* रामराज रेग्मी
यस जगत्मा हाम्रो वरिपरि ढुङ्गा, माटो, बालुवा, पानी, हावा, जङ्गल, पहाड, मैदान, रुख बिरुवा, पशुपन्छी आदि छन् । तिनका रूप रङ्ग र आकार प्रकारलाई हामी आँखाले देख्दछौँ, गन्ध नाकले थाहा पाउँछौ, हातले छामेर या छालाको स्पर्शले ती वस्तुहरू चिसो, तातो, खस्रो, नरम के–कस्ता छन् भनी पहिचान गर्न सक्छौँ । तीबाट उत्पन्न थरी थरीका आवाज कानले सुन्दछौँ र जिब्रोको सहायताबाट तीतो, पिरो, अमिलो, गुलियो वा टर्रो के कस्तो छ भनी स्वाद पत्ता लगाउँछौ । यस्ता सबै भौतिक वस्तुहरू पदार्थ (Matter) हुन् । पदार्थका रूपहरू अनेक हुन्छन् । ती आँखाले नदेखिने साना अणु परमाणुदेखि लिएर विशाल पर्वत, महासागर र अझ भनौँ अन्तरिक्षका बडेमानका पिण्डहरूसम्मका हुन्छन् । ती तीन अवस्थामा रहेका हुन्छन् । ठोस, तरल र ग्याँस । विशेष परिस्थितिमा ती एक अवस्थाबाट अर्को अवस्थामा बदलिइरहन्छन् ।
भौतिक विज्ञानले ज्ञानेन्द्रियको सहायताबाट थाहा पाइने अथवा ज्ञानेन्द्रियलाई सहयोग गर्ने यन्त्रको माध्यमबाट थाहा पाइने भौतिक वस्तुलाई मात्र पदार्थ मान्दछ । तर, दर्शनशास्त्रले भौतिक जगत्मा स्वतन्त्र अस्तित्वमा रहेका जैविक तथा अजैविक वस्तु, प्रकाश वा तरङ्ग, प्राणी, वनस्पति एवम् मानव निर्मित संस्थाहरू र विभिन्न प्राकृतिक तथा सामाजिक परिघटनाहरूलाई समेत पदार्थ मान्दछ । मानव समाज र यसका विभिन्न सामाजिक रूपहरू बौद्धिक पदार्थ (Intellectual Matter) अन्तर्गत पर्दछन् । लेनिन भन्दछन्, ‘दर्शनशास्त्रमा पदार्थ भनेको स्वतन्त्र अस्तित्वमा रहेको वस्तुगत सत्यता हो, जसलाई विभिन्न जानकारीको माध्यमबाट थाहा पाउन सकिन्छ र चित्रमा उतार्न सकिन्छ’ (Spirkin 1983 : 49) । विभिन्न पदार्थलाई गुरुत्वाकर्षण र विद्युतीय चुम्बकले एक–आपसमा आबद्ध गरेका हुन्छन् । आकाशका सूर्य, तारा, पृथ्वी र अन्य ग्रहहरू सबै गुरुत्वाकर्षणका कारण एउटा निश्चित पद्धतिमा सञ्चालित छन् ।
पदार्थ अनादि र अनन्त छ । त्यसको न त सृष्टि हुन्छ न त विनाश नै । यस जगत्मा जे–जति वस्तुहरू छन् ती बन्ने, बिग्रने, बढ्ने, घट्ने, देखा पर्ने, बिलाउने आदि प्रक्रियामा छन् । तर, जे–जस्तो प्रक्रियामा रहे पनि पदार्थको परिमाण र ऊर्जामा भने कुनै घटबढ हुँदैन । कुनै पनि वस्तु अति नै सूक्ष्म किन नहोस्, शून्यबाट उत्पन्न हुँदैन अथवा शून्यमा विलीन पनि हुँदैन । एउटा वस्तु नष्ट भयो भने त्यसले अर्कोलाई जन्म दिन्छ । वस्तुहरू बदलिन्छन् र एक–अर्कामा रूपान्तरित हुन्छन् । यो क्रम निरन्तर चालु रहन्छ । यसलाई संरक्षणको नियम (Law of conservation) भनिन्छ ।
