Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the health-check domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170

Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the viral-mag domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/unitedrukum/gyaanghar.com/wp-includes/functions.php on line 6170
कलाकार गधा - Gyaan Ghar

Gyaan Ghar

Advertisement

कलाकार गधा

* मिनबहादुर राना
संसारमा अनेक खालका मान्छे बस्छन् । यस्तै मध्ये कुनै अचम्मको कुरा नभए झैँ कुनै जमानातिर कुनै गाउँमा जाक्सीबाय नामको एक जना फटाहा जमिनदार बूढा बस्थे । उनी मन मौजी खालका मान्छे थिए । उनको एउटा गधा थियो । देख्नमा यो गधा पनि अरू गधाभन्दा त्यस्तो कुनै फरक थिएन । तर उसले जन्मसिद्ध यस्तो गला पाएको थियो । जब ऊ आफ्नो ठाउँमा बसेर चिच्याउँथ्यो छरछिमेकका सबैले कानमा औँला कोचार्नु पर्थ्यो ।
एक पटक जाक्सीबाय प्राचीन सहर तुर्किस्तानमा पुगे र उनले गधालाई बजारतिर मोडे । गधालाई रुखमा बाँधेर मुख मिठ्याउँदै चिया पसलमा पसे । राम्रो चिया पसलमा सधैँ मान्छेको भिड हुनु स्वाभाविकै हो । जहाँ मान्छे जम्मा हुन्छन् त्यहाँ गफ चल्छ, जहाँ गफ चल्छ त्यहाँ बहस सुरु हुन्छ । जहाँ बहस सुरु हुन्छ । जहाँ गफ चलिरहेको हुन्छ, जहाँ बहस भएको हुन्छ, त्यहाँ जाक्सीवाय तर्क राख्न र आफ्नो कुरा माथि पार्नमा उनलाई जित्न कसैले सक्दैनथ्यो । जाक्सीवायको बारेमा धेरै किस्साहरू बनाइएको पनि थियो ।
आफ्नो मालिकलाई पर्खेर बस्दा बस्दा गधालाई पनि वाक्क दिक्क लाग्यो । तैपनि आउलान् भनेर पर्खिरह्यो । घाम चर्किरहेको थियो । माखा भन्केर हैरान पारिरहेको थिए । कुकुर माखाले नराम्ररी टोकिरहेको थिए । हुँदाहुँदै गधालाई भोक प्यासले सताउन थाल्यो । तर जति कुर्दा पनि जाक्सीवाय फर्केनन् । आखिर गधाले गर्न पो के सक्थ्यो र ? उसले त्यही गर्‍यो जुन आफ्नो चरन क्षेत्रमा उसका बथानका जुनसुकैले गर्थे ।
उसले पुच्छर उठायो । कान ठाडा ठाडा बनायो । नाकको पोरा फुलायो । मुख खोल्यो र गला फुकाएर चिच्याउन थाल्यो । बजारमा कामले र बिना कामले जम्मा भएको मान्छेहरूले आश्चर्य मान्दै उसलाई हेर्न दगुरे । “अहो, कस्तो आवाज हो यो ?” भन्दै सबै बजार घोप्टिए, “यस्तो आवाज त हामीले तुर्किस्तानमा आजसम्म सुनेकै थिएनौ ।”
“आहोऽऽ, कस्तो मजा आयो ।” गधा खुसी भयो, “बाटोमा धुलो खाँदै हिँडेको पनि यतिका वर्ष भयो तर आफ्नै क्षमता बारे आज मात्र थाहा भयो । पूरै तुर्किस्तानमा मेरो नाम फैलियो !”
त्यही बेला गधालाई आफू एक जन्मजात महान् गायक भएको कुरा थाहा भयो । भोको स्याललाई कहाँ–कहाँ मुख जोत्नुपर्छ भने झैँ मूर्ख गधाको खोपडीमा पनि खै कस्ता कस्ता कुरा उब्जन थाल्यो ।
गधाले सोच्न थाल्यो, “अब म आजैबाट जाक्सीबायको काम गर्दिन । छिट्टै नै मेरो पनि नाम चल्नेछ । मलाई सम्मान मिल्नेछ । तर नाम र सम्मान ढाडमा दाउरा बोकेर मिल्छ ?”
उसले जोसमा आएर दाम्लो छिनायो र तुरुन्त सहरबाट बाहिर निस्कियो । “अलबिदा बूढा कुरौटे जाक्सीबाय, अलबिदा पुरानो तुर्किस्तान !”
