*
* रामराज रेग्मी
दर्शन शब्द संस्कृत भाषाको ‘दृश’ धातुबाट बनेको हो । यसको अर्थ हेर्नु तथा बुझ्नु भन्ने हुन्छ । संस्कृतमा दर्शनलाई यसरी परिभाषित गरिएको छ, ‘दृश्यते अनेन इति दर्शनम्’ अर्थात् जसको सहयोगबाट देखिन्छ, त्यो दर्शन हो । यसो भन्दा आँखाको सहयोगबाट देखिने हुनाले त्यो दर्शन हुने भयो भन्ने तर्क आउन सक्छ । तर, यहाँ भन्न खोजिएको आँखालाई होइन, गहिरो ज्ञान दृष्टिलाई हो । प्राचीन संस्कृत साहित्यले दर्शनलाई गहिरो ज्ञान दृष्टिको अर्थमा लिएको छ ।
अङ्ग्रेजीमा दर्शनलाई Philosophy भनिन्छ । यसमा दुई शब्द Philos र Sophy को मिलन भएको छ । ग्रीक भाषामा Philos को शाब्दिक अर्थ मोह र Sophy अर्थ विवेक हुन्छ । यस कारण Philosophy को अर्थ हुन्छ, विवेक अथवा ज्ञानप्रतिको मोह । यस परिभाषामा ग्रिसेली दार्शनिक पाइथागोरससँग सम्बन्धित एक पौराणिक कथा Mythology पनि जोडिएको छ । उनले एउटा प्रसङ्गमा भनेका थिए, म बुद्धिमान त छैन, तर बौद्धिक विचारप्रति मेरो मोह छ ।ू पश्चिमी जगत्मा उनको त्यही भनाइलाई आधार बनाएर केही समयसम्म दर्शनशास्त्रको परिभाषा दिइयो र दर्शनशास्त्रलाई ‘विस्तृत ज्ञान भण्डार’ को अर्थमा बुझियो [Spirkin, 1983 : 1] ।
प्राचीन समयमा ज्ञानको दायरा साँघुरो रहेको र जानकारीमा आएका विषयवस्तु साह्रै नै थोरै हुने भएकाले जानकारीमा आएका जति सबै विषयहरूलाई दर्शनको रूपमा लिइएको थियो । डेकार्टले दर्शनशास्त्रलाई एउटा वृक्षको रूपमा प्रस्तुत गरेका थिए । जसमा तत्त्व विज्ञानलाई त्यसको जरा, भौतिक शास्त्रलाई फेद र अन्य विभिन्न विषयहरूलाई हाँगाबिँगाका रूपमा देखाइएको थियो । त्यही विश्लेषणका आधारमा युरोपेली समाजमा न्युटनको गणित शास्त्र, लिनियसको वनस्पति शास्त्र, ला मार्कको जीव शास्त्र यस्तै अन्य विषयहरू दर्शनअन्तर्गत गनिएका थिए [Spirkin, 1983 : 1] । तर, पछिल्लो अवधिमा भने समयको विकाससँगै विभिन्न खोजी र वैज्ञानिक आविष्कारहरूले गर्दा ज्ञानका धेरै हाँगाबिँगाहरू देखा पर्न थालेकाले दर्शनशास्त्रलाई त्यसरी विस्तृत ज्ञान भण्डारको रूपमा नलिई एउटा विशेष ज्ञानको क्षेत्रको रूपमा लिन थालिएको छ ।
मानिस सामाजिक प्राणी हो । ऊ जङ्गलमा वा निर्जन स्थलमा एक्लै बस्न सक्दैन । जहाँ धेरै मानिसहरू बस्छन्, ऊ त्यही नै बसोबास गर्दछ । समाजमा बसेपछि आफ्नो परिवेश र राष्ट्रका घटनाहरू ऊसङ सम्बन्धित हुन्छन् । उसले मानिसलगायत जीवित प्राणीहरू जन्मेको, हुर्केको र मरेको देख्दछ । समाज भूगोलमा बन्ने हुनाले मानिस केवल सामाजिक घटनासँग मात्र सम्बन्धित हुँदैन । ऊ प्राकृतिक घटनाको सम्पर्कमा पनि आउँछ । कहिले राति आकाशमा जून लाग्ने त कहिले चकमन्न अन्धकार छाउने, कहिले घाम लाग्ने त कहिले फेरि दिनभर बादल लागेर घामको मुख देख्न नपाइने, कहिले घनघोर पानी पर्ने त कहिले खडेरी लागेर अन्नबाली ओइलाउने यस्तै यस्तै विविध घटनाहरू उसले देख्दछ ।
समाजमा कुनै मानिस परिश्रम नगरी मोज मस्तीका साथ जिउने गरेको र कोही रातदिन काममा घोट्टिदा पनि हातमुख जोर्न नसकेको पनि देख्दछ । उसको मनमा यसरी थरी थरीका घटनाहरू के–कति कारणले घट्दछन् र समाजमा किन एकरूपता नभएको होला भन्ने प्रश्न र जिज्ञासाहरू पनि उठ्दछन् । यी यावत् विषयहरूमा आफ्नो चेतना र समझअनुसार मानिसले एक प्रकारको धारणा बनाउँछ । दर्शन भनेको त्यही नै हो । अर्थात् दर्शन भनेको जीवन र जगत्लाई हेर्ने विश्व दृष्टिकोण [Worlk View] हो ।
दर्शनअन्तर्गत मानिसका विभिन्न प्रकारका विश्वास, राजनीतिक एवम् सामाजिक अवधारणा र आचार तथा नीतिका विषयहरू समेटिएका हुन्छन् । संसारको उत्पत्ति कसरी भयो, प्रकृतिमा के कस्ता नियमहरू छन्, प्रकृति र मानिसबिच के कस्तो सम्बन्ध छ, मानिसको सृष्टि कसरी भयो, मानव समाज कसरी विकसित हुँदै आएको छ र अब मानिस कसरी अघि बढ्ला आदि सवालहरूको अध्ययन हामी दर्शन अन्तर्गत गर्दछौँ । दर्शन मानिससँग जोडिएर रहने विषय हो । दर्शनले प्रत्येक व्यक्तिलाई प्रभावित गरेको हुन्छ ।
एउटा साधारण मानिसले पनि जानी नजानी दर्शनलाई व्यवहारतः अपनाइरहेको हुन्छ । यदि तपाईँले एउटा लठेउरो व्यक्तिलाई हेप्नुभयो भने ऊ तपाईँसँग रिसाउँछ । तर, यदि प्रेमपूर्वक व्यवहार गर्नुभयो भने ऊ खुसी हुन्छ । यो उसको तपाईँको व्यवहारलाई हेर्ने दर्शन वा दृष्टिकोण हो । कोही मानिस भन्दछन् कि यो संसार माया जाल हो, यहाँ तेरो र मेरो भन्नु केही छैन, सबैले एक दिन मर्नै पर्छ । त्यसैले हामी सबैले दान पुण्य गरी मरेपछि स्वर्गमा आनन्दपूर्वक जिउने उपाय गर्नुपर्दछ । यो पनि धर्ममा आस्था राख्ने मानिसको एक प्रकारको दर्शन हो । अर्का थरी मानिसहरू भन्दछन् कि जसरी हुन्छ, प्रत्येकले आफूलाई सुखी र समृद्ध बनाउने प्रयत्न गर्नुपर्दछ । उनीहरूको थेगो हुन्छ, आफू भलो त जगत् भलो । यो पनि एउटा दर्शन अथवा विश्व दृष्टिकोण नै हो ।
दर्शनले विज्ञानका विभिन्न विषयलाई र सामाजिक अध्ययनलाई मार्ग निर्देशन गर्दछ । शास्त्रीय जर्मन दार्शनिक हेगेलले दर्शनलाई सत्यको संज्ञान भनेका छन् । एङ्गेल्सले दर्शन भनेको चिन्तन र सत्ताको सम्बन्ध हो भनेका छन् । यहाँ सत्तालाई राजनीतिक शक्तिको अर्थमा लिइएको छैन । सत्ता भनेको विश्वको अस्तित्व हो, जसअन्तर्गत प्रकृति र समाज पर्दछन् (किरण, २०६७ ः ५) । एड्गेल्सको यो भनाइ दर्शनको परिभाषासँग मेल खान्छ । किनभने, चिन्तन र सांसारिक अस्तित्वको सम्बन्ध भएपछि मानिसले जगत्, त्यसमा भएका वस्तु र पदार्थको एकत्व, जगत्को विकासका नियमहरू र तिनको चरित्रसम्बन्धी सारतत्त्व र बाटाहरू पहिल्याउन सक्दछ ।