पदार्थ र गति ः मार्क्सभन्दा पहिलेका भौतिकवादीहरूले पदार्थको गतिलाई स्वीकारेका थिए । तर, तिनले गतिलाई केवल यान्त्रिक रूपमा ग्रहण गरेका थिए । गतिका निम्ति सुरुको प्रेरक शक्ति (Initial Impulse) को आवश्यकता पर्दछ भन्ने कुरामा तिनले जोड दिएका थिए । तिनले कुनै बाह्य तत्त्वले नचलाई पदार्थमा गति उत्पन्न हुँदैन भन्ने विचार व्यक्त गरेका थिए । त्यसरी यान्त्रिकतालाई प्राथमिकता दिनुको अर्थ पदार्थको सञ्चालनका निम्ति बाहिरी शक्तिलाई महत्त्व दिनु थियो र त्यस कुराले विश्वलाई गतिशील बनाउने परम शक्ति वा परमात्माको अस्तित्वलाई मान्यता दिएको थियो । त्यसले पदार्थलाई जड वत् र स्थिर वस्तुको रूपमा लिएको थियो ।
मार्क्सवादले पदार्थको गतिको कारण यान्त्रिक स्थानान्तरणका साथै पदार्थभित्र रहेका विपरीत तत्त्वहरूबिचको अन्तरक्रियालाई मान्दछ । जसको परिणामस्वरूप पदार्थको विकास, रूपान्तरण, पुरानोको अन्त्य र नयाँको उदय आदि हुन्छ । मार्क्सवादी विश्लेषणअनुसार दुई पहलमानबिचको कुस्तीको खेलजस्तै पदार्थमा जोड घटाउ, संयोग–वियोग, सम्बन्ध–विच्छेदजस्ता विभिन्न प्रक्रिया निरन्तर क्रियाशील हुन्छन् । एङ्गेल्स भन्दछन्, ’गति नै पदार्थको अस्तित्वको स्वाभाविक चरित्र हो’ (आफनास्येम, २०५४ ः ५०) । पदार्थ र गतिबिच अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । पदार्थ नभए गति उत्पन्न हुने कुरा आउँदैन । त्यसै गरी गति नभएको पदार्थ नै हुँदैन (लेनिन, १९८२–५ ः २७) । कुनै पनि वस्तु अस्तित्वमा रहनुको अर्थ त्यो गतिमा हुनु हो । गतिका कारण पदार्थ निश्चल अवस्थामा रहँदैन, यसमा निरन्तर परिवर्तन भइरहेको हुन्छ । ठोस देखिएको धातु पनि निश्चित तापक्रममा पग्लिन्छ र तरल बन्दछ । ठन्डा भएपछि पुनः ठोसमै परिणत हुन्छ । तापक्रमको घटबढका कारण पानी बरफ र बाफमा बदलिन्छ । बरफ र बाफ फेरि पानीमा बदलिन्छ । हामीले अन्तरिक्षमा रहेका ठुलठुला पिण्ड, सूर्य र अन्य ताराहरूलाई हेर्दा ती नचलेको अवस्थामा देखिन्छन् । तापनि सबै नियमित रूपमा आफ्नो कक्षको वरिपरि घुमिरहेका हुन्छन् र एकले अर्कालाई परिक्रमा गरिरहेका हुन्छन् । हामी घरमा खाटमा सुतेको अवस्थामा आफूलाई निश्चल ठान्दछौँ । त्यस्तै घरलाई पनि जहाँको त्यहीँ ठिङ्ग उभिएको देख्दछौँ । तर, यथार्थमा पृथ्वी घुम्दा त्यसमा रहेको हाम्रो घर र हामी आफू पृथ्वीसँगै घुमिरहेका हुन्छौँ । हाम्रो शरीरमा रहेका कोशिकाहरू(Cells) निरन्तर चलायमान हुन्छन् । यो कुरा हामी आँखाले देख्न सक्दैनौँ । सूक्ष्म दर्शक यन्त्रको सहायताबाट हाम्रो शरीरलाई हेर्ने हो भने ती यताउति चलिरहेका देखिन्छन् । कहिलेकाहीँ आकाशका चम्किला ताराहरूबाट बडेमानका झिल्का उछिट्टिएर पृथ्वीमा खस्दछन् । गति नभएको भए त्यस प्रकारका घटनाहरू घट्दैनथे ।
गतिको आधारभूत रूप भनेको सूक्ष्म कणहरू देखा पर्नु र ती क्रिया–प्रतिक्रियामा रहनु हो । त्यस मान्यताअनुसार गतिका विभिन्न रूपहरू हुन्छन् । जस्तै यान्त्रिक, भौतिक, रासायनिक, जैविक, सामाजिक आदि । यान्त्रिक गति भनेको पिण्डहरूको स्थानान्तरण हो । भौतिक गतिमा विद्युतीय, चुम्बकीय, अन्तर आणविक गति आदि पर्दछन् । रासायनिक गतिमा संयोजन, वियोजन, निर्माण, विघटन आदि पर्दछन् । जैविक गतिअन्तर्गत पाचन, परि पाचन, कोसीकाको वृद्धि विनाश आदि आउँछन् । सामाजिक गतिमा उत्पादन पद्धतिको परिवर्तन पर्दछ, जसका कारण विभिन्न सभ्यताको उदय र विनाश हुन पुग्दछ ।
पदार्थमा गति कुनै एक कारणले नभई एक–अर्कासँगको सम्बन्धका कारणले उत्पन्न हुन्छ । पदार्थ एक्लै चलायमान हुन्छ भन्नु झूटो कुरा हो । आपसी अन्तरक्रिया नभई अथवा अन्तरसम्बन्ध नभई कुनै पनि वस्तुमा गति उत्पन्न हुँदैन । गति भनेकै एक अर्कासँगको सम्बन्धमा हुने स्थानान्तरण हो । विना तुलना गतिको भेउ पाउन सकिँदैन । एउटा पदार्थको गतिबाट अर्को पदार्थको गति जन्मिन्छ । जस्तो कि परमाणु गतिशील भएपछि नै अणुहरू बन्दछन्, अनि अणुहरूकै गतिशीलताबाट जैविक अङ्ग–प्रत्यङ्ग बन्दछन् ।
दिक् र काल ः प्रत्येक वस्तु अथवा पदार्थको आकार एउटै हुँदैन । कुनै ठुला हुन्छन् त कुनै साना । जे जस्ता भए पनि तिनको निश्चित आयाम (लम्बाइ, चौडाइ र उचाइ हुन्छ । तिनीहरूले निश्चित स्थान ओगटेका हुन्छन् र एक अर्काबाट निश्चित दूरीमा रहेका हुन्छन् । ती एक–अर्काको दायाँ बायाँ, तल, माथि रहेका हुन्छन् । तिनीहरूमा निश्चित सम्बन्ध र सहकार्य पनि हुन्छ । पदार्थको त्यस अस्तित्व र सह–सम्बन्धसम्बन्धी सवाललाई नै दिकू (Space) भनिन्छ । दिकमा वस्तुहरूले ठाउँ लिने र सह–सम्बन्धमा रहने मात्र होइन, निश्चित क्रममा एकपछि अर्को गरी आउने जाने पनि हुन्छ । एउटाको ठाउँ अर्कोले लिन्छ र फेरि त्यसको ठाउँ पनि तेस्रोले लिन्छ । यो क्रम त्यसरी नै चलिरहन्छ । प्रत्येक वस्तुको सुरु र अन्त्य हुन्छ । फरक ढिलो चाँडोको मात्र हो । प्रत्येक पदार्थको अस्तित्व र विकासको स्तर भिन्दाभिन्दै हुन्छ । कुनै भर्खर उत्पत्ति भएका हुन्छन् भने कुनै लामो समयसम्म दिक्मा रहिरहेका हुन्छन् ।
