छ । तर ‘हरितालिका’ शब्दले भने अर्कै कथालाई सङ्केत गरेको छ । हरितालिका हरित र आलिका मिलेर बनेको शब्द हो । हरितको अर्थ अपहरण गरिएको र आलिका भनेको महिला साथीहरू हो । सारमा यसको अर्थ साथीहरूबाट हरण गरी लुकाइएकी भन्ने हुन्छ । पार्वतीलाई उनका साथीहरूले लुकाएर राखेका थिए र त्यहीँ शिवसित भेट भएर विवाह भएको हुन सक्तछ । कथामा पनि हिमालयले शिवसित प्रेम गर्ने आफ्नो पुत्री पार्वतीको बिहे विष्णुसित गर्न लागेको थाहा पाएपछि पार्वतीका साथी जया, विजया, अजिता, अपराजिता आदिले बाबुको घरबाट भगाएर लुकाएर राखे र पछि शिवसित बिहे गराइदिए । कथाका आधारमा केही विचारकहरूले यस चाडलाई पार्वती र शिवको प्रेमको सफलताको प्रतीकका रूपमा प्रारम्भ भएको र पछि पितृसत्तात्मक विभेदको पर्वको रूपमा रूपान्तरण गरिएको हो भन्ने तर्क गर्ने गरेका छन् । यो विभेद र पुरुष हैकम स्थापित गर्नकै लागि पछि व्रत बस्दा पानी पिए पतिको रगत पिएसरह हुने, अरू कुनै ठोस अन्न खाए पतिको मासु खाए सरहको पाप लाग्ने जस्ता उपकथाहरू थपिएको हो भन्ने उनीहरूको भनाइ छ ।

तीजको पर्सी पल्ट मनाइने ऋषि पञ्चमी चाड पनि महिलाहरूसित सरोकार राख्ने चाड हो । रजस्वला हुन थालेपछि बन्द नभएसम्म हिन्दु महिलाहरूले खास गरी खस जातिका महिलाहरूले अनिवार्य रूपमा मनाउनै पर्ने चाडका रूपमा यसलाई लिइन्छ । यससित पनि केही पौराणिक कथा जोडिएका छन् । हिन्दु धर्मशास्त्रले महिलाहरूलाई अत्यन्त निम्न स्तरमा राखेर हेर्ने गरेको छ । यसका अनुसार पुरुष जातिलाई पापमा लगेर डुबाउने महिला हुन् । ती अपवित्र, फोहोर, सङ्गत गरेपछि नरक पार्ने तत्त्व हुन् । त्यही पापबाट मुक्त हुने चाडका रूपमा ऋषि पञ्चमी चाडलाई लिइन्छ । पौराणिक कथाअनुसार इन्द्रको वृत्रासुर नाम गरेको राक्षससित युद्ध परेको थियो । वृत्रासुर बाहुनको सन्तान थियो । देवराज इन्द्रले उसलाई मार्न त मारे तर ब्रह्म हत्याको पापले पोलेर टिक्नै सकेनन् । त्यो पाप रजस्वला हुँदा बग्ने रगतको रूपमा महिलाले आफ्नो जीउमा बोकोका छन् । यही कारण शास्त्रको भनाइमा महिलाहरू पापिनी, फोहोर्नी र अपराधिनी हुन् । शास्त्रले– प्रथमेकहनि चाण्डाली द्वितीये ब्रह्मघातिनी, तृतीये रजकी ह्येता चतुर्थेकनि शुद्ध्यति (रजस्वला भएको पहिलो दिन चन्डाल्नी, दोस्रो दिन ब्रह्म हत्या गर्ने, तेस्रो दिन धोबिनी र चौथो दिन बल्ल शुद्ध हुने रूपमा) भन्ने गरेको छ ।

ऋषि पञ्चमीको कथाअनुसार एउटी वृद्धा ब्राह्मणी रजस्वला भएको बेलामा थाहै नपाई भाँडाकुँडा छोएका कारणले मरेपछि आफ्नो घरमा कुकुर्नी भएर जन्मिछन् । लोग्ने पनि श्रीमतीले रजस्वला भएको बेला लसपस गरेकै कारणले पापमा डुब्न पुग्यो र गोरु बनेर त्यही घरमा जन्मिएछ । श्राद्धका दिन घर पति छोराले कुकुर्नी र गोरु दुवैलाई भोक भोकै राखेछ । भोकै भएको र पापबाट पापबाट कहिले कसरी मुक्त हुने होला भनेर कुराकानी कुकुर्नी र गोरुका बिचमा भएको र ती आफ्नो अघिल्ला जन्मका आमाबाबु भएको कुरा छोराले सुनेछ । अनि उसले धर्मगुरुसित सोध्दा ऋषि पञ्चमीका दिन सप्त ऋषि र अरुन्धतीको पूजा गरे पापबाट मुक्त हुने उपाय थाहा भएपछि त्यसै गरेर तिनलाई पापबाट बचाएछ । वास्तवमा रजस्वला नियमित शारीरिक स्वाभाविक प्रक्रिया मात्र हो । रजस्वला वनस्पति जगत्मा पनि हुने गर्दछ । यो कुनै पनि किसिमले पाप कर्म होइन । पुरुषवादी हैकम स्थापित गर्न यस खालका कथाहरू निर्माण भएका हुन् । पुरुष श्रेष्ठ, नारीहरू हीन, अपवित्र, फोहोरी, पापिनी भन्ने देखाउन यस्ता मन गढन्ते कथाहरू रचिएका हुन् । यो जाति, वर्ग र लिङ्गमा टिकेको समाजको नारी उत्पीडनको एउटा नमुना पर्व हो । यस कथाको अर्को अनौठो पक्ष के पनि छ भने अरून्धती सात वटा ऋषिकी साझा पत्नी थिइन् उनी चाहिँ कसरी सदा कन्या सदा पवित्र ? उनको पूजा गरेपछि ब्रह्म हत्याको पाप र जान अनजानमा परेका पापहरू पनि सबै नष्ट भएर जाने ?
दसैँमा मूलतः हिन्दु धर्मावलम्बीहरूले शक्तिको प्रतीकका रूपमा देवीको पूजा–आराधना गर्ने गर्दछन् । दसैँको थालनी आश्विन शुक्ल प्रतिपदाको दिन घटस्थापनाबाट हुन्छ । दुर्गाको प्रतीक मानेर पूर्ण घटको स्थापना गरिन्छ र बालुवा मिसाएको माटोमा मकै, जौ, गहुँ, धान आदि अन्नको बीउ छरिन्छ । अनि त्यहाँ प्रत्येक दिन दुर्गा सप्तसतीको पाठ गरिन्छ । दुर्गा तथा दुर्गा गण (उनका नौवटा विभिन्न नामका स्वरूप) ले महिषासुर नाउँको राक्षससित युद्ध गरेको सङ्केतको रूपमा नौ दिनसम्म भगवतीको उपासना गरिन्छ । यस समयमा देशभरिकै शक्ति पीठहरूमा पूजाका लागि भीड लाग्ने गर्दछ । यस पर्वको मुख्य आकर्षण सप्तमीको फूलपातीदेखि सुरु हुन्छ । विशेष गरी काठमाडौँको हनुमान ढोकाको वसन्तपुर दरबारमा फूलपाती महोत्सव र टुडीखेलमा फूलपाती लिन हनुमान ढोकाबाट एउटा सरकारी टोली (जसमा पुरोहित पनि सम्मिलित हुन्छन्) गोरखा दरबार जान्छन् र पैदल मार्गबाट फूलपाती जमलमा ल्याई पुराएपछि त्यही ठाउँबाट फूलपाती महोत्सव सुरु हुन्छ । उक्त जुलुसमा सरकारी अधिकृत, गुरुजुको पल्टन, अन्य कर्मचारी, कलस्यौली आदि सम्मिलित हुन्छन् । यसपछि आठौँ र नवौँ दिनमा विभिन्न शक्ति पीठ र घरघरमा समेत पारम्परिक रूपले दसैँ मनाउनेहरूले बलि दिने गर्दछन् । जनावरको रगतले भगवतीलाई राक्षस संहार गर्न बढी मिल्छ भन्ने हिन्दु धारणाअनुसार त्यस दिन हनुमान ढोकामा प्रशस्त मात्रामा जनावरहरूको बली दिइन्छ र कोतहरूमा पनि यसै गरिन्छ ।

पशु बली नरुचाउनेहरूले समेत कुभिन्डो, फर्सी, केरा आदि काटेर भए पनि बली दिएरै छाड्दछन् । दसैँको अन्तिम दिन भगवतीले राक्षसमाथि विजय हासिल गरेको मानेर हिन्दुहरूले आप्mना मान्यजनहरूबाट दही–अक्षता र अबीरको टीका निधारमा लगाई आशीर्वाद ग्रहण गर्ने गर्दछन् । टीका लगाउँदा पौराणिक पात्र र सामन्तहरू जस्तै होऊ भन्ने आशीर्वाद दिइन्छ–आयुद्र्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे आदि आदि । महिलाहरूलाई यसमा पनि विभेद गरिन्छ पुरुषलाई एक खालको आशीर्वाद दिइन्छ भने महिलाहरूलाई अर्कै खालको आशीर्वाद दिइन्छ ।
यस सम्बन्धमा प्रचलित धार्मिक कथा यस्तो छ ः देवराज इन्द्र र राक्षस राजा महिषासुरका बिचमा भएको युद्धमा इन्द्र र देवताहरूको हार भयो । देवताहरू हार मानेर बस्ने कुरै भएन । उनीहरूलाई महिषासुरको मृत्यु पुरुषको हातबाट हुन नसक्ने थाहा भएपछि उससित लड्नका लागि सर्वशक्तिमान् नारीको निर्माण गर्ने निर्णयअनुसार सबैले आ आफ्नो शक्तिहरू दिएर महाशक्ति भएकी अति सुन्दर महिलाका रूपमा दुर्गाको निर्माण गरे । भगवतीप्रति अति मोहित महिषासुरले उनलाई जित्न सके बिहे गर्न पाउने लोभले युद्ध गर्‍यो र ऊ युद्धमा हार्‍यो । यही कारणले देवी भगवतीको पूजा गर्ने, बली दिने, टीका लगाउने चलन चलाइएको हो भनिन्छ । सायद यसैले दसैँमा बढी काटमार गरिन्छ । पञ्च बली दिने गरिन्छ ।
यस सम्बन्धमा अर्को धार्मिक कथा पनि प्रचलनमा रहेको पाइन्छ । त्यसअनुसार अयोध्याका राजकुमार रामचन्द्रकी पत्नी सीतालाई लङ्काको राजा रावणले चोरेर समुद्रपारिको आफ्नो देशको बगैँचामा लगेर राखेको थियो । उसलाई युद्धमा जितेर सीतालाई ल्याउन रामले नौ दिनसम्म दुर्गा भगवतीका नौवटा स्वरूपका जयन्ती, माला, काली भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वाहा र स्वधा नामक देवीहरूको पूजा–अर्चना गरे । बलि दिए । दशमीका दिन अपराजया नामकी दुर्गाको फेरि आराधना गरेर टीका लगाएर विजयका लागि प्रस्थान गरे । त्यही दिनको सम्झना स्वरूप वा शक्तिकी देवी दुर्गाबाट शक्ति हासिल गर्न, कठिनाइहरूमाथि विजय पाउन दसैँ मनाउने गरिएको भनिन्छ ।

हिन्दु धर्म मान्नेहरूले मात्र यस खालका कथाहरू गढेका छैनन्, अन्य धर्म मान्नेहरूले पनि कथेका छन् । उदाहरणका लागि बुद्ध मार्गीहरूको कथालाई अघि सार्न सकिन्छ । कलिका राजा अशोकले युद्धमा जीत हासिल गरे तापनि उनी युद्धमा हुने काटमार देखेर एकदमै विचलित एवम् दुःखी भए । उनी अन्त्यमा कहिल्यै युद्ध नलड्ने निष्कर्षमा पुगे । यसरी उनले आफैँमाथि विजय हासिल गरेकाले यसलाई दिनलाई विजयको दिन मानियो । यसरी बुद्ध मार्गीहरूले पनि दसैँलाई आफ्नो चाड बनाउने प्रयास गरेका छन् ।
तिहारका धार्मिक पक्षका अतिरिक्त अन्य पक्ष पनि नभएका होइनन् । तिहारले मानव तथा पशुपन्छीको प्रगाढ सम्बन्धको एकातिर चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ र दिदी–बहिनीबिचको आत्मीय सम्बन्धलाई पनि प्रस्ट्याउँछ । यति भएर पनि हिन्दुहरूले यसको धार्मिक पक्षलाई नै बढी महत्त्व दिँदै आएका छन् । यमराज नामक राक्षसले जीवित मानवमा भयको सृजना गरिरहेको बेलामा दिदी–बहिनीहरूले यमराजको आँखा छलेर आप्mना दाजुभाइहरूलाई बचाएको घटनाका आधारमा तिहार वा यमपञ्चक मनाउने प्रचलन चलेको हो भनिन्छ । यस चाडका सन्दर्भमा अन्य कतिपय अन्धविश्वासहरू पनि निकै मात्रामा फैलाइएका छन् । जस्तो तिहारको पहिलो दिन कागलाई शुभ–अशुभ समाचार ल्याउन सक्षम चरा मानेर त्यसले जीवनमा सधैँ शुभ समाचार ल्याओस् भन्ने चाहना राखी पूजा गरिन्छ र मिठो मसिनो खान समेत दिने गरिन्छ । तिहारको दोस्रो दिन यमराजको सन्देश वाहक मान्दै यमराजले गरेका विभिन्न अशुभ, शुभ समाचार आफूकहाँ चाहिँ ल्याइदेओस् तर यहाँका समाचार चाहिँ यमराजकहाँ नपुराओस् भन्ने चाहना सहित मानिसको पुरानो पाल्तु जनावर र मित्र कुकुरको पूजा गर्ने चलन छ । तेस्रो दिन कुँडो, मकैको पीठो, खोले आदि दिई गाईको पूजा गरिन्छ । हिन्दु परम्परामा गाईलाई पवित्र जनावर र गौमाताका रूपमा लिने गरिन्छ । खेतीका लागि गोरुको आपूर्ति गर्ने, दूध जस्तो खाद्य वस्तु दिने र अन्य कार्यमा ठुलो सहयोग पुर्‍याउने हुनाले गाईलाई पुज्ने गरिएको हो भनिन्छ । यसै दिन साँझपख घर घर धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । देउसी भैलो खेलिन्छ ।

तिहारको चौथो दिन गोबद्र्धनको पूजा गरिन्छ । यस दिनलाई खास गरी काठमाडौँका नेवार सम्प्रदायले ‘म्ह: पूजा’को रूपमा आफ्नो शरीर र आत्माको पूजा गर्दछन् । यसै दिन नेपाल संवत्को थालनी हुने हुनाले काठमाडौँका बासिन्दाले त्यसलाई नयाँ वर्ष प्रवेशका रूपमा विभिन्न समारोह गरेर मनाउने गरेका छन् । तिहारको अन्तिम दिन अर्थात् भाइटिका यस चाडको मुख्य दिन हो । यस दिन दिदीबहिनीहरूले आफ्नो दाजुभाइलाई यमराजले नहरुन् भनेर बनाएको विशेष मण्डपमा देवताको पूजा गर्ने, दियो बाल्ने र मण्डपमा कहिल्यै नसुक्ने तेलको घेराबन्दी गरेर दाजुभाइलाई रङ्गिन टीका (सात रङको) लगाई अनेक थरीका खाने परिकार, मरमसला दिने र भोजन गराउने गर्दछन् । यसपछि दाजुभाइले उपहार दिने गर्दछन् ।

कार्तिकको शुक्ल पक्ष द्वितीयाको दिन मनाइने भाइटिका वा तिहारका सन्दर्भमा प्रचलनमा रहेको धार्मिक कथाअनुसार सूर्यका सन्तान यमराज र यमुना भाइबहिनी थिए । धेरै वर्षपछि यमराज यमुनालाई भेट्न गएछन् । स्वाभाविक रूपमा यमुनाले खुसी भएर आफ्नो दाजुको राम्रो स्वागत,सत्कार गरिन् र सुख–समृद्धिको कामना गरिन् । यमराज साह्रै खुसी भए र बिदाइको बेलामा उनले बहिनीलाई वरदान माग्न भने । यमुनाले तपाईँको पूजाआजा गरेर जसले दाजुभाइलाई तेल घसिदेला, टीका लाइदेला उसको लामो आयु होओस् र ऊ कहिल्यै नरकमा नपरोस् भनिन् । यमराजले तिमीले भनेजस्तै हुनेछ भन्ने आशीर्वाद दिए । त्यसपछि यो चाड चलनमा आयो भनिन्छ । दाजुभाइको दीर्घायु र स्वर्गको आशामा दिदीबहिनीहरूले टीका लगाइने परम्पराको थालनी यसरी भएको हो भन्ने गरिएको छ ।

दीपावलीका सन्दर्भमा पनि अर्को कथा पनि हाल्ने गरिएको छ । बली राजाले ९९ वटा अश्वमेध यज्ञ गरेछन् । सय वटा यज्ञ गरेको खण्डमा स्वर्गका राजा इन्द्रले आफ्नो राजगद्दी छाडिदिनु पर्ने हुन्थ्यो । इन्द्र हारगुहार माग्न विष्णु भगवान् कहाँ पुगेछन् । उनले कुनै उपाय गरौँला चिन्ता नलेऊ र गएर राज गर भनेर उनलाई विश्वास दिलाएर पठाए रे । बलीलाई सयौँ अश्वमेध यज्ञ गर्न नदिने उद्देश्य लिएर विष्णुले वामनको रूप लिए र बलीसित भिक्षा माग्न पुगे । बलीले वामनकै माग बमोजिम तीन पाउ टेक्ने ठाउँ दिने वाचा गरे । एउटा पाउले स्वर्ग र मर्त्य लोक ढाक्यो, दोस्रोले पाताल, तेस्रो पाउ राख्ने ठाउँ नै भएन । विष्णुले अर्को पाउ तिम्रो टाउकामा राख्छु भनेर बलीको टाउकामा खुट्टा के टेकेका थिए बली त्यो भार थाम्न नसकेर नरक पुगिहाले । तिमी महादानी रहेछौ लौ माग वरदान भनेर वामनले भनेपछि बलीले अबदेखि यस दिनको सम्झनामा मानिसले रमाइलो गरून्, खुसी मनाउन्, दीपावली गरून् भन्ने चाहना राखेछन् । त्यही चाहना अनुसार दीपावली गर्ने गरिएको भनिन्छ । कवि लेखनाथ पौडेलको एउटा कविताको पङ्क्ति यस्तो छ–‘जय जय लक्ष्मी अन्त नजाऊ घुमिफिरी मेरै घरमा आऊ ।’ लक्ष्मीपूजा वा दीपावली यही धनलीप्साको, धनी मानी हुने मानसिकताको राम्रो उदाहरण हो ।

अर्को कथा पनि पाइन्छ दीपावलीको सन्दर्भमा । रामले लड्ढाको विजय गरेर सीतासहित अयोध्या फर्केपछि त्यहाँका बासिन्दाले दीपावली गरेर खुसी मनाएका थिए रे । त्यसैको सम्झनामा दीपावली गरिएको हो भन्ने पनि गरिन्छ ।
धार्मिक अन्धविश्वास, सामन्ती राजतन्त्रसित जोड्ने प्रयास र खर्चिलो र भड्किलोपनले यसलाई पनि गाँजेको छ । जुवा तास, लङ्गुर बुर्जा, चिट्ठाजस्ता उपहारको भाँडभैलो यसका विकृत परम्परा हुन् । उपभोक्तावादी प्रवृत्तिको विकास ।
मार्ग चतुर्दशीका दिन मनाइने बाला चतुर्दशी चाडका सन्दर्भमा पनि एउटा किम्बदन्ती जोड्ने गरिएको पाइन्छ । त्यसअनुसार बाला सुर राक्षस पहिले आर्यघाटमा मृतकहरूको दाहसंस्कार गराउने पेसाको व्यक्ति थियो उसको नाम बालानन्द थियो । एक दिन दाहसंस्कार गर्दागर्दै थाकेर त्यहीँ बसी खाजा खान लाग्दा चिताबाट मृत व्यक्तिको गिदी उछिट्टिएर उसको भागमा प¥यो, थाहा नभएको कारणले उसले त्यो खायो । उसलाई त्यो अति स्वादिलो लाग्यो । उसले गिदी मिसिएकाले त्यस्तो भएको हो भन्ने थाहा पाएपछि खोजी खोजी मुर्दाको गिदी खान थाल्यो । यसरी ऊ डरलाग्दो राक्षस बन्यो । घाटमा दाहसंस्कार गर्ने साहस कसैले पनि गर्न सकेन । यस कारण उसलाई उसकै मितबाट रक्सी ख्वाएर मार्ने योजना बनाइयो र रक्सी खाएर अचेत भएको उसलाई इनारमा खसालेर मारियो । उसको मित यस घटनाको केही समयपछि नराम्ररी विचलित भयो र ऊ कसरी प्रायश्चित्त गर्ने होला भनेर छटपटिन थाल्यो ।

यस्तै समयमा शिवजीले सपनामा दर्शन दिई पाप मुक्तिका लागि त्यस क्षेत्रमा सत वीज छर्ने सल्लाह दिए रे । यसरी बालानन्दको सम्झनामा पशुपति क्षेत्रमा सत वीज छरी वाला चतुर्दशी मनाउन थालिएको र यसको सिको अन्यत्र पनि गरिएको हो भनिन्छ । त्यस दिन सात थरीका अन्न, गेडागुडीको बीउ देवस्थलमा छरे पापबाट मुक्ति हुने र पितृसमेत मुक्त हुन्छन् भन्ने भनाइ धर्म भीरुहरूमा प्रचलित छ ।
हिन्दु पुराणको एक कथामा आधारित फागु पूर्णिमा चाड कसै कसैले कृष्णले युवावस्थामा गोकुलमा होली खेलेको कथाको स्मरणमा मनाइएको हो भन्ने मान्दछन् भने अरू कसै कसैले चाहिँ होलिकासित सम्बद्ध कथासित जोड्दछन् । यस कथाका अनुसार हिरण्यकशिपु राक्षसका छोरा प्रह्लाद विष्णुका परम भक्त थिए । उनलाई बाबुले विष्णुको भक्ति नगर्नू भन्ने आदेश दिएका थिए तापनि प्रह्लादले विष्णुको भक्ति गर्न छाडेनन् । प्रह्लादका बाबुले आप्mना छोरालाई मार्नको लागि आगोले पोल्न नसक्ने आफ्नी बहिनी होलिकालाई बोलाई प्रह्लादलाई काखमा राखेर आगोमा बस्ने निर्देशन दिए । तर यो कुरा आगो (अग्निदेव)लाई थाहा थियो । त्यसैले उनले होलिकालाई चाहिँ डढाएर भस्म पारे भने प्रह्लाद चाहिँ भगवान्को नाम जप्दै आगोबाट सुरक्षित बाहिर आए । यसै कारण यस दिनको सम्झनामा होलिका दाह गर्न आगो बालिन्छ र त्यसको खुसीको प्रतीक रङ्ग र अबीर एक आपसमा दलेर खेलिन्छ । कसै कसैले चाहिँ जाडो मौसम समाप्त भई वसन्त ऋतुको आगमनको प्रतीकको रूपमा रंगीबिरंगी अबीर, रङ्ग आदि मानिसहरूले एक आपसमा लगाई बडो उल्लासमय वातावरणमा यो चाड मनाइने गरिएको मान्ने गरेका छन् ।
यसरी चाडपर्वले धार्मिक अन्धविश्वास, भाग्यवाद, अवतारवाद, स्वर्ग–नरकजस्ता शोषणकारी सोचलाई नै बढाउने र तिनलाई दरिलो पार्ने काम गर्दछन् । यो शोषणलाई स्थायित्व दिने चिन्तनको परिणाम हो । धर्म र धार्मिक अन्धविश्वास भय र अज्ञानताबाट उत्पन्न भ्रमको परिणाम हो । यो पूर्णतः अवैज्ञानिक र जनविरोधी हुन्छ ।
यति छलफल गरिसकेपछि राम नवमी, कृष्णाष्टमी जस्ता कथित ईश्वरका नाममा चलाइएका चाडपर्वका बारेमा, तिनको धार्मिक प्रकृतिका बारेमा थप चर्चा गर्नु आवश्यक छ जस्तो मलाई लाग्दैन ।
नयाँ“ जनवादी संस्कृतिको निर्माणको कुरो गरेर सामन्ती संस्कृतिका आधारभूत कुरालाई समेत परित्याग गर्न हिचकिचाउने परस्पर विरोधी क्रियाकलापको अन्त हामी सबैका लागि अत्यावश्यक छ । प्रगतिशील भनेर हिँड्ने हामी कतिपय व्यक्तिहरू शासक वर्गले जुन संस्कृति निर्माण गरेर आफ्नो प्रतिक्रियावादी विचार र संस्कृतिलाई दरिलो बनाउन खोजिरहेको छ, त्यही संस्कृतिलाई अवलम्बन र अनुसरण गरेर, त्यसैसँग आत्मसमर्पण गरेर हिँडिरहेका छौँ । संस्कृति वर्गीय हुन्छ र शासक वर्गको संस्कृति नै समाजको प्रभुत्वशाली संस्कृति हुन्छ भन्ने तथ्यलाई स्विकार्ने हो भने हामी कतिपय मानिसहरूले प्रभुत्वशाली सामन्ती–साम्राज्यवादी संस्कृतिलाई प्रश्रय र बढवा दिइरहेका छौँ । यस्तो विडम्बनापूर्ण स्थितिलाई निरन्तरता दिन छाड्नै पर्दछ र यस परिदृश्यलाई बदल्न मिहिनेत गर्नै पर्दछ । यसका निम्ति सरसहयोग पुगोस् भन्ने आशयले यो गोष्ठीको आयोजना गरिएको हो ।
सामन्ती संस्कार र प्रवृत्तिका विरुद्ध नजुधी तिनका ठाउँमा नयाँ संस्कारहरू स्थापित नगरी वा पुरानालाई रूपान्तरण नगरी र कतिलाई नहटाई नयाँ जनवादी संस्कृतिको निर्माण हुन सक्तैन । नयाँ जनवादी संस्कृतिको निर्माण विना समाजवादी संस्कृतिको दिशामा अघि बढ्न र व्यक्तिको पूर्ण र मुक्त विकासको आदर्शलाई स्थापित गर्न पनि सकिने छैन । त्यसैले यस किसिमको अन्योल र अस्पष्टताबाट मुक्त हुन र सांस्कृतिक रूपान्तरणलाई गति दिनका लागि सहयोग पुगोस् भन्ने उद्देश्य राखेर यो लेख लेख्न म प्रेरित भएको हुँ ।
सांस्कृतिक रूपान्तरण सहज कार्य होइन यो एकदमै जटिल र दीर्घकालीन प्रकृतिको समेत हुन्छ र यसलाई निरन्तर जारी राख्नु पर्ने हुन्छ । शताब्दीयौं अघिदेखि संस्कारका रूपमा व्यक्तिभित्र हस्तान्तरित हुँदै आएका परम्परा, रीतिरिवाज, आस्था र विश्वासहरूलाई भत्काउन र नयाँ संस्कृतिलाई संस्कारकै रूपमा लागु गर्नु अति कष्टकर कार्य हो । भौतिक वस्तुहरूलाई झैँ संस्कृतिलाई तत्काल भत्काउन सकिन्न । यसका लागि निरन्तरको सचेतन प्रयास र निरन्तरको क्रान्तिको आवश्यकता हुन्छ । सांस्कृतिक रूपान्तरणको अर्थ आन्दोलनमा भएका कमी, कमजोरी र विचलनहरूसित सङ्घर्ष गर्नु र तिनलाई सच्याउनु, पुरानो संस्कृतिलाई नवीन रूप दिनु र नयाँ संस्कृतिको निर्माण गर्नु भन्ने बुझिन्छ । यी तिन वटै काम गर्नका लागि शासक वर्गीय विचारधाराको विरोध र जन पक्षीय, सर्वहारा वर्गीय एवम् क्रान्तिकारी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक हुन्छ । नेपालमा शासक वर्गीय विचारधाराका रूपमा सामन्तवादी तथा साम्राज्यवादी–विस्तारवादी विचारधारा प्रभुत्वशाली रहँदै आएको छ भने त्यसको विरोधमा कम्युनिस्ट विचारधारा क्रियाशील हुँदै आएको छ ।