प्रत्येक सामाजिक चरणमा दर्शनहरू प्रादुर्भाव भएका छन् । ती आफ्नो समयका बौद्धिक निष्कर्षहरू हुन् । मानव जातिलाई आदिम कालदेखि नै संसारमा घट्ने विविध घटनाहरूले जिज्ञासु बनाएको पाइन्छ । हुरी, बतास, वर्षा, खडेरी, जाडो, गर्मी, उज्यालो, अँध्यारो, भूकम्प, ज्वारभाटा, चट्याङ, असिना आदि कुराहरूले उसलाई आश्चर्यचकित तुल्याएको बुझिन्छ । आदिम कालदेखि नै मानिसले विभिन्न घटनाहरूको सम्बन्धमा प्रश्नको उत्तर खोज्ने प्रयास गर्दै आएको थियो । वेदमा आदिम आर्यहरूले सांसारिक घटनाक्रमलाई लिएर प्रश्न सोध्ने गरेका जिज्ञासा राख्ने गरेका, संशय व्यक्त गरेका आदि दृष्टान्तहरू भेटिएका छन् ।
मानिस र पशुपन्छी जन्मिने र मर्ने, सूर्य उदाएपछि उज्यालो हुने, अस्ताएपछि अँध्यारो छाउने, दिउँसो निर्मल र स्वच्छ भइरहेको आकाशमा एक्कासि बादल देखा पर्ने, हेर्दाहेर्दै गड्याङगुडुङका साथ बिजुली चम्किने र पानी पर्ने, कहिले निकै धेरै पानी परेर बाढी आउने त कहिले खडेरी परेर भइरहेका पानीका स्रोत कुवा, इनार, पोखरी, खोलानाला सबै सुक्ने आदि घटनाहरू आदिम आर्यगणका निम्ति कौतुहलतापूर्ण गतिविधि थिए । तिनलाई अनुभव गरी गणका बुद्धिवान् व्यक्तिहरूले एक खालको धारणा बनाउँथे र फेरि आफ्नै धारणामाथि शङ्का व्यक्त गर्दथे । ऋग्वेदमा इन्द्र को हुन् भनी प्रश्न गरिएको, उनको अस्तित्वबारे शङ्का गरिएको र फेरि इन्द्र नभए कसलाई पूजा गर्ने भनी पिरोलिएको प्रसङ्ग पाइन्छ (दामोदरन, १९८२ ः ४३) । यस्तै विभिन्न खोजीको क्रममा नै दर्शनको प्रादुर्भाव भएको हो ।
दर्शन स्थिर हुँदैन । समयको प्रवाहसँगै त्यो गतिशील हुन्छ । सुरुका मानिसहरूको दृष्टिकोण हाम्रा लागि निम्न श्रेणीका लाग्छन् । जति समय अघि बढ्दै गयो नयाँ नयाँ दर्शनहरू अस्तित्वमा आएका र ती अपेक्षाकृत रूपमा परिमार्जित हुँदै गएका छन् । पछिल्लो समयका दर्शन पुराना समयका भन्दा प्रगतिशील हुन्छन् भन्ने हुँदैन । पछिका दर्शन पनि पुरानो समयका दर्शनभन्दा प्रतिक्रियावादी र जनविरोधी हुन सक्छन् । पूर्वीय समाजमा वैदिककामा दर्शन अन्धविश्वासपूर्ण भए पनि त्यो कतिपय सवालमा भौतिक जगत्लाई महत्त्व दिने खालको थियो । पछिल्लो उपनिषद् कालमा भौतिक जगत्लाई महत्त्व दिने र आध्यात्मिक चरित्र ग्रहण गर्ने दुई थरी दर्शनहरू अस्तित्वमा आए ।
दर्शन भनेपछि सबै सकारात्मक नै हुन्छन् भन्ने पनि हुँदैन । संसारमा राम्रा र नराम्रा, सही र गलत दुवै थरी दर्शनहरू छन् । सही दर्शन लिनेको दृष्टिकोण राम्रो हुन्छ भने गलत दर्शन अङ्गाल्नेको दृष्टिकोण सङ्कीर्ण र छुद्र हुन्छ । प्रत्येक विषयवस्तु सामान्यदेखि लिएर अति गहन एवम् विशिष्टसम्मका हुन्छन् । दर्शन पनि त्यस्तै हो । यस संसारमा सामान्य नागरिकका दर्शनदेखि लिएर उच्च कोटीका गहिरा दर्शनहरूको प्रादुर्भाव भएको छ । हामीमध्ये कतिपयले उच्च कोटीका दर्शनहरू निकै ठुला विद्वान्का दिमागका उपज हुन् भनी सोच्ने गर्दछौँ । निश्चय नै दर्शनको जन्म ठुला विद्वान् र विचारकहरूको कलमबाट नै हुन्छ । तर, तिनले लेखोटमा उतार्ने विचारको पृष्ठभूमि सामाजिक परिवेश हो । समाजमा विद्यमान परिघटना र सामाजिक सम्बन्ध नै दर्शनका आधारहरू हुन् । एकान्तमा बस्ने व्यक्तिले कुनै कुराको जानकारी पाएको हुँदैन । त्यस कारण दर्शनहरू दार्शनिकका खोपडीबाट बनिबनाउ अवस्थामा जन्मिँदैनन् [Conforth]।
दर्शन सम्पूर्ण विषयको आधारशिला हो । जहाँसम्म दर्शन र राजनीतिको सवाल छ, यी दुई विषय एक–आपसमा अन्तरसम्बन्धसित र अन्तर निर्भर छन् । दर्शनले राजनीतिलाई मार्ग निर्देशन गर्दछ भने राजनीतिले दर्शनलाई सहयोग र संरक्षण गर्दछ । प्राचीन पूर्वीय समाजमा राजा महाराजाहरूले राजकाज चलाउनका लागि दर्शनको जानकारी लिन थुप्रै विद्वान्हरूलाई राजदरबारमा आमन्त्रण गर्दथे । याज्ञवल्क्य, अष्टावक्र, मैत्रेयी, गार्गीजस्ता विद्वान् तथा दार्शनिकहरू राजा जनकको दरबारमा जम्मा भएर शास्त्रार्थ गरेका र विजेतालाई राजाले इनामको व्यवस्था गरेका अथवा विजेताले पराजितलाई दण्ड जरिवाना गरेका कैयौँ प्रसङ्गहरू भेटिएका छन् ।
आफूलाई दर्शनको ज्ञान दिने विद्वानहरूलाई राजाले पशुधन र भूमि उपलब्ध गराउँथे । एउटै व्यक्ति दार्शनिक र राजनीतिज्ञ दुवै भएका उदाहरणहरू पनि इतिहासमा थुप्रै पाइन्छन् । प्राचीन पाश्चात्य दार्शनिक प्लेटो राजनीतिज्ञ पनि थिए । त्यस्तै व्यास पनि दार्शनिक र राजनीतिज्ञ दुवै थिए । दार्शनिकको रूपमा उनले वेदान्त दर्शन लेखे भने राजनीतिज्ञको रूपमा महाभारतको रचना गरे । सर्वहारा वर्गका नेता कार्ल मार्क्सले द्वन्द्वात्मक भौतिकवादी दर्शनलाई जन्म दिए । राजनीतिज्ञको रूपमा उनले कम्युनिस्ट पार्टीको घोषणापत्र तयार गरी मजदुरहरूलाई पुँजीपति वर्गका विरुद्ध सङ्गठित गरे । समाजमा यस्ता उदाहरणहरू थुप्रै पाउन सकिन्छ ।
दर्शनको सम्बन्धमा अक्सर सामान्य मानिसहरू के सोच्ने गर्दछन् भने यो भनेको अति नै बौद्धिक मानिसको अध्ययनको विषय हो । दर्शनसम्बन्धी कुराहरू बुझ्न गाह्रो हुने हुनाले यस्तो सोचाइ विकसित भएको हुनुपर्दछ । दर्शनको विषयमा कलम चलाउनेहरूले निकै क्लिष्ट र कठिन भाषामा यसलाई व्यक्त गर्ने गरेका छन् । लेनिनले बर्कलेका विचारहरूलाई छिपाउनका लागि तरह तरहका पण्डित्याइँ छांटने दार्शनिकहरूको कट्टर आलोचना गरेका छन् (चट्टोपाध्याय, २००७ ः २) । तर विडम्बना, जनताको पक्षमा कलम चलाउनेहरूले पनि आज यही क्लिष्ट शैली अपनाएका छन् ।