Gyaan Ghar

Home

Advertisement

सहरमा एक दिन

* हरिहर खनाल
मनसुन भर्खरै निख्रन थालेको थियो, तर आकाश राम्ररी खुलेको थिएन । कनिके पानी बिरबिर परिरहेको थियो । बिहानी ढल्कन थालेको थियो । खाना खाईवरी बरन्डामा बसेर पत्रिका हेर्न थालेको थिएँ । पेटमा खाना परेपछि, एक आपसमा उछिनपाछिन गर्दै तलाउमा हुत्त्याएको बल्छीको आहारतिर ओइरिएका माछा झैँ विविध अवयवसित जोडिएका शरीरभित्रका सेलहरू पनि आमाशय तिरै केन्द्रित भएर हो कि कुन्नि ? आलस्यले छपक्क छोप्यो । आँखा लोलाउन थाले । निद्राले झप्प पार्‍यो । अलिअलि उङ्दै, अनि घरीघरी लोलाएका आँखा पत्रिकातिर डुलाउँदै थिएँ, हातको पत्रिका भुईँमा खस्नै लाग्दा मोबाइलको घण्टी बज्यो र म झसङ्ङ हुँदै बिउँझिएँ । मोबाइल उठाएँ, रविको रहेछ, । माझी औँलाले स्क्रिनमा छोएँ र दाहिनेतिर धकेलेँ । अनि देब्रे कानमा टाँसेर भनेँ, ‘अँ रवि भन, के छ हालखबर ?’
‘तिमीले लेखिसक्यौ ?’ बिना भूमिका रविले सोध्यो । रवि मेरो बाल सखा हो । साहित्यिक पत्रिका निकाल्न तम्सन्छ अझै, मजस्तै । केही दिन अगाडि एउटा रचना मागेको थियो, पत्रिकाको लागि । वचन हार्न नसकेर हुन्छ भनिदिएको थिएँ । अहिले परेँ फसादमा । के उत्तर दिने होला भन्ने कुराले एक छिन त म अलमलमा परेँ । तैपनि, कुरा मिलाएर भनेँ, ‘सुन साथी, मलाई अब चार दिनको समय देऊ, म तिम्रो इमेलमा राखिदिन्छु ।’ नाइँ भन्न नसकेर मात्र यस्तो उत्तर दिएको थिएँ मैले ।
‘ठिक छ । सुन रामचन्द्र । चार दिन होइन, तिमीलाई एक हप्ताको समय भयो, तर जसरी पनि एउटा रचना तयार गरेर पठाऊ, मैले दिएको शीर्षकमा । पत्रिका चलाउन साह्रै गाह्रो भएको छ आजकल । गतