Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
दसैँ कहिले आएको थियो र ! - Gyaan Ghar

Gyaan Ghar

Advertisement

दसैँ कहिले आएको थियो र !

*  प्रकाश बस्नेत‘गफाडी’
भदौ महिना, सही नसक्नुको टन्टलापुर घाम चर्केको छ । घामले टाउको फुट्ला जस्तो भएको छ । जिउभरि पसिनाका कोसी बगेका छन् । भोकले इन्तु न चिन्तु र तिर्खाले प्याकप्याक पारेको छ रत्नेका बूढाबूढीलाई । तैपनि उनीहरू बेपरवाह घस्रिरहेका छन्, मुखिया बाको धान खेत गोड्ने काममा ।
दुई जना जोई पोइ मिलेर मुखिया बाको धान खेत गोड्न पैटाएको चार दिन बितिसक्दा पनि एकछेउ सकिएको छैन । अझै चारै दिन लाग्ला जस्तो छ । मुखियाबाकाे सबै धान खेत गोड्ने काम रत्नेका बूढाबूढीले मात्र जिम्मा लिएका छन् । यसबाट आउने आधाजस्तो ज्यालाले उनीहरूले पोहर सालकै छाक टारिसकेका छन् । यति धान खेत गोडिसक्न पाए फेरि केही दिनको छाक टर्ने सोच राखेका छन् यिनीहरूले ।घाम अझै बेपरवाहसँग चर्किरहेको छ । फाँटमा कोही देखिँदैनन् काम गर्नेहरू । यसो मेला पर्म हिँड्नेहरू पनि बिहानीपख र शीतल फर्केपछि मात्र फाँटतिर ओर्लन्छन् । तर, यिनीहरूलाई भने घाम–पानी, झरी–बादल, जाडो–गर्मी केहीको परवाह छैन । बाह्रै मास यत्तिकै हाडछाला घोटेर पनि अभाव, पीडा र दरिद्रताले पिरोलिरहेको छ । तर, आजको साँझलाई भने यतिखेर उनीहरूलाई जति गाह्रो भए पनि, जति थकानको महसुस भए पनि खानका लागि कुनै फिक्री छैन । भरे मेलो सकेर फर्कँदा मुखिया बाको घरको बाटो जानुपर्ला भन्ने सोच बनाएका छन् उनीहरूले । तर मुखिनी आमा त्यति फरासिली कहाँ छिन् र । गाईको कुँडोमा हाल्नेजस्तो कनिका र चिलेसो परेको पिठोबाहेक ला’खा भनेर कहिल्यै मिठो मसिनो दिन जानेकी छैनन् । यी सबै कुरा सहर्ष नस्विकारेर पनि के गरून् ? यिनीहरूजस्ताका लागि को छ र यो दुनियाँमा ? व्यवस्था सुन्दैन, देउता बोल्दैन । जस्तो परे पनि चुपचाप सहनुपर्ने ।
दिन ढल्न लागेकोले उनीहरू मेलोमैजारो गर्ने तरखरमा छन् । कहिले घर पुगौँ जस्तो भा’को छ रत्नेकी बूढीलाई । बिहान मेलो पसेदेखि नै आधा मन त घरमै छ उसको । घरमा काखकी नानीलाई कोक्रामा सुताएर आएकी थिई, भर्खर डेढ वर्षकी लागी । बिचरी कती भोकाइहोली ! हुन त चार वर्षको छोरोको जिम्मा लगाएर आएकी हो तर उसलाई दुवै बच्चाहरूको पिरले सचाइरहेको छ । खोला र खोल्सातिर गएर लडे कि ? भन्ने ठुलो डर पनि छ उसलाई । त्यसैले मेलो छाडेर रत्ने मुखिया बाको घरतर्फ लाग्यो, रत्नेकी बूढीचाहिँ सीधै घरतर्फ हान्निई ।
बेसीबाट निकै उकालो चढेपछि पहाडको फेदीमा घर नाम गरेके टाउको लुकाउने उनीहरूको एउटा झुपडी छ । छानाबाट पानी चुहेर गारो गलिसकेको छ । धेरै हिउँद–वर्ष खपिसकेको छ यो झुपडीले । तैपनि, एउटा खाँबोले पनि काँचुली फेन पाएको छैन । जर्जर अवस्थामा गुज्रिरहेको छ यो झुपडी । यस्तो कुनै पनि हिउँद–वर्षा आएको छैन, जसले यो झुपडीलाई दबाब नदिएको होस् । हुन त बेसीतिर अरूका पनि घर छन्, हवेली छन् तर तिनीहरूलाई कुनै पनि प्रतिकूलताले छुँदैन, आफ्नो भने मौसममा आएको सानो प्रतिकूलताले पनि डर मर्दो स्थितिको सृजना गरेर जान्छ । त्यसैले आफू संसारकै गरिब, दुःखी र निरीह प्राणीजस्तो महसुस हुन्छ यिनीहरूलाई ।
घर पुग्ने बित्तिकै रत्नेकी बूढीले कोक्रोलाई झम्टिहाली । गुहु–मुतमा लतपतिएकी, रुँदा रुँदा स्वर नै सुकिसकेकी अनि भोकले निली भइसकेकी छोरीलाई कोक्रोबाट झिकेर टालोले पुछपाछ गर्दै दूध चुसाउन थाली । उसका आँखाहरू भने ठूलो छोरो भुन्टेलाई खोज्न थाले ।
हुन त भुन्टे पनि भर्खर चार वर्षको मात्र पुग्यो । एकै क्षणमा दौराको फेरभरि गिट्ठा लिएर भुन्टे आमाका अगाडि झुल्कियो । यतिखेर आफ्नो चार वर्षको बच्चोलाई समेत छाक टार्ने समस्याको.. महसुस भएकामा रत्नेकी बूढीलाई अलिकति गर्वको अनुभूति भयो भने यो परिदृश्यले उसको मनलाई धेरै बेर नमिठो बनाइरह्यो ।
दौराको फेरको गिट्ठा आमाको अगाडि खन्याएर भुन्टे आँगनको डिलमा बसेको बाबुतर्फ हुत्तियो । बाबुको च्यातिएको टोपीबाट निस्किएको टुपी चलाउँदै, “बा ! भोलिपछि दछै आउँछ ले हो ?” भन्दै बाबुलाई एकनाससँग झिजोल्न थाल्यो । दसैँ सम्झेर रत्ने झसङ्ग भयो तर केही बोलेन । भुन्टेले पनि बाबुलाई धेरै फिजोल्न चाहेन र घरभित्र पस्यो ।
रत्ने घोत्लिन थाल्यो । वास्तवमा कुनै पनि चाडपर्वहरू रत्नेको परिवारको पक्षमा कहिल्यै भएनन् । यसो त उसलाई आफ्ना रीतिरिवाज र चाडपर्वप्रति कत्ति पनि सिकायत छैन । बरु आफ्नो गरिबीप्रति निस्फिक्री रिस र आक्रोश छ । पोहोर साल पनि कति द्यौसी भैलो खेल्न आए उसको आँगनमा, तर ऊ घरमा कोही नभएजस्तो गरी भित्रै लुकिरह्यो अनि कठ्याङग्रि रह्यो मानसिक रूपमा । द्यौसी भैलो भन्ने डफ्फाहरूले कति राम्ररी गाएका थिए । त्यति बेला रत्नेलाई पनि नाङ्लामा पाथी छ माना धान, चामल – र यसो दस–बिस रुपियाँ भेटी राखी बाहिर निस्केर उनीहरूसँगै लोली मिलाएर गाउने र नाच्ने ठुलो धोको थियो तर उनीहरूलाई दिने सरसामानको अभावमा आएको खोकीलाई पनि भित्रै दबाएर थाङ्नामा गुँडुल्किएर नराम्रोसँग पिल्सिरह्यो रातभरि । यो सम्झँदा उसको मन कति नमिठो भएर आउँछ ।
बाँच्नका लागि दिनदिनै मर्दा पनि एक मुठी आहाराको अभावमा कति पिल्सिरहने ? कति हाडछाला घोटिरहने ? यसरी मरी मरी बाँच्नु र बाँची बाँची मर्नुभन्दा वास्तवमै मर्नु धेरै निको लागेको छ रत्नेका बूढाबूढीलाई । तर लागेर मात्रै के गर्नु ? भुन्टे र काखकी छोरीको बिचल्ली हुने डरले त्यो पनि सम्भव भएन ।
मुखिया बाका छोरा सहराँ पढ्छन् । पछि डाक्टर बनाउने रे ! जमदार बूढाको छोरा पनि सहराँ पढ्दै छन् रे, पछि पाइलट बनाउने रे ! अझ सहरका ठुलाबडाका छोराछोरीहरू त विदेशां पढ्छन् रे ! तिनीहरू पछि के के बन्ने हुन् ! तर, यिनीहरूलाई भने यी आफ्ना भन्ट्याङभुन्टुङ काम गरेर खाइसक्नेसम्म बनाइदिन पाए आफू जोई पोइ सँगै मरे पनि केही फिक्री हुने थिएन । रत्ने यही सोचिरहेको छ ।
साँझ झमक्क परिसकेको छ । आकाशमा न जून, न तारा, केही देखिएको छैन । दिनभरिको टन्टलापुर घामको प्रभावले गर्दा आकाशभरि काला बादलहरू मडारिइरहेका छन् । घरीघरी मेघ गर्जेको सुनिन्छ । बतास झुपडी नै उडाउला जस्तो गरी चलिरहेको छ । योभन्दा कैयौँ गुणा बढी आँधीबेहरी चलिरहेको छ रत्नेको छातीभित्र । त्यसमाथि उसलाई आज भुन्टेले दसैँ सम्झाइदिएको छ ।
आँगनमा पानी विर्बिराउन थालेकाले रत्ने घरभित्र पस्यो । अगेनामा गिट्ठा पोल्दै–झिक्दै गरिरहेकी छे रत्नेकी बूढी । काने कसौँडीमा के छड्किरहेको छ, त्यसको भेउ छैन रत्नेलाई । दुइटा भान्टाङ–भुन्टुङ मस्त निद्रामा गुन्द्रीमा लडिरहेका छन् । खोपामा दियालो पिलपिलाइरहेको छ । झुपडीको छिद्रबाट छिरेको हावाको झोक्काले दियालोलाई दबाब दिइरहेको छ ।
रत्नेलाई धेरै बेरसम्म निद्रा लागेन । उसलाई घरीघरी दसैँको भूतले झम्टन थाल्यो । दसैँ उसको अगाडि दसा भएर उभिएको छ विकराल रूपमा । बल्लबल्ल रत्नेका आँखा लाग्न मात्र के अटेका थिए, आकाशबाट मुसलधारे पानी बर्सिन थाल्यो । रत्नेको घरको दायाँबायाँबाट बग्ने खोला खोल्साहरू ठुलो आवाजका साथ गडगडाएर बग्न थाले । ठूलाठूला आवाज गरेर पहिरो गएको सुनिन थाल्यो । रत्नेलाई भने घर पहिरोले लैजाला भन्ने कुनै डर छैन र मरिएला भन्ने कुनै चिन्ता पनि छैन । तर, पारि खोल्साको वन तरुलका लहराहरू बाढीले बगाउला कि भन्ने डर छ अनि तल्लो बारीको पाटाको ठुलो सिस्नुको झाङ पहिरोले लग्ला कि भन्ने चिन्ता छ । किनकि, वन तरुलको लहराले उसको परिवारलाई गिट्ठा उपलब्ध गराउँदै आइरहेको छ, सिस्नुको झाङले पनि उसको परिवारलाई मुन्टा उपलब्ध गराउँदै आइरहेको छ । रत्नेका परिवारका लागि ती वस्तुहरू गरिब राष्ट्रका लागि दातृराष्ट्रले उपलब्ध गराउँदै आएको डलरभन्दा कम महत्त्वपूर्ण छैनन् । ती त बिचैमा झ्वाम्म पनि हुन सक्छन् तर सिस्नुको झाङ र वन तरुलका गिट्ठाहरूमा त्यस्ता आँखाहरू पर्दैनन् ।
 पानी दर्किन विस्तार बन्द भयो । रत्नेले ढोकाको एउटा फग्ल्यँंटोबाट टाउको निकालेर पारि खोल्साको वन तरुलको तहरा र बारीको तल्लो पाटामा रहेको सिस्नुको झाडलाई एकै पटक दृष्टि दियो । आखिर अविरल परेको पानीका कारण बाढी पहिरोको प्रभावले दुवैको नाम निशान मेटिएछ । रत्ने खड्ड्ङ्ग भयो । त्यति बेला उसलाई कसैले आफ्नो गाँसै खोसेजस्तो लाग्यो, अनि भगवान् पनि आफूप्रति निष्ठुर भएको महसुस भयो उसलाई ।
हुन पनि यो वर्ष देश विदेशमा बाढी पहिरो र अतिवृष्टिले विध्वंस नै गर्‍यो । धेरै जनधनको क्षति भयो । आफ्नै मुलुकमा पनि कैयौँ मान्छेहरू मरे, कैयौँ बाढी पहिरोको चपेटामा परे तर रत्नेको परिवारलाई यी र यस्ता कुनै खबरहरूले अलिकति पनि विचलित पारेनन्, जति विचलित उसको घरसामुको वन तरुलको लहरा र सिस्नोको झाङलाई पहिरोले लैजाँदा पार्‍यो ।