पदार्थको अस्तित्वको अवधि हुन्छ । त्यसको विकास र विनाश हुन समय लाग्छ । त्यसलाई काल (Time) भनिन्छ । कालको मापन सेकेन्ड मिनेट, घण्टा, दिन, महिना, वर्ष, शताब्दी आदिमा हुन्छ । त्यो लामो या छोटो के–कस्तो हुन्छ भन्ने कुरा हर्ष, बिस्मात, आनन्द, दिक्दारी आदि जस्ता मानिसको मनका अवस्थाहरूबाट थाहा लाग्दछ र आनन्दको अवस्थामा रहेको मानिसका निम्ति कुनै पनि घटना क्षणिक लाग्छ भने दिक्क भएको अवस्थामा लामो लाग्छ ।
दिक् र काल पदार्थको अस्तित्वका सार्वभौम रूपहरू हुन् । वस्तु र घटनाक्रम मात्र होइन मानिसलगायत प्राणीका भावना र विचारहरू दिक र कालमा रहन्छन् । दिक् र कालमा के भिन्नता छ भने दिक्का लम्बाइ, चौडाइ र उचाइजस्ता तीन वटा आयाम हुन्छन् । जब कि, कालको भूतबाट वर्तमान हुँदै भविष्यतर्फ जाने केवल एउटा मात्र आयाम हुन्छ । काल जता पनि जाने हुँदैन । त्यो नरोकिने, नबदलिने र नदोहरिने हुन्छ । समयको गतिमा हाम्रो कुनै नियन्त्रण हुँदैन । त्यो अविरल गतिमा अगाडि बढिरहन्छ । प्रतिक्रियावादीहरू यस तथ्यलाई बुझे पनि व्यवहारमा उतार्दैनन् । उनीहरू इतिहासलाई पछिल्तिर धकेल्न चाहन्छन् । जुन व्यवस्था अतीतको गर्भमा बिलाइसकेको छ, त्यसलाई पुनः फिर्ता गर्ने सपना देख्दछन् । जस्तो कि, नेपालबाट राजतन्त्र हटिसक्यो । तर, समय समयमा राजतन्त्र फर्काउने कुरा एक थरीले निरन्तर गरिरहेका हुन्छन् ।
पदार्थको दिक् र कालसँग अभिन्न सम्बन्ध रहेको हुन्छ । वस्तुलाई स्थिर अवस्थामा रहेको ठान्ने भौतिकवादीहरू भने पदार्थलाई गतिबाट र पदार्थको गतिलाई दिक् र कालबाट अलग गर्दछन् । न्युटनले दिक् शून्य हुन्छ भन्ने निष्कर्ष निकालेका छन् । उनले त्यसलाई अभौतिकको तहमा राखेका छन् र त्यससँग वस्तुको कुनै सम्बन्ध छैन भनेका छन् । कालको सम्बन्धमा पनि उनको दृष्टिकोण त्यस्तै देखिन्छ । महान् भौतिक शास्त्री आइन्स्टाइनले आविष्कार गरेको सापेक्षतावादको सिद्धान्त (Theory of Relativity) नै पदार्थको दिक् र कालसँग सम्बन्धित आधुनिक सिद्धान्त हो । यसले गतिशील पदार्थको दिक र कालसँग अभिन्न सम्बन्ध रहेको हुन्छ भन्ने कुरा बताउँछ ( आफनास्येम, २०५४ ५९ ) ।