गधा सुनसान बाटामा घुम्दै बेसुरमा हिँड्न थाल्यो । घाम चर्किरहेकै थियो । माखा भन्केर हैरान पारेका थिए । कुकुर माखाले पहिलेभन्दा टोक्न थालेका थिए । भगौडा गधा थाक्यो । भोक र प्यासले इन्तु न चिन्तु भयो । छेउछाउमा न कतै छाया थियो न कुनै घाँसको त्यान्द्रा नै देखिन्थ्यो । न कुनै सानो भए पनि पोखरी देखिन्थ्यो ।
“यश कमाउन सजिलो हुँदैन ।” गधाले एक चिसो सास लियो, ‘तर ईश्वरले आफ्नो चुनिएको कलाकारलाई अकालमा मर्न दिँदैनन् ।’ भन्ने साँचेर गधा अझै अगाडि बढ्यो ।
शुभ हो या अशुभ गधाले पर्खालले घेरिएको एक विशाल र सुन्दर बगैँचा देख्यो । पर्खाल एक ठाउँमा भत्किएको थियो । भत्केको ठाउँबाट छायादार वृक्ष, मुलायम दुबोले ढाकिएको आकर्षक चौर र पानीको मूल देखिएको थियो । त्यस्तो जादुगरी बगैँचाको दृश्यले गधा सम्मोहित भयो र अनजान बगैँचामा केही नसोचेर घुस्यो । गधा सबै संसार भुलेर भोकको झोँकमा दानापानी खानमै तल्लीन भयो । फर्कने बाटो पनि ख्याल नगरेर पेट भरिएर डकार नआउन्जेल बगैँचाको रौँ चिरा सबै घुमाघुमी खान थाल्यो । केही समयको लागि सास फेर्न मात्र टाउको के उठाएको थियो । एक अप्रत्याशित कुराले ऊ चकित भयो ।
एउटा झ्याङबाट एउटी परी जस्ती सुन्दरी मृगिनी सिधै ऊतिर नै आउँदै थिइन् । त्यो मृगिनी पनि त्यो बगैँचामा चोर्न पसेकी थिइन् । उनी बिहानैबाट मैदानमा उफ्रँदै दौडँदै थिइन् । खेल्दा खेल्दै बगैँचाको पर्खालनिर पुगिन् । उनी पनि खुसी हुँदै शानदार बगैँचामा चर्न थालेकी थिइन् । गधालाई देखेर उनी भाग्न तयार भएर जडवत उभिएकी थिइन् ।
गधा पहिलो नजरमै मृगिनीको प्रेममा परेर पागल भयो । उसको मन मृगको बच्चा भई उफ्रँदै थियो । उसले आँखा खोलेर मृगिणीलाई हेरिरहेको थियो र उमङ्गको उन्मादमा सोच्न थाल्यो “मेरो भाग्य वास्तवमा मप्रति कृपालु छ । उसले मलाई यस्तो मीठो स्वर दियो, यस्तो विचित्र बगैँचामा पुर्यायाे । अहिले एक अति सुन्दर दुलहीसित मेरो भेट पनि गरायो ।” उसले आफ्नो रयाल् हल्लाउँदै बिस्तारै भन्यो “सुन्दरी, तिमीले आफ्नो स्वर्गीय सुन्दरताले मेरो मन मोहित पार्याे । म तिमीलाई गीत सुनाउन चाहन्छु । आज्ञा देऊ । मेरो मधुर स्वर सुनेर तिमीले मजस्तो महान् गायकको प्रेम प्रस्ताव अवश्य स्वीकार गर्ने छ्यौ ।”
मृगिनीले यताउता हेरिन् र मसिनो आवाजमा भनिन् “ए गधा, के तिमी चुप रहन सक्दैनौ ? हेर तिम्रो खुसीको कारण हामीमाथि कुनै विपत् आई नलागोस् । जसरी एक बेहोस चोरलाई परेको थियो ।” भन्दै मृगिनीले एउटा नीति कथा सुनाउन थालिन्, “एक रात सात जना चोर एक धनवान्को घरमा चोर्न पसे । उनीहरू तहखानामा पुरानो रक्सीको ढोलमा डुबेर कहिले सुनसान होला र आफ्नो काम सुरु गरौला भनेर पर्खेर बसे । तर रक्सीको गन्धले उनीहरूको मति भ्रष्ट भयो र उनीहरूले आफू मन खोलेर मूल्यवान् रक्सी पिउन थाले । परिणामतः चोरहरू रक्सीको मातमा आफू कहाँ छु ? के गर्दै छु ? भन्ने पनि बिर्सेर गला फुकाएर आफूलाई मन पर्ने गीत गाउन थाले । त्यसपछि त घर मालिकले उनीहरूको गीत सुने । मालिकको पहरेदार पनि तहखानामा पुग्यो । ती चोरहरू समातिए र मालिकको पहरेदारले गोर्खे लौरी कसे । आखिर तपाईँ र म पनि त यो बगैँचामा चोर्न आएका हौँ ।”