कम्युनिस्ट विचारधारालाई सर्वहारावादी र आम उत्पीडित वर्गको विचारधारा पनि भन्न सकिन्छ । वर्तमान नेपालमा शासक वर्गीय विचारधाराले प्रतिगमनको पक्षमा र यथास्थितिवादलाई बचाउने कार्य गरिरहेको छ भने मार्क्सवादी विचारधाराले सबै उत्पीडित जनवर्गसहित सिङ्गो मानव जातिको मुक्ति र क्रान्तिको पक्षमा काम गर्दै आएको छ । यही कारणले नेपाली जनताको मुक्ति र क्रान्तिका लागि, संस्कृतिको क्षेत्रमा सांस्कृतिक रूपान्तरणका लागि दर्शन, राजनीति, नैतिकता, कानुन, साहित्य–कला लगायतका संस्कृतिका सबै क्षेत्रमा शासक वर्गीय वा प्रति ध्रुवीय विचारधाराको विरोध र मार्क्सवादी विचारधाराको पक्षपोषण अनिवार्य रूपमा आवश्यक छ । यही क्रममा नै उत्पीडन, दमन, रूढिवाद, अन्धविश्वास आदिमा आधारित जनविरोधी, अराष्ट्रिय र अवैज्ञानिक विचार, मूल्यमान्यता र संस्कार, बानीबेहोरा, रुचि आदि विषयहरूमा परिवर्तन ल्याउन आवश्यक हुन्छ । यसै सिलसिलामा उल्लिखित पुराना चाडपर्वहरूलाई नवीकरण गर्दै अगाडि बढ्न सकिन्छ । नेपालको प्रगतिशील सांस्कृतिक आन्दोलनमा वर्तमान समयमा अनेकौँ किसिमका विचलनहरू देखिएका छन् । यस्ता विचलनहरू मूलतः सामन्तवाद–साम्राज्यवाद परस्त चिन्तन, प्रवृत्ति, संस्कार र चाडबाडलाई चटक्कै छाड्न नचाहने र अनेकौँ बहानामा तिनको पालना गर्दै जाने प्रवृत्तिमा प्रकट हुने गरेका छन् । दलित, जनजाति र महिला समुदायलाई हेप्ने, गणतन्त्रको कुरा गर्ने तर काममा राजतन्त्रको अभ्यास गर्न चाहने, जन्म, विवाह, मृत्यु, दसैँ, तिहार, तीजजस्ता पुराना संस्कार र चाडहरूको दास बन्ने लगायतका जनविरोधी तथा अवैज्ञानिक चिन्तन र प्रवृत्तिले सामन्तवादी विचलनलाई व्यक्त गर्दछन् भने राष्ट्रिय स्वाधीनताप्रति उपेक्षा भाव देखाउने, विदेश र विदेशीहरूको सेवा भावमा लिप्त रहने, उत्तर आधुनिकता वाद प्रतिको मोह जस्ता प्रवृत्तिहरूले साम्राज्यवाद तथा विस्तारवादी विचलनहरूलाई सङ्केत गर्दछन् ।