अभाव र पीडाहरूसँग जुध्दा जुध्दा थिलथिलो भइसकेका छन् यिनीहरू । कहिल्यै छाडेन अभाव, पीडा र आँसुले यिनीहरूलाई मित्रवत् पछ्याइरह्यो । हाँसो, खुसी र उमङ्ग यिनीहरूको शत्रुजस्तै हुन्, जो नजिकै पर्दैनन् । यति दुःख गर्दा पनि आफ्नो रीतिरिवाज र चाडपर्व आउँदा सधैँ डराउनुपर्ने परिस्थितिले गर्दा बाँची बाँची पनि मरिरहेको आभास भएको छ यिनीहरूलाई ।
दिन बित्न कति बेर पनि लागेन । जताततै दसैँको रमझम पनि सुरु हुन थालिसक्यो । ठाउँ ठाउँमा दसैँ बजार, हाट, मेला खुलिसके । जताततै किनमेल गर्नेको घुइँचो लागेको छ । अनि मैलो कछाड र भोटो लगाएको रत्ने हातमा नाम्लो लिएर त्यही घुइँचोमा भौँतारिइरहेको छ– भारी बोकेर केही कमाइ होला कि भनेर । खेतबारीको काम सकिएपछि प्रायः ऊ यस्तै काममा हिँड्ने गर्छ ।
त्यस दिन रत्नेले धेरैको घरमा दसैँको भारी पुरÞ्यायो । दसैँ बजारमा उसलाई आवश्यक परेका वस्तुहरू निकै थिए तर उसको खल्तीमा केही थिएन । कहीँ भेडा च्याङ्ग्राका बथान थिए, मोलमोलाइ गर्नेहरूको भीड त्यत्तिकै थियो । ती दृश्यहरू रत्नेले पनि धीत नमरुन्जेल हेरिरह्यो । किनकि हेर्नलाई पैसा लाग्दैनथ्यो । त्यति बेला उसले भुन्टेलाई सम्झ्यो। सम्झेर मात्र के गर्नु ? भुन्टेको खुसीका लागि केही लगिदिने सामर्थ्य उसमा थिएन ।
त्यस दिन राति पनि उसलाई निद्रा लागेन । रातभरि दसैँ दुखिरह्यो उसभित्र । उसको घरको सानो रेडियोले पनि दसैँको आगमन फलाकिसकेको छ । घरीघरी बज्ने मालश्री धुन पनि रत्नेलाई  शोक धुनजस्तो लाग्न थाल्यो । पहिले पहिले यस्तो मालश्री धुन बज्दा “दसैँ आयो, दसैँ आयो” भनेर कहिले डमरु बजाउँदै, कहिले चङ्गा उडाउँदै राम्रा राम्रा लुगा लगाएर साथीहरूसँगै हिँडेको बाल्यकालको स्मृति उसमा आउन थाल्यो । तर, आज परिस्थितिले मालश्री धुन पनि शोक धुनमा परिणत भएको छ रत्नेका लागि ।
रात जति छिप्पिँदै गयो, रत्नेको मनमा त्यति नै धेरै कुराहरू खेल्न थाले यसपालि कसैले खसी बोका किने होलान्, कसैले भेडा च्याङ्ग्रा किने होलान्, राम्रा लुगा र मिठा खानेकुराहरूको जोरजाम गरे होलान्, उनीहरूका जहान परिवार धेरै खुसी भए होलान् । कसै कसैले त आफ्नो जहान परिवारका लागि सिङ्गो दसैँ बजार नै घरमा भित्र्याए होलान् । यसरी आफूले रोजेका र खोजेका कुराहरू आफ्ना अगाडि पाउँदा उनीहरूका परिवारै खुसी भए होलान् । अझ, ठुलाबडाहरूले त झन् बहुमूल्य गरगहना र मोटरकार नै किने होलान् । अनि, अरूका अगाडि बहुमूल्य गरगहना लगाई वरी मोटरकार चढेर आफ्ना आफन्तकहाँ टीका थाप्न जाने धोको पूरा भएकामा उनीहरूका श्रीमती र छोराछोरीहरू कति रमाए होलान् तर रत्नेले भने आफ्ना जहान परिवारलाई नयाँ लुगा त के कुरा एक गाँस मिठो खानेकुराको समेत जोरजाम गर्न सकेको छैन । तैपनि, उनीहरूलाई कुनै फिक्री छैन । किनकि उनीहरूका लागि दसैँ कहिले आएको थियो र आउला भन्ने आस गर्नु ?

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...