Gyaan Ghar

Advertisement

साहित्यिक पदयात्रा–३ का केही अनुभूतिहरू

* समीर सिंह
साहित्यिक पदयात्रामा सहभागी नभएको धेरै दिन भएको थियो । वर्षाको समय तथा अन्य विविध कारणले लामो समयपछि साहित्यिक पदयात्राको तेस्रो भाग सम्पन्न गरियो । अन्पाको केन्द्रको बैठकले आश्विन १३ गते पदयात्रा गर्ने निर्णय गर्‍यो । र, त्यसलाई सफलतापूर्वक सम्पन्न पनि गरियो ।
धेरै दिन भएको थियो, प्रकृतिसँग रमाउन नपाएको । काठमाडौँको खाल्डोको उकुसमुकुस जीवन शैलीबाट केही क्षणका लागि भएपनि उकालो चढ्न आतुरता भइरहेको थियो । उपत्यकाको भिडभाड जीवनशैली, धुलो र धुवाँबाट केही टाढा भाग्न मन लागि रहेको थियो । चराहरूको चिरबिर ध्वनि अनि हरियो जङ्गलमा रमाउन कहिले पाइने होला ? यस प्रकारका थुप्रै प्रश्नहरू मनमा उत्पन्न भइरहेको थियो । कुनै पहाडको टुप्पोमा चढेर चिच्याउन मन लागि रहेको थियो । अन्ततः आश्विन १३ गतेको दिन आयो । र, अन्पाको झन्डा बोकेर हामी निर्धारित स्थानमा पुग्यौ ।
ककनी जाने बाटोको फूलबारी गेटमा बिहान ८ बजे पुग्नुपर्ने थियो । सबैभन्दा पहिले म पुगे । अनि अरू स्रष्टाहरू आउने क्रम जारी रह्यो । पहिलो साहित्यिक पदयात्रा गर्दा ‘निरन्तर पदयात्रा गरिरहने’ वाचा गरेका थियौ । तर त्यसरी वाचा गर्ने सबै स्रष्टाहरूको निरन्तरता हुन सकेन । केही पुराना स्रष्टाहरू हराउनुभयो । नयाँ स्रष्टाहरू जोडिनुभयो । तर पनि यात्रा त निरन्तर रुपमा चलीरहेका नै हुन्छ । ७ वर्षीय सान्वी, १० वर्षीय सङ्घर्ष देखि लिएर हामी केही पाका स्रष्टाहरू गरी १६ जना स्रष्टाहरूको उपस्थितिमा साहित्यिक पदयात्रा भाग ३को सुरुवात गरियो ।
हामी नागार्जुन डाँडाको उकालो चढ्न आतुर थियौँ । आर्मी गेटमा १०० रुपैयाँको टिकट काटी ठाडो सिडी तर्फ हाम्रो पाइला लम्कँदै गए । कोही पहिलो पटक पदयात्रामा सहभागी भएको थिए, कोही अलि पुरानो भइसकेको अनुहार थियो । फेरि पनि फरक–फरक अनुभूतिको संयोजन गर्दै हामी आफ्नो गन्तव्य तर्फ लम्किँदै गयौँ ।
गितार, स्पिकर सहित हामीले रमाइलो गर्ने कार्यक्रम बनाएको थियौँ । तर राष्ट्रिय निकुञ्जको क्षेत्र भएर त्यस्ता सामग्रीहरू भित्र लैजान पाइँदो रहेनछ । जङ्गलभित्रका जिवजन्तुलाई डिस्टर्व हुन्छ भनेर त्यस्ता सामग्रीहरू लग्न अवरोध गरिएको रहेछ । फेरि पनि झोलाभित्र खानेकुरा मात्र राखेर हामी आफ्नो गन्तव्यतर्फ लाग्यौँ ।
हाम्रो पदयात्रामा सगरमाथाको यात्रा गरिसक्नुभएको इसु भट्ट पनि जोडिएकी थिइन् । हामी माथि उक्लँदै गर्दा उनले सगरमाथा चढ्दाको अनुभव सेयर गरिरहेकी थिइन् । निकै चुनौतीपूर्ण यात्रा रहेछ उनीहरूको । थोरै गल्ती गर्दा पनि ज्यानै जान सक्ने अवस्था हुँदो रहेछ । तर पनि सगरमाथा चढ्नुभन्दा पहिले धेरै तालिम गरेर उनीहरू सगरमाथाको पदयात्रामा लागेका रहेछन् । त्यो पदयात्राको एउटा मात्र पछुतो, उनी सगरमाथाको चुचुरो भन्दा ५०० मिटर तलबाट फर्किनुपरेको रहेछ । अक्सिजनको सिलिण्डेर फुट्नाले उनी निर्धारित गन्तव्यभन्दा थोरै तलसम्म मात्र पुग्न सकेकी रहिछन् ।
यो भन्दा अघिका पदयात्रामा जनवादी गायक हेमराज आश्रम जोडिन खोजेका थिए । तर अनुकूल समय नभएर सम्भव भएको थिएन । उनी पहिलेबाट नै ‘म जसरी पनि जाने हो है’ भनेर कुरा गरिरहेका थिए । यो पटक उनी हामी पदयात्रामा जोडिए । बाटोभरि निकै रमाइलो गरिरहे, हेमराजले । बाजागाजा नभएपनि रुखको पातलाई मुखमा च्यापेर मिठो संगीत दिँदै अगाडि बढिरहेका थिए,उनी । गीत र सङ्गीतका धनी हेमराज भएपछि कसैलाई नरमाइलो लाग्ने कुरै थिएन । ठाडो उकालो भए पनि हाम्रो सामूहिक पदयात्रामा कसैलाई थकानको अनुभूति भएको नै थिएन ।
उकालो चढिरहेका सबै अनुहारलाई म हेरिरहेको थिए । तीन वटै पदयात्रामा सहभागी भएको म र मेष्मा मात्रै थियौ । कोही दुई वटा पदयात्रामा सहभागी भएका थिए । कोही पहिलो पटक । तर पनि सबैबाट एउटा स्वर आइरहेका थियौ, ‘अब आउने पदयात्रामा हामी छुट्दैनौ है ।’
१० वर्षीय सङ्घर्षले जामाचोको उकालो, धेरै पटक ओहोर दोहोर गरिसकेका रहेछन् । उनी जामाचो पदयात्राको बारेमा हामीलाई जानकारी गराउँदै अघि बढिरहेका थिए । सानो ७ वर्षीय नानु सान्वीको हात समातेर उनी हाम्रो यात्राको अघि अघि बढिरहेका थिए । उनीहरूको मुस्कान र खुसी देखेर मैले उनीजस्ता थुप्रै बालबालिकाहरूलाई सम्झिरहेको थिए । मोबाइल, टिभी र किताबी किराजस्तो मात्र हुने बालबालिकाहरूको लागि यस प्रकारको पदयात्राको अझ धेरै आवश्यक हो कि भन्ने अनुभूति भइरहेको थियो । सामाजिक सञ्जाल र इन्टरनेटको संसारमा मात्र सीमित हुँदा अहिलेका अत्यधिक बालबालिकाको रचनात्मक व्यक्तित्व विकास हुन सकिरहेको छैन । ती बालबालिकाको सामाजिक व्यक्तित्व विकास गर्न पनि यस प्रकारको पदयात्रामा सहभागिताको आवश्यकता हो कि । बालबालिका आत्मबल बढाउन, चुनौतीपूर्ण परिस्थितिसँग सङ्घर्ष क्षमताको अभिवृद्धि गर्न पनि यस प्रकारको सामूहिक पदयात्राको निकै महत्त्व हुन्छ ।
हामीले चार किलोमिटर उकालो यात्रा पुरा गर्नुपर्ने थियो । आधा यात्रा पुरा गरेपछि हामी एउटा ठुलो चौरमा रमाउन थाल्यौ । वरिपरिको दृश्यबाट आनन्दित भयौ । अनि सबैसँग परिचय गरिसकेपछि साहित्यिक कार्यक्रम सुरु भयो । सानी नानु सान्वीको कविता वाचन, सङ्घर्षको युरोप भ्रमणको अनुभूति र इसु भट्टको सगरमाथा भ्रमणको अनुभूति सुनाइन् । इन्द्र मल्ल र नेत्र रानाको गीतले हामी मात्र होइन वरिपरि बसेका सबैलाई मोहित बनायो । हेमराजले गजल सुनाए । मेष्मा, कविता, निलम, बेली, एलिसा, हरिबाट पनि गीत प्रस्तुत भयो । सुप्रभातले नृत्य प्रस्तुत गरे । घनश्याम र भीष्म जोशीले केही अनुभूतिहरू प्रस्तुत गरे । यसरी फरक फरक विधाको प्रस्तुतिपछि हाम्रो सहभोज सुरु भयो । सबैको झोलाबाट मिठा मिठा परिकारहरू निस्किरहेको थियो । फरक फरक स्वादको खानपिन सकिएपछि फेरि हामी उकालो लाग्नुपर्ने थियो । नागार्जुनको चुच्चोमा पुग्न हामी आतुर थियौ । फेरि मिठा मिठा कुराकानी गर्दै, प्रकृतिसँग रमाउँदै हाम्रो यात्रा अगाडि बढी रह्यो ।
नागार्जुन डाँडाको घनघोर जङ्गललाई छिचोल्दै हाम्रा पाइलाहरू उकालो चढ्दै गयो । थुप्रै मानिसहरूको आउने जाने क्रम चलिरहेको थियो । ‘अझ कति माथि हो ?’ हामी सोधिरहेको हुन्थ्यौ । एउटा एउटा सिडी उक्लँदै गर्दा हामी अन्ततः जामाचो पुगेरै छाड्यौ ।
थोरै थोरै थकाई पनि लागिसकेको थियो । नागार्जुनको चुचुरोमा पुगेर वरिपरिको दृश्य हेर्दा त्यो थकाई त कता हरायो कता । कति रमाइलो ठाउँ । सबैको अनुहारमा एकदमै मुस्कान देखिन्थ्यो । काठमाडौँ खाल्डोमा बसेर एकैनासको जीवन बाच्दै आएकाहरूलाई जामाचोको आनन्दित ठाउँमा पुग्दा बेग्लै आनन्दको अनुभूति भइरहेको थियो । तलतिर हेर्‍यो, सिङ्गै काठमाडौँ देखिन्थ्यो । भिडभाडपूर्ण सहरको दृश्यबाट एउटा बेग्लै संसारमा आएको जस्तो अनुभूति भइरहेको थियो ।
थुप्रै मानिसहरू जामाचो पुगेको थिए । सबै आ–आफ्नै तरिकाले आनन्दित भइरहेको थिए । हामी पनि बिचको एउटा ठाउँमा अन्पाको ब्यानर टाङ्यौ । अनि सुरु भयो, हाम्रो साङ्गीतिक तथा साहित्यिक प्रस्तुति । सबैभन्दा पहिले मैले एउटा कविता वाचन गरे । त्यसपछि मौलिक शब्दहरूमा पश्चिमको ‘राइजोमा गीत’ गाउँदा वरिपरिका सबै आनन्दित भइरहेका थिए । त्यो गीतमा सबै नाचिरहेका थिए । मोहनविक्रम सिंहले लेखेको ‘रुख भन्छ पात भन्छ’, ‘जात फरक भए के भो मन त नेपाली हो’, ‘एमसिसी चाहिँदैन’ लगायतका गीतहरू गाउँदै हामीले त्यहाँको वातावरणलाई एकदमै रमणीय बनायौँ । त्यहाँको प्राकृतिक दृश्यले नै वातावरण त्यसै रमणीय थियो, हाम्रा साहित्यिक प्रस्तुतिले त्यहाँ झनै ऊर्जा थपेको थियो । वातावरण एकदमै आनन्दित हुँदै गइरहेको थियो ।
समय दौडी रहेको थियो । हामीले जति प्रयास गरे पनि समयको दौडाइलाई रोक्न सक्दिन्थ्यौ । अन्ततः एक पटक फेरि जामाचोको भ्यूटावरबाट वरिपरिको सम्पूर्ण दृश्यमा आँखा घुमाएर काठमाडौँको खाल्डोतर्फ ओर्लियौ ।
नागार्जुनको डाँडाले हामीलाई आफूतर्फ तानिरहेको थियो । तर पाइलाहरू तल झर्दै गयो । बिचमा फेरि हाम्रो खाजा खाने कार्यक्रम थियो । अनि साहित्यिक पदयात्राको बारेमा सरसल्लाह गर्नु थियो । सबैको एउटा कुरा थियो, ‘एक दिनको यात्राले मात्र पुगेन, कमसेकम दुई दिने पदयात्रा गर्नुपर्दछ ।’ दसैँ तिहारको बिदापछि मङ्सिरमा चन्द्रागिरि हुँदै इन्द्र सरोवरसम्म जाने र साहित्यिक पदयात्रा भाग ४ अझ रमाइलो गरी सफल पार्ने सल्लाह गर्‍यौ ।
बेलुका ४ बज्दा पनि एकदमै अन्धकार जस्तो अनुभूति भइरहेका थियो । दिनभरिको हिँडाई पछि पनि हाम्रो ऊर्जा र उत्साहमा कुनै कमी भएको थिएन । अन्ततः बेलुका ५ बजे हामी फूलबारी गेट पुगेरै छाड्यौ  । साहित्यिक पदयात्रा भाग ४ मा भेट्ने वाचा गर्दै सबैसँग हात हल्लाउँदै आ–आफ्नो गन्तव्य तर्फ प्रस्थान गर्‍यौ ।
सिद्धान्त, विचार, आन्दोलन, सङ्घर्ष, उत्पादनका विभिन्न गतिविधि आदिको आ–आफ्नै महत्त्व छ । तर साहित्यिक पदयात्राको पनि आफ्नै महत्त्व छ । विभिन्न सोधअनुसार पनि लामो पदयात्राले तनाव व्यवस्थापन, मुटुको कसरत, सुगर र ब्लड प्रेसर जस्ता रोगहरू, मांसपेशी तथा हड्डीको कसरत आदिको लागि एकदमै फाइदाजनक छ । हामीले सिद्धान्त र दर्शनको कुरा गरिरहँदा विभिन्न प्रकारका तनावहरूले कमजोर हुँदै गइरहेका हुन्छौ । त्यस प्रकारको तनाव व्यवस्थापनको लागि पनि पदयात्राको निकै महत्त्व हुने विभिन्न अध्ययनहरूले पुष्टि गर्दै आइरहेको छ ।
त्यसका साथै सामाजिक तथा राजनीतिक परिवर्तनको क्षेत्रमा थुप्रै कवि, लेखन, स्रष्टाहरूको आवश्यकता पर्दछ । साहित्यिक पदयात्राको सन्दर्भमा केही पुराना र केही नयाँ पुस्ताका स्रष्टाहरू एकै ठाउँमा यात्रा गर्दा एक अर्काको अनुभव साटासाट गरिरहेका हुन्छौँ । एक अर्कोलाई सकारात्मक तरिकाले प्रोत्साहित गरिरहेका हुन्छौँ । आफूले जानेका कुरा, अरूलाई सेयर गरिरहेका हुन्छौँ । नयाँ पुस्तालाई साहित्य र सिर्जना तर्फ अग्रसर हुन प्रेरित गरिरहेका हुन्छौँ ।
यस प्रकारको पदयात्राले पुराना स्रष्टाहरूको सिर्जनामा अझ निखरता आइरहेको हुन्छ । नयाँ पुस्ता, सिर्जना निर्माण गर्न उत्प्रेरित भइरहेको हुन्छन् । नयाँ पुस्ताले असल साथी पाइरहेको हुन्छन् । यी सबै कारणले पनि साहित्यिक पदयात्राको बेग्लै महत्त्व छ जस्तो लाग्दछ । त्यस कारण पनि साहित्यिक पदयात्रालाई निरन्तरता दिइरहनुपर्दछ । त्यो दिशामा अखिल नेपाल प्रगतिशील लेखक सङ्घ(अन्पा)ले साहित्यिक पदयात्राको भाग ४ हुँदै अरू थुप्रै भागहरूको निरन्तरता दिइरहनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस

राजनीति

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

लेबनानमा पेजर विस्फोट कसरी गराइयो ?

काठमाडौँ । लेबनानमा पेजरमा भएको शृंखलाबद्ध विस्फोटको विश्वभर चर्चा भइरहेको छ । १२ जनाको ज्यान गएको र करिब २८ सय घाइ...
सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन मन्त्रिपरिषद्‌ले स्वीक...
संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

संविधानले सबै प्रकारका विभेद र उत्पीडन अन्त्य गरेको छ- राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारक...
रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

रवि लामिछानेको प्रस्ताव- प्रदेश खारेज, वैशाख २५ गते पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रदेश खारेजको प्रस्ताव राखेका छन् । काठम...