सांस्कृतिक क्षेत्रमा विद्यमान यस्ता विभिन्न किसिमका विचलनहरूलाई अझ विस्तारमा गएर व्याख्या गर्दा व्यवहारवाद, अनुभववाद, सार सङ्ग्रह वाद, बहुल वाद, जनसूत्रवादजस्ता दार्शनिक विचलन, दक्षिणपन्थी संशोधनवाद, मध्य पन्थी विचलन, उग्र वामपन्थी विचलन र नव वामपन्थी राजनीतिक विचलनका साथै संस्कार, विश्वास, आचरण र परिवार तथा समाजका दायित्वसँग जोडिएका पुरातन चिन्तनमा टाँसिइरहने नैतिक विचलनका रूपमा विभाजित गरेर हेर्न पनि सकिन्छ ।
सांस्कृतिक रूपान्तरणको समस्या भनेको आजको सन्दर्भमा शासक वर्गका विचार, भावना र संस्कृतिको उत्पीडित वर्गका विचार, भावना र संस्कृतिमा रूपान्तरणको समस्या हो । लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि पनि नेपालको अर्धसामन्ती, अर्धऔपनिवेशिक चरित्रमा परिवर्तन खासै आएको छैन । नेपाली जनतामाथिको सामन्त, दलाल–नोकर शाह र साम्राज्यवादी एकाधिकारवादी पुँजीपति वर्गको शोषण–उत्पीडन अहिले पनि यथावत् छ, मूलतः सामन्ती सामाजिक सम्बन्ध र स्वामित्वको अन्त भएको छैन । वर्गीय, जातीय, लैङ्गिक, वर्णगत र क्षेत्रीय उत्पीडन अहिले पनि उस्तै नै छ । सारमा नेपालको सामाजिक, आर्थिक र सांस्कृतिक अवस्थामा आधारभूत परिवर्तन आएको छैन । नेपालको अहिलेको यस ठोस ऐतिहासिक अवस्थामा नेपाली सांस्कृतिक आन्दोलनको अभीष्ट क्रमशः नयाँ जनवादी संस्कृतिको निर्माण गर्दै समाजवादी र साम्यवादी संस्कृतिको दिशामा अघि बढ्नु हो । सांस्कृतिक रूपान्तरणको सवालमा यसलाई आत्मसात् गर्न सकेको खण्डमा मात्र सही दिशामा अघि बढ्न सकिन्छ । सांस्कृतिक रूपान्तरणको सवाल होस् कि चाडबाडको रूपान्तरणको सवाल होस् आन्दोलनमा सहभागी आन्दोलनकर्मीहरू र आम जनताका बिचमा भिन्नता छ । आन्दोलनकारीहरूको संस्कृति सम्बन्धित सामाजिक परिवेशमा आधारित हुने भए तापनि सर्वहारावादी संस्कृति र साम्यवादको सिद्धान्तको आदर्श र उचाइबाट निर्देशित हुनु अपरिहार्य हुन्छ । समाज परिवर्तनको महान् आदर्शबाट अभिप्रेरित कार्यकर्ताले आफूलाई मार्क्सवादको समुन्नत र अग्रगामी चेतनाले समृद्ध पारेकै हुनुपर्दछ । आम जनताको स्थिति अवश्य पनि यस्तो होइन । तर कतिपय सन्दर्भमा आम जनता र कार्यकर्ताका बिचमा सांस्कृतिक सवालमा, अझ ठोसमा भन्दा पुराना चाडबाड मान्ने सन्दर्भमा खासै भिन्नता पाउन छाडिएको छ । आम जनताले जसरी चाडबाडहरूलाई मान्ने गरेका छन् उनीहरूमध्ये कतिपयले पनि त्यसरी नै मनाउँदै आएको देखिन्छ । यस कमजोरीलाई अनिवार्यता सच्याउनु जरुरी छ । आन्दोलनमा प्रवेश गर्नासाथ पुराना अवशेषहरू, संस्कारहरू, आनीबानीहरू त्यसै परिवर्तन भइहाल्छन् भन्ने होइन । तिनलाई सचेतन प्रयासबाट मात्र हटाउन सकिन्छ, नयाँ रूप दिन सकिन्छ र नयाँ गुणहरू विकसित गर्न सकिन्छ । यसका लागि वर्ग सङ्घर्ष र अन्तर सङ्घर्षका प्रक्रिया अनिवार्य हुन्छ । त्यसमा पनि आत्म रूपान्तरणको जटिल प्रक्रियामा आफूलाई होम्ने र त्यसका क्रममा आफूलाई रूपान्तरित गर्ने आँट र साहस हुनै पर्दछ । सर्वहारा महान् सांस्कृतिक क्रान्तिका नेता र योद्धा माओका शब्दमा यो स्वयम् आप्mनै शरीरमा आगो सल्काउने, आफैँलाई जलाउनका लागि ज्वाला हम्कने कुरा हो । आप्mनै शिर जलाउने यस किसिमको साहस गरे मात्र आफूलाई रूपान्तरित गर्न सकिन्छ । त्यसो भयो भने मात्र सांस्कृतिक रूपान्तरण सम्भव छ र पुराना चाडबाडलाई नयाँ“ रूप दिन सकिन्छ ।
यसका लागि महान् सर्वहारा सांस्कृतिक क्रान्तिका समुन्नत शिक्षाहरूद्वारा निर्देशित हुन जरुरी हुन्छ । सर्वहारा सांस्कृतिक क्रान्तिका पाठहरू भनेको अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनका समृद्ध ऐतिहासिक अनुभवहरूको सार र संश्लेषण हो । समाजवादी क्रान्ति कालको वर्ग सङ्घर्ष र अन्तर सङ्घर्षको ऐतिहासिक अनुभव भएको कारणले यसलाई समाजवादी कालमा मात्र क्रियान्वयन गर्ने हो भन्ने किसिमको गलत चिन्तनबाट सर्वथा बच्नु पर्दछ । सांस्कृतिक रूपान्तरणको अभियान सारमा समग्र समाजको भौतिक र आत्मिक मूल्यहरूको रूपान्तरण गर्ने अभियान हो । हामीले यस यस अभियानलाई सही ढङ्गले अघि बढाउन अहिलेदेखि नै एकातिर प्रतिक्रियावादी तथा संशोधनवादी चिन्तनमाथि सशक्त रूपले आक्रमण र प्रहार गर्न र अर्कोतिर आफैँमा विद्यमान तमाम वैचारिक तथा सांस्कृतिक पछौटेपन र प्रदूषणका विरुद्ध सङ्घर्ष चलाउनुपर्ने हुन्छ । यसलाई भोलिका कामका रूपमा अहिले छाड्न सकिन्न । सांस्कृतिक क्रान्ति समाजवाद तथा कम्युनिजमको निर्माणको प्रक्रियामा समाजको आत्मिक जीवनमा मूलभूत परिवर्तनको एक मात्र माध्यम हो । समाजवादी क्रान्तिले मात्र सांस्कृतिक क्रान्तिका निम्ति सम्पूर्ण आवश्यक पूर्वाधारहरूको निर्माण गर्दछ । सांस्कृतिक क्रान्ति समाजवादी क्रान्तिको प्रक्रियामा नै राजनीतिक तथा आर्थिक रूपान्तरणहरूको आधारमा, श्रमजीवी जनताले सत्तामा नियन्त्रण कायम गरेपछि र सम्पूर्ण भौतिक तथा आत्मिक मूल्यहरू जनताका हातमा स्थानान्तरण भएपछि मात्र सम्पन्न गर्न सम्भव हुन्छ । सन् १९२३ तिर सोभियत सङ्घको व्यावहारिक अनुभवका क्रममा नै सांस्कृतिक क्रान्ति भन्ने शब्दावली प्रयोगमा आइसकेका हो । पुरानो समाजको विचार, संस्कार, आनीबानी र संस्कृतिलाई वर्ग सङ्घर्षका क्रममा परित्याग गर्न प्रयत्न गर्ने, सही अर्थमा समृद्ध आत्मिक संस्कृतिको निर्माण गर्ने र व्यक्तिको चौतर्फी विकासका लागि सम्भावनाहरू जुटाउने यसको उद्देश्य थियो । चिनियाँ महान् सर्वहारा सांस्कृतिक क्रान्ति पनि यसै उद्देश्यद्वारा अभिप्रेरित थियो । तत्कालका निम्ति यसको सारतत्व संस्कृतिका सबै उपलब्धिहरूमाथिको सम्पत्तिशाली वर्गहरूको एकाधिकारलाई उन्मूलन गर्नु, आत्मिक मूल्यका सम्पूर्ण विषयहरूलाई आम जनताको पहुँचभित्र ल्याउनु, समाजवादी बुद्धिजीवी समुदायको सृजना गर्नु र श्रमप्रति नयाँ दृष्टिकोण विकास गर्नु थियो । निश्चय नै चीनको महान् सर्वहारा सांस्कृतिक क्रान्ति पुँजीवादको पुनर्स्थापना रोक्ने कार्य र संशोधनवादको मूलोच्छेदन गर्ने उद्देश्यमा आधारित सर्वहारा वर्गको अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्तमा आधारित राजनीतिक क्रान्ति थियो । यो पार्टी, सेना, सरकार, शिक्षा र संस्कृतिका फाँटमा घुसेका लुकेर बसेका वा प्रच्छन्न शत्रुहरू पुँजीवाद पन्थी हरूका विरुद्ध परिचालित थियो । तर यसलाई मात्र राजनीतिक उद्देश्यमा सीमित गरेर हेर्ने र अनुभवलाई गहिरिएर बुझ्न प्रयत्न नगर्ने प्रवृत्ति हामीकहाँ विद्यमान छ । यसबाट मुक्त हुनु अत्यावश्यक छ । बम्बार्ड दि हेडक्वार्टर भनेर राजनीतिको केन्द्रमा आक्रमण गर्ने निर्देशनका साथ थालिएको भए तापनि संस्कृतिका विचार, संस्कृति, परम्परा वा रीति र बानीबेहोरा जस्ता चार पक्षमा नै यो आधारित थियो । हाम्रो आजको सन्दर्भमा सांस्कृतिक क्रान्तिको शिक्षालाई ग्रहण गर्नु भनेको वर्ग सङ्घर्षमा सहभागी हुँदै पुराना सामन्ती एवम् पुँजीवादी विचार, संस्कार, आनीबानी, चाडबाड र समग्रमा पुरानो संस्कृतिलाई परित्याग गर्न सचेतन रूपबाट क्रियाशील रहनु र समुन्नत व्यक्तित्व निर्माणका निम्ति लागिपर्नु हो । यसलाई सांस्कृतिक आन्दोलनको आदर्श मानेको खण्डमा मात्र सही किसिमले नयाँ जनवादी संस्कृतिको निर्माणमा सहयोग पुर्‍याउने र चाडबाडहरूलाई नयाँ रूप दिन सकिन्छ ।
चाडबाडलाई हेर्ने सन्दर्भमा हामीकहाँ विभिन्न किसिमका प्रवृत्तिहरू प्रगतिशील आन्दोलनमा देखा पर्ने गरेका छन् । एक थरी प्रगतिशीलहरूले पहिल्यैदेखि पुराना चाडबाड र संस्कृतिलाई आप्mनै तरिकाले आप्mनो सिद्धान्त र विचारको प्रतिकूल भएको मान्दै बिना होहल्ला नमान्ने र त्यसबाट पृथक् रहने प्रयास गर्दै आएका छन् । आफूलाई प्रगतिवादी मान्ने तर सामन्ती संस्कृतिको पिँजरामा कैद बनाइराख्ने, आफूलाई भौतिकवादी भन्ने तर आध्यात्मिक संस्कार र चाडबाडको फन्को मारिरहने र आफूलाई निरीश्वर वादी भन्दै ईश्वरको भक्तिमा समर्पित गरिरहने पाखण्डका विरुद्ध उनीहरूले आफूलाई सर्वथा पर राखेर आदर्श प्रमाणित गर्दै आएका छन् । यसरी नै अर्का थरीले सामूहिक रूपले दसैँजस्ता चाडबाडमा परिवारभन्दा अलग्गै भेला हुने, संस्कृति, अर्थतन्त्र, राजनीति जस्ता विविध विषयमा छलफल गर्ने, आमोद–प्रमोद गर्ने कार्यलाई शिविरका रूपमा सञ्चालन गर्दै आएका छन् । यो पनि प्रशंसनीय कार्य हो ।

