अहिले इजरायलले ठुलो पैमानामा गाजामाथि हवाई वा स्थल मार्गबाट हमला गरेको छ । त्यस प्रकारको हमलाबाट गाजाका निःशस्त्र र निरपराध जनता ठुलो सङ्ख्यामा मारिनुका साथै त्यहाँका स्कुल, अस्पताल र विश्वविद्यालयहरू पनि ध्वस्त पारिएका छन् । इजरायलद्वारा गाजा क्षेत्रलाई घेराबन्दी गरी सर्वसाधारण जनतामाथि अमानवीय नरसंहार मच्चाइएको छ । त्यहाँ ठुलो सङ्ख्यामा महिला र बालबालिकाहरूको पनि हत्या भएको छ । इजरायलले पानी र बिजुली पनि रोक्ने काम गरेको छ । त्यो वास्तवमा घोर अमानवीय र क्रूर प्रकारको नरसंहार हो । त्यस प्रकारको हमलाको हाम्रो पार्टीले कडा शब्दमा विरोध र भर्त्सना गर्दछ ।
अब इजरायल र प्यालेस्टाइन बिचको युद्ध मध्य एसियाको युद्धमा बदलिने सम्भावना प्रस्ट नै छ, त्यसका साथै त्यो युद्धले विश्व युद्धको रूप लिने सम्भावनालाई पनि अस्वीकार गर्न सकिन्न । त्यस कारण त्यो युद्धप्रति सम्पूर्ण विश्वको नै ध्यान जानुपर्ने आवश्यकता छ ।
यहुदी जातिमाथि हिट्लर र फासिवादले गरेको अत्याचारको विश्वको सम्पूर्ण इतिहास साक्षी छ । विश्वका सम्पूर्ण जनताको संयुक्त प्रयासद्वारा नै फाँसीवादलाई पराजित गर्नु सम्भव भएको थियो । यो धेरै नै दुःख र आश्चर्यको कुरा हो कि त्यही यहुदी जाति वा इजरायलले प्यालेस्टाइन जातिलाई आÇनो भूमिबाट जबरजस्तीपूर्वक हटाइयो र उनीहरुमाथि फासिस्ट प्रकारको दमन र नरसंहारको नीति अपनाइएको छ । कहिल्यै हिट्लरको अमानवीय र नरसंहारको विरुद्ध सारा संसार उठेजस्तै अहिले इजरायलको त्यस प्रकारको नीतिका विरुद्ध पनि सारा संसार उठ्नुपर्ने वा सारा संसारका जनताले त्यसका विरुद्ध आवाज उठाउनुपर्ने आवश्यकता छ । तर अहिले अमेरिका र कैयौँ साम्राज्यवादी देशहरूले पनि इजरायलको त्यस प्रकारको घोर अमानवीय युद्ध र नरसंहारको नीतिलाई मदत गरिरहेका छन् । जुन राष्ट्रहरूले पहिले फासिष्टवाद र हिट्लरको नरसंहार नीतिका विरुद्ध आवाज उठाएका थिए र लडेका थिए, जसले अहिले पनि संसारमा लोकतन्त्र, स्वतन्त्रता र मानवअधिकारको चर्को कुरा गर्दछन्, उनीहरूले नै इजरायलको प्यालेस्टाइनमाथि हमलाको त्यस प्रकारको समर्थन गरिरहेका छन् । हामीले इजरायलका साथै ती साम्राज्यवादी देशहरूको त्यस प्रकारको कार्यशैलीको पनि तीव्र शब्दमा भर्त्सना गर्दछौँ र प्यालेस्टाइनका जनता तथा उनीहरूको मुक्ति आन्दोलनसित विश्वव्यापी रूपमा ऐक्यबद्धताका लागि अपिल गर्दछौँ ।
अन्तमा हाम्रो यो दृढ मत छ कि इजरायल पहिले कुनै देशको रूपमा थिएन । प्यालेस्टाइनीलाई उनीहरूको भूमिबाट विस्थापित गराएर इजरायल भन्ने देश खडा गरिएको थियो । प्यालेष्टाइनका जनतालाई आफ्नो मातृभूमिको स्वतन्त्रताको लागि लड्ने अधिकार छ र हामीले उनीहरूको मुक्ति आन्दोलनसित ऐक्यबद्धता प्रकट गर्दछौँ ।