Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6131
पदार्थ के हो ? - Gyaan Ghar

Gyaan Ghar

Advertisement

पदार्थ के हो ?

*  रामराज रेग्मी
यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र अझ भनौँ अन्तरिक्षका बडेमानका पिण्डहरूसम्मका हुन्छन् । ती तीन अवस्थामा रहेका हुन्छन् । ठोस, तरल र ग्याँस । विशेष परिस्थितिमा ती एक अवस्थाबाट अर्को अवस्थामा बदलिइरहन्छन् ।
भौतिक विज्ञानले ज्ञानेन्द्रियको सहायताबाट थाहा पाइने अथवा ज्ञानेन्द्रियलाई सहयोग गर्ने यन्त्रको माध्यमबाट थाहा पाइने भौतिक वस्तुलाई मात्र पदार्थ मान्दछ । तर, दर्शनशास्त्रले भौतिक जगत्मा स्वतन्त्र अस्तित्वमा रहेका जैविक तथा अजैविक वस्तु, प्रकाश वा तरङ्ग, प्राणी, वनस्पति एवम् मानव निर्मित संस्थाहरू र विभिन्न प्राकृतिक तथा सामाजिक परिघटनाहरूलाई समेत पदार्थ मान्दछ । मानव समाज र यसका विभिन्न सामाजिक रूपहरू बौद्धिक पदार्थ (Intellectual Matter) अन्तर्गत पर्दछन् । लेनिन भन्दछन्, ‘दर्शनशास्त्रमा पदार्थ भनेको स्वतन्त्र अस्तित्वमा रहेको वस्तुगत सत्यता हो, जसलाई विभिन्न जानकारीको माध्यमबाट थाहा पाउन सकिन्छ र चित्रमा उतार्न सकिन्छ’ (Spirkin 1983 : 49) । विभिन्न पदार्थलाई गुरुत्वाकर्षण र विद्युतीय चुम्बकले एक–आपसमा आबद्ध गरेका हुन्छन् । आकाशका सूर्य, तारा, पृथ्वी र अन्य ग्रहहरू सबै गुरुत्वाकर्षणका कारण एउटा निश्चित पद्धतिमा सञ्चालित छन् ।
पदार्थ अनादि र अनन्त छ । त्यसको न त सृष्टि हुन्छ न त विनाश नै । यस जगत्मा जे–जति वस्तुहरू छन् ती बन्ने, बिग्रने, बढ्ने, घट्ने, देखा पर्ने, बिलाउने आदि प्रक्रियामा छन् । तर, जे–जस्तो प्रक्रियामा रहे पनि पदार्थको परिमाण र ऊर्जामा भने कुनै घटबढ हुँदैन । कुनै पनि वस्तु अति नै सूक्ष्म किन नहोस्, शून्यबाट उत्पन्न हुँदैन अथवा शून्यमा विलीन पनि हुँदैन । एउटा वस्तु नष्ट भयो भने त्यसले अर्कोलाई जन्म दिन्छ । वस्तुहरू बदलिन्छन् र एक–अर्कामा रूपान्तरित हुन्छन् । यो क्रम निरन्तर चालु रहन्छ । यसलाई संरक्षणको नियम (Law of conservation) भनिन्छ ।
पदार्थ र गति ः मार्क्सभन्दा पहिलेका भौतिकवादीहरूले पदार्थको गतिलाई स्वीकारेका थिए । तर, तिनले गतिलाई केवल यान्त्रिक रूपमा ग्रहण गरेका थिए । गतिका निम्ति सुरुको प्रेरक शक्ति (Initial Impulse) को आवश्यकता पर्दछ भन्ने कुरामा तिनले जोड दिएका थिए । तिनले कुनै बाह्य तत्त्वले नचलाई पदार्थमा गति उत्पन्न हुँदैन भन्ने विचार व्यक्त गरेका थिए । त्यसरी यान्त्रिकतालाई प्राथमिकता दिनुको अर्थ पदार्थको सञ्चालनका निम्ति बाहिरी शक्तिलाई महत्त्व दिनु थियो र त्यस कुराले विश्वलाई गतिशील बनाउने परम शक्ति वा परमात्माको अस्तित्वलाई मान्यता दिएको थियो । त्यसले पदार्थलाई जड वत् र स्थिर वस्तुको रूपमा लिएको थियो ।
मार्क्सवादले पदार्थको गतिको कारण यान्त्रिक स्थानान्तरणका साथै पदार्थभित्र रहेका विपरीत तत्त्वहरूबिचको अन्तरक्रियालाई मान्दछ । जसको परिणामस्वरूप पदार्थको विकास, रूपान्तरण, पुरानोको अन्त्य र नयाँको उदय आदि हुन्छ । मार्क्सवादी विश्लेषणअनुसार दुई पहलमानबिचको कुस्तीको खेलजस्तै पदार्थमा जोड घटाउ, संयोग–वियोग, सम्बन्ध–विच्छेदजस्ता विभिन्न प्रक्रिया निरन्तर क्रियाशील हुन्छन् । एङ्गेल्स भन्दछन्, ’गति नै पदार्थको अस्तित्वको स्वाभाविक चरित्र हो’ (आफनास्येम, २०५४ ः ५०) । पदार्थ र गतिबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पदार्थ नभए गति उत्पन्न हुने कुरा आउँदैन । त्यसै गरी गति नभएको पदार्थ नै हुँदैन (लेनिन, १९८२–५ ः २७) । कुनै पनि वस्तु अस्तित्वमा रहनुको अर्थ त्यो गतिमा हुनु हो । गतिका कारण पदार्थ निश्चल अवस्थामा रहँदैन, यसमा निरन्तर परिवर्तन भइरहेको हुन्छ । ठोस देखिएको धातु पनि निश्चित तापक्रममा पग्लिन्छ र तरल बन्दछ । ठन्डा भएपछि पुनः ठोसमै परिणत हुन्छ । तापक्रमको घटबढका कारण पानी बरफ र बाफमा बदलिन्छ । बरफ र बाफ फेरि पानीमा बदलिन्छ । हामीले अन्तरिक्षमा रहेका ठुलठुला पिण्ड, सूर्य र अन्य ताराहरूलाई हेर्दा ती नचलेको अवस्थामा देखिन्छन् । तापनि सबै नियमित रूपमा आफ्नो कक्षको वरिपरि घुमिरहेका हुन्छन् र एकले अर्कालाई परिक्रमा गरिरहेका हुन्छन् । हामी घरमा खाटमा सुतेको अवस्थामा आफूलाई निश्चल ठान्दछौँ । त्यस्तै घरलाई पनि जहाँको त्यहीँ ठिङ्ग उभिएको देख्दछौँ । तर, यथार्थमा पृथ्वी घुम्दा त्यसमा रहेको हाम्रो घर र हामी आफू पृथ्वीसँगै घुमिरहेका हुन्छौँ । हाम्रो शरीरमा रहेका कोशिकाहरू(Cells) निरन्तर चलायमान हुन्छन् । यो कुरा हामी आँखाले देख्न सक्दैनौँ । सूक्ष्म दर्शक यन्त्रको सहायताबाट हाम्रो शरीरलाई हेर्ने हो भने ती यताउति चलिरहेका देखिन्छन् । कहिलेकाहीँ आकाशका चम्किला ताराहरूबाट बडेमानका झिल्का उछिट्टिएर पृथ्वीमा खस्दछन् । गति नभएको भए त्यस प्रकारका घटनाहरू घट्दैनथे ।
गतिको आधारभूत रूप भनेको सूक्ष्म कणहरू देखा पर्नु र ती क्रिया–प्रतिक्रियामा रहनु हो । त्यस मान्यताअनुसार गतिका विभिन्न रूपहरू हुन्छन् । जस्तै यान्त्रिक, भौतिक, रासायनिक, जैविक, सामाजिक आदि । यान्त्रिक गति भनेको पिण्डहरूको स्थानान्तरण हो । भौतिक गतिमा विद्युतीय, चुम्बकीय, अन्तर आणविक गति आदि पर्दछन् । रासायनिक गतिमा संयोजन, वियोजन, निर्माण, विघटन आदि पर्दछन् । जैविक गतिअन्तर्गत पाचन, परि पाचन, कोसीकाको वृद्धि विनाश आदि आउँछन् । सामाजिक गतिमा उत्पादन पद्धतिको परिवर्तन पर्दछ, जसका कारण विभिन्न सभ्यताको उदय र विनाश हुन पुग्दछ ।
पदार्थमा गति कुनै एक कारणले नभई एक–अर्कासँगको सम्बन्धका कारणले उत्पन्न हुन्छ । पदार्थ एक्लै चलायमान हुन्छ भन्नु झूटो कुरा हो । आपसी अन्तरक्रिया नभई अथवा अन्तरसम्बन्ध नभई कुनै पनि वस्तुमा गति उत्पन्न हुँदैन । गति भनेकै एक अर्कासँगको सम्बन्धमा हुने स्थानान्तरण हो । विना तुलना गतिको भेउ पाउन सकिँदैन । एउटा पदार्थको गतिबाट अर्को पदार्थको गति जन्मिन्छ । जस्तो कि परमाणु गतिशील भएपछि नै अणुहरू बन्दछन्, अनि अणुहरूकै गतिशीलताबाट जैविक अङ्ग–प्रत्यङ्ग बन्दछन् ।
दिक् र काल ः प्रत्येक वस्तु अथवा पदार्थको आकार एउटै हुँदैन । कुनै ठुला हुन्छन् त कुनै साना । जे जस्ता भए पनि तिनको निश्चित आयाम (लम्बाइ, चौडाइ र उचाइ हुन्छ । तिनीहरूले निश्चित स्थान ओगटेका हुन्छन् र एक अर्काबाट निश्चित दूरीमा रहेका हुन्छन् । ती एक–अर्काको दायाँ बायाँ, तल, माथि रहेका हुन्छन् । तिनीहरूमा निश्चित सम्बन्ध र सहकार्य पनि हुन्छ । पदार्थको त्यस अस्तित्व र सह–सम्बन्धसम्बन्धी सवाललाई नै दिकू (Space) भनिन्छ । दिकमा वस्तुहरूले ठाउँ लिने र सह–सम्बन्धमा रहने मात्र होइन, निश्चित क्रममा एकपछि अर्को गरी आउने जाने पनि हुन्छ । एउटाको ठाउँ अर्कोले लिन्छ र फेरि त्यसको ठाउँ पनि तेस्रोले लिन्छ । यो क्रम त्यसरी नै चलिरहन्छ । प्रत्येक वस्तुको सुरु र अन्त्य हुन्छ । फरक ढिलो चाँडोको मात्र हो । प्रत्येक पदार्थको अस्तित्व र विकासको स्तर भिन्दाभिन्दै हुन्छ । कुनै भर्खर उत्पत्ति भएका हुन्छन् भने कुनै लामो समयसम्म दिक्मा रहिरहेका हुन्छन् ।
पदार्थको अस्तित्वको अवधि हुन्छ । त्यसको विकास र विनाश हुन समय लाग्छ । त्यसलाई काल (Time) भनिन्छ । कालको मापन सेकेन्ड मिनेट, घण्टा, दिन, महिना, वर्ष, शताब्दी आदिमा हुन्छ । त्यो लामो या छोटो के–कस्तो हुन्छ भन्ने कुरा हर्ष, बिस्मात, आनन्द, दिक्दारी आदि जस्ता मानिसको मनका अवस्थाहरूबाट थाहा लाग्दछ र आनन्दको अवस्थामा रहेको मानिसका निम्ति कुनै पनि घटना क्षणिक लाग्छ भने दिक्क भएको अवस्थामा लामो लाग्छ ।
दिक् र काल पदार्थको अस्तित्वका सार्वभौम रूपहरू हुन् । वस्तु र घटनाक्रम मात्र होइन मानिसलगायत प्राणीका भावना र विचारहरू दिक र कालमा रहन्छन् । दिक् र कालमा के भिन्नता छ भने दिक्का लम्बाइ, चौडाइ र उचाइजस्ता तीन वटा आयाम हुन्छन् । जब कि, कालको भूतबाट वर्तमान हुँदै भविष्यतर्फ जाने केवल एउटा मात्र आयाम हुन्छ । काल जता पनि जाने हुँदैन । त्यो नरोकिने, नबदलिने र नदोहरिने हुन्छ । समयको गतिमा हाम्रो कुनै नियन्त्रण हुँदैन । त्यो अविरल गतिमा अगाडि बढिरहन्छ । प्रतिक्रियावादीहरू यस तथ्यलाई बुझे पनि व्यवहारमा उतार्दैनन् । उनीहरू इतिहासलाई पछिल्तिर धकेल्न चाहन्छन् । जुन व्यवस्था अतीतको गर्भमा बिलाइसकेको छ, त्यसलाई पुनः फिर्ता गर्ने सपना देख्दछन् । जस्तो कि, नेपालबाट राजतन्त्र हटिसक्यो । तर, समय समयमा राजतन्त्र फर्काउने कुरा एक थरीले निरन्तर गरिरहेका हुन्छन् ।
पदार्थको दिक् र कालसँग अभिन्न सम्बन्ध रहेको हुन्छ । वस्तुलाई स्थिर अवस्थामा रहेको ठान्ने भौतिकवादीहरू भने पदार्थलाई गतिबाट र पदार्थको गतिलाई दिक् र कालबाट अलग गर्दछन् । न्युटनले दिक् शून्य हुन्छ भन्ने निष्कर्ष निकालेका छन् । उनले त्यसलाई अभौतिकको तहमा राखेका छन् र त्यससँग वस्तुको कुनै सम्बन्ध छैन भनेका छन् । कालको सम्बन्धमा पनि उनको दृष्टिकोण त्यस्तै देखिन्छ । महान् भौतिक शास्त्री आइन्स्टाइनले आविष्कार गरेको सापेक्षतावादको सिद्धान्त (Theory of Relativity) नै पदार्थको दिक् र कालसँग सम्बन्धित आधुनिक सिद्धान्त हो । यसले गतिशील पदार्थको दिक र कालसँग अभिन्न सम्बन्ध रहेको हुन्छ भन्ने कुरा बताउँछ ( आफनास्येम, २०५४ ५९ ) ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...