तर एउटा अर्को प्रवृत्ति पनि छ जो यस्ता दसैँ लगायतका चाडबाडमा कुनै धार्मिक तत्त्व छैन, यो संस्कृतिसित सम्बन्धित पाटो मात्र हो र यसलाई मनाउनु उचित हुन्छ भनेर पारम्परिक रूपले नै यसलाई मनाउने पक्षमा उभिँदै आएको छ । परम्परागत रूपले चाडबाड मनाउने यस्ता मानिसहरूको पङ्क्तिमा कुनै तर्क नै नगरी लागिरहने पनि छँदै छन् । अर्का एक थरी पनि छन् जो आफूलाई सांस्कृतिक रूपान्तरणको पक्षमा रहेको देखाउन ज्यादै उत्सुक देखिन्छन्, तर आन्दोलनले विकल्प नदिएको, विकल्प नभएसम्म रूपान्तरमा जान नसकिने तर्क गर्ने गर्दछन् । उनीहरू आन्दोलनलाई विकल्प दिन नसकेकोमा आन्दोलनको आलोचना पनि निकै गर्दछन्, तर आफैँ पनि विकल्प दिने प्रयास गर्दैनन् । यो पनि आफूलाई रूपान्तरणबाट जोगाउने बहानाबाजी हो । सांस्कृतिक रूपान्तरणको प्रक्रियामा पुराना गलत परम्परा सबैको विकल्प हुन्छ भन्ने ठान्नु नितान्त गलत छ । केही रूपान्तरित हुन्छन्, केहीलाई परित्याग गर्नुपर्ने हुन्छ र कति नयाँ थपिँदै जान्छन् । राजमार्ग त्यसै बन्दैन, पहिले त्यहाँ कसै न कसैले थाहै नपाई सुरुआत गर्छ, त्यसलाई अरूले अनुसरण गर्छन्, गोरेटो बन्छ अनि मात्र राजमार्ग बन्ने हो । राजमार्ग बनिसकोस् अनि मात्र त्यसमा हिडौंला भन्ने सोच अवसरवादी सोच र रूपान्तरणको बाटो निर्माण गर्नबाट बच्ने सोच नै हो । जो कोहीले पनि आआफ्नो  तरिकाले रूपान्तरणको प्रक्रियामा अघि बढ्ने र अनुभवका आधारमा प्रारूप निर्माण गर्ने प्रक्रियाबाट नै सांस्कृतिक रूपान्तरण अघि बढ्छ र बढाइनु पर्दछ । आप्mना विरुद्ध सङ्घर्ष चलाउन नचाहने, आप्mनो शरीरमा आगो लगाउन डराउने र आफैँलाई जलाउन ज्वाला हम्कन साहस नगर्नेहरूले आत्म रूपान्तरण गर्न सक्तैनन्, सांस्कृतिक रूपान्तरणलाई सहयोग गर्न सक्तैनन् ।
धर्म, आध्यात्मिकता र पारलौकिकतासित नगा“सिएका र शासक वर्गको हितलाई प्रवर्द्धन नगर्ने चाडबाडहरूलाई हामीले त्यसमा भएका सामाजिक कुरीतिलाई हटाएर मात्र पनि मनाउन सक्तछौं । तर धर्म, आध्यात्मिकता र पारलौकिकतासित सम्बद्ध चाडबाडहरूलाई भने हामीले यति सहज रूपमा मान्न सक्तैन । तिनमा रहेका धार्मिक रूपलाई अलग्गाएर मात्र अर्थात् नवीकरण गरेर मात्र हामी तिनमा संलग्न हुन सक्तछौं । पहिलो कुरो यो । दोस्रो कुरो दसैँ जस्ता चाडबाडलाई एकदमै सरल बनाइनु पर्दछ, त्यति धेरै दिन मनाइनुको कुनै औचित्य छैन, त्यस्ता चाडबाडहरूलाई छोट्टाइनु पर्दछ । जटिल विधि विधानलाई सरल बनाइनु पर्दछ । दोस्रो कुरो । तेस्रो कुरो तिनलाई कम खर्चमा सम्पन्न हुने गरी मनाइनु पर्दछ, दशा बन्ने गरी होइन । चौथो कुरो सकेसम्म जननीतिलाई ख्याल गरेर चाडबाडहरूलाई रूपान्तरित गर्ने प्रयास गर्नु पर्दछ ।
तत्कालको स्थितिमा हामीले यति मात्रै काम गर्न सकिएमा चाडबाडलाई प्रगतिशील करण गरेको हुनेछ ।