“तिमी अति सुन्दरी छ्यौ मृगिनी” गधाले भन्यो, “तर तिमी एकलास मैदानमा जन्मेर हुर्केकी हौ । त्यसैले राम्रो गीत बारे थोरै मात्र जान्दछ्यौ । मैले त सबै जीवन मान्छेहरूको बिचमा बिताएको छु । तुर्किस्तानमा पनि बसेको छु र वाजी राखेर भन्न सक्छु, म गायन कलामा दक्ष छु । मैले सुरु मात्र गर्न बेर हो । त्यसपछि त तिमीले नरोकिएर गाउन मलाई बिन्ती गर्न थाल्ने छ्यौ ।
किन्तु मृगिनी बोलिन्, “के हजुर चुप लागेर बस्न सक्नुहुन्न ? जसले अलिकति पनि सावधानी रहेन भने त्यसमाथि विपत्ति आइलाग्न केही बेर लाग्दैन । जसरी एक दाउरेमाथि आइलागेको थियो ।”
 मृगिनीले यो नीति कथा सुनाइन्, “एक दाउरेले जङ्गलमा अबेला भइसकेको थियो र ऊ रातमा जङ्गलमा भौँतारिँदै थियो । अचानक उसले नजिकैबाट आएको चर्को आवाज सुन्यो । दाउरे तुरुन्त रुखमा चढ्यो र एउटा हाँगामा लुक्यो ।
त्यहाँ तीन जना राक्षस देखा परे । उनीहरू रुखको फेदमा बसेर आफ्नो अगाडि मूल्यवान् सुराही राखेर खान थाले । राक्षसहरू सुराहीलाई हातमा लिन्थे र सुगन्धित किमिज निकालेर खान्थे । यस्तरी आनन्दले किमिज खान्थे कि, त्यो त उनीहरूले बाहेक कसैले खाएको नै थिएन जस्तो लाग्थ्यो । जस्तो परिकारको कल्पना गरेर सुराहीको मुखमा हात थाप्थे सुराहीबाट त्यही परिकार निस्कन्थ्यो ।
बिहान भयो । राक्षसहरूले चमत्कारी सुराही रुखको फेदमा लुकाएर भिन्न–भिन्न दिशातिर लागे । दाउरे तुरुन्त तल झर्‍यो र सुराही बोकेर दौडँदै घर पुग्यो । घरमा पुग्न नभ्याउँदै उसले आफ्नो छिमेकी, आफन्तलाई बोलाएर आफूले पाएको दुर्लभ सुराहीको घमन्ड गर्न थाल्यो । त्यसको बारेमा बढाइ चढाइ गर्न थाल्यो । उसले बेला बेलामा चमत्कारी सुराहीलाई सुमसुम्याउँदै त्यसबाट मग भरिने गरी किमिज खन्याउँथ्यो । हुँदा हुँदा खुसीले पागल भयो र सुराही टाउकोमा राखेर हा हा ही ही गर्दै घरको वरिपरि नाच्दै घुम्न थाल्यो । अचानक ठेस लागेर सुराही खस्यो र टुक्रा टुक्रा हुने गरी फुट्यो । हेर गधा, कतै हामी पनि तिम्रो मूर्खताले गर्दा यो स्वादिष्ट दुबोबाट वञ्चित हुन नपरोस् ।”
गधाले चिसो एक सास फेर्‍यो र निराशा पूर्वक भन्यो, “ए मृगिनी, प्रकृतिले तिमीलाई असीम सौन्दर्य त दिएको छ तर तिम्रो हृदय निष्ठुर रहेछ । फेरि पनि मलाई विश्वास छ, मेरो मिठो गायकीले तिम्रो कठोर मनलाई कोमल बनाइदिने छ । तिम्रो उद्धार हुनेछ ।”
मृगिनीले गधालाई चुप लगाउने प्रयास गरी रही, “म तिमीसित अनुनय विनय गर्छु । हेर गधा, समयमै होसमा आऊ, आफ्नो मीठो आवाज तुर्किस्तान सहरको लागि बचाएर राख । किनकि मुखबाट कुकालमा निस्केको एक शब्दले हामीलाई दुःखको भुमरीमा पार्न पनि सक्छ । एक तन्नेरी व्यापारीले पनि यसको ध्यान नराख्दा पछि पछुताउन परेको थियो ।” भन्दै एक नीति कथा सुनाउन थाली, “एक तन्नेरी व्यापारी भोज खाएर आधी रातमा सहरको अँध्यारो गल्लीको बाटो हुँदै घर फर्कँदै थियो । उसको खल्ती असर्फीले भरिएको थियो । ‘यदि मलाई लुटेराहरूले आक्रमण गरेर मेरो धन लुटे भने ?’ डरले गर्दा मनमनै गरेको कुरा पनि ठुलै आवाजमा भन्न पुग्यो । हुँदा–हुँदा आफ्नो डर हटेजस्तो लागेर उसले एक्लै कुरा गर्न थाल्यो । “… . लुटेरा देखियोस् न मात्र, देख्ने बित्तिकै मैले टुक्रा टुक्रा पारेर फाल्दिन्छु ।… म त राक्षस आए पनि नडराउने मान्छे हुँ ।” आधा रात भइसकेको थियो । गल्लीको एक गौँडामा लुटेराहरूको गिरोह कोही आउला र लुटौँला भनेर कुरिरहेका थिए । लुटेराहरूले तन्नेरीको आवाज सुने र त्यसमाथि हमला गरे । त्यसको धन र कपडा समेत लुटेर त्यसलाई नाङ्गै सहरमा भौँतारिन छाडिदिए । हेर गधा, यदि तिमीले बेलैमा बुद्धि नपुर्‍याएर गीत गाउन थाल्यौ भने हाम्रो त्यस तन्नेरी व्यापारीको भन्दा पनि नराम्रो हालत हुनेछ । यस्ता थोत्रा कुरा गर्न छोड, बरु हामी अर्काको यो सुन्दर बगैँचाबाट भाग्ने बेला भएको छ, बरु भागौँ ।”
यति बेलासम्म गधा अधैर्य भयो, “हे निर्मम सुन्दरी, मृगिनी ! तिमी मलाई चुप लाग्न कसरी भन्छ्यौ ? मलाई त आफ्नी प्रियतमाको सम्मानमा गीत गाएर सुनाउने रहर उम्लिएर आएको छ । मेरो गीत मुखबाट बाहिर निस्कन तड्पिरहेको छ !”
यति भनेर गधाले राम्रा गायकले झैँ आँखा चिम्लियो । मुख च्यातेर खोल्यो र जोडाजोडले चिच्याउन थाल्यो । मृगिनी अचम्ममा परिन् र एक छेउतिर भागिन् । जसरी त्यसरी बगैँचाबाट निस्केर हावाको गतिमा मैदानै–मैदान दौडिइन् । तर गधा आँखा चिम्लेर क्वाँऽ क्वाँऽ गर्दै चिच्याइरह्यो ।
बगैँचाको मालिक ठुलो लौरो लिएर दौडँदै बगैँचामा पुग्यो । गधालाई छेका मारेर समात्यो र गोर्खे लौरी कस्यो । गधालाई चिर्को परेझैँ भयो । कति पिटाइ खायो उसले केही थाहा पाएन । मर्‍यो–मर्‍यो भएर पनि गधा धन्नले जिउँदै बाहिर निस्केर मैदानमा लत्रन थाल्यो ।
रात पर्‍यो । आकाशमा जून झुल्कियो । तब मैदानका सबै स्यालहरू आफ्नो पूर्वजको परम्परा अनुसार अनेक आवाजमा कराउन थाले । गधाले त स्यालको आवाज कहिल्यै सुनेको थिएन । गधा एक छिन रोकिएर ध्यान दिएर सुन्यो, “अहो ! यो पनि कुनै गीत हो ? यस्तो पनि कुनै गायकी हुन्छ ? म एक्लै योभन्दा राम्रो गाएन सक्छु ।” भन्ने सोच्यो ।
गधाले पूरै बल लगाएर सास लियो र सकेसम्म चर्को स्वरमा करायो । त्यो जोडले गर्दा गधालाई चक्कर लाग्यो र ढल्यो । तर त्यो आवाज सुनेर सबै स्यालहरू अचम्ममा गर्दै चुप लागे । यस्तो निर्जन मैदानमा पति राती गधा कहाँबाट आउन सक्छ ? उनीहरूले कुनै सरसल्लाह गर्न पनि भ्याएनन् । तुरुन्त गधाको आवाज आएतिर दौडिए । जाँदाजाँदै तुरुन्त सिकार देखे । यसरी गधाको कथा सकियो ।
तर यदि तपार्इँ कुनै पनि मूल्यमा जाक्सीवायको बारेमा जान्न चाहनुहुन्छ भने ढिलो नगरेर तुर्किस्तान दौडेर जानुस् । अबेर नगरेर त्यहाँको बजारको सबैभन्दा खचाखच मान्छेले भरिएको चिया पसल खोज्नुस् र त्यहाँ कुनै शङ्का नगरेर पस्नुस् । पक्कै जाक्सीवाय भेटिनेछ । आफ्नो गधा बिर्सेर अझैसम्म पनि नरम नरम कुर्सीमा बसेर प्यालाको प्याला चिया पिउँदै भए नभएका अनेकौँ गफ हाँकिरहेका हुनेछन् । उनले तपार्इँलाई पनि कुनै रोचक कथा पक्कै सुनाउनेछन्, सुन्दै रहनु होला ।

प्रतिक्रिया दिनुहोस

राजनीति

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

पूर्व प्रधानमन्त्री, पूर्व गृहमन्त्री लगायत ५ जनालाई उपत्यका बाहिर जान रोक 

१२ असोज, काठमाडौँ । जेन-जी आन्दोलनमा भएको दमन र क्षतिको जाँचबुझ गर्न गठित आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृह...
चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

चीनले बनायो विश्वको पहिलो स्वायत्त मानवीय रोबोट, ७ दिनसम्म आफैँ गर्ने क्षमता

काठमाडौँ, चिनियाँ कम्पनीले मानिसजस्तै देखिने रोबोट बनाएको छ । अचम्मको कुरा के छ भने यो रोबोटले मानिसको सहयोग ब...
विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

विस्फोटको उच्च जोखिममा रहेका चार हिमताल

छोटो अवधिमा गरिएका विगतका अध्ययनहरूको समीक्षा र दुई भिन्न वर्षका सेटेलाइट नक्साको अवलोकन गर्दा उक्त चार वट...
जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

जीवनशैलीलाई स्वस्थ राख्न जनसचेतना अनिवार्य छ-कुलपति राई 

 काठमाडौँ। नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल विद्यावारिधि सङ्घको सहकार्यमा श्रावण  ८ गते "हाम्रो जीवनशैलीको रूपान्तरण स्वास्थ्य र...