पुराना चाडबाड, चालचलन, रीतिथिति सबैलाई एक झड्कामा सबै तोडेर एकदमै नयाँको थालनी गर्नुपर्छ भन्ने क्रान्तिकारी र अग्रगामी मित्रहरू नभएका होइनन् । यस सन्दर्भमा यस्ता मित्रहरूलाई मानव चिन्तन र संस्कृतिका दुई हजारभन्दा बढी वर्षहरूको विकासमा मूल्यवान् रहेका सबैभन्दा मूल्यवान् उपलब्धिहरूलाई आत्मसात् गरेको र नयाँ रूपमा ढालेको कारणले मार्क्सवादले क्रान्तिकारी सर्वहारा वर्गको विचारधाराका रूपमा आफ्नो  विश्व ऐतिहासिक महत्त्व हासिल गरेको हो भन्ने मार्क्सवादका गुरु लेनिनको भनाइलाई स्मरण गर्न आग्रह गर्दछु । सोभियत सङ्घमा सर्वहारा संस्कृतिको अतिशय वकालत गर्ने तर विगतका उपलब्धिहरूबाट त्यसलाई पृथक् राख्ने ‘प्रोलेट्कल्ट’ (प्रोलेटारियन कल्चर) नामक संस्थाको विरोध र विघटन सोभियत सङ्घमा बोल्सेभिक पार्टीले गर्नुको कारण पनि यही थियो । एकातिर परम्परामा, परम्परागत चाडबाडमा लिसो टाँसिएझैँ टाँसिइरहने र अर्कातिर परम्परा भत्काउने नाममा परम्परामा भएका सकारात्मकता केहीलाई पनि नदेख्ने दुइटै प्रवृत्ति ठिक छैनन् ।
मैले जे जति कुराहरू प्रस्तावित गरेको छु यी कामहरू सर्वप्रथम राजनीतिक पार्टीहरूले आफ्नो सङ्गठनहरूमा क्रियान्वयन गर्न विशेष पहल गर्नुपर्दछ । यसो गर्न उनीहरूले आचारसंहिता नै बनाउनु र आफू र मातहतका सङ्गठनमा अनिवार्य लागू गर्न प्रयत्न गर्नुपर्दछ ।
जनताका हकमा यसलाई प्रचारात्मक रूपमा लगिनुपर्दछ र उनीहरूलाई यसो गर्न वा नगर्न बाध्य पारिनु हुँदैन ।
माथि उल्लेख गरिएको नीति आम जनताका लागि होइन, आन्दोलनमा क्रियाशील प्रगतिशील कार्यकर्ताका लागि हो । यस नीतिलाई आम जनताका बिच प्रचारात्मक रूपमा लगिनु पर्दछ र तिनलाई पनि यही दिशामा अघि बढ्न प्रशिक्षित गरिनु पर्दछ । जनवादी पद्धति, छलफल, आलोचना, प्रोत्साहन र शिक्षाको पद्धति जस्ता उपायबाट उनीहरूलाई धर्म, धार्मिक आस्था, धर्ममा आधारित चाडबाडबाट मुक्त पार्ने प्रयास हामीले गर्नुपर्ने हुन्छ । जनतालाई करकाप गरेर, प्रशासनिक आदेश दिएर वा डर धम्की देखाएर पुरानो संस्कृति परित्याग गर्न र नयाँ संस्कृति अवलम्बन गर्न बाध्य पार्नु ठिक होइन ।
चाडबाडका सन्दर्भमा हामीले केही पुरानालाई नवीनीकरण गर्ने, केहीलाई परित्याग गर्ने मात्र होइन, नयाँ चाडबाडको निर्माण समेत गर्नुपर्ने हुन्छ । शहीद सप्ताह, जनयुद्ध दिवस, सांस्कृतिक प्रतिरोध दिवस, पार्टी स्थापना दिवस, अन्तर्राष्ट्रिय नारी दिवस, अन्तर्राष्ट्रिय मजदुर दिवस (मई दिवस) लगायतका दिवसहरूलाई हामीले चाडका रूपमा नै मनाउने प्रयास गर्नु पर्दछ । यी केही उदाहरण मात्र हुन्, यस्ता चाडहरू निरन्तर निर्माण र विकास हुँदै जानेछन् ।

( कम्युनिष्ट अनलाइनबाट साभार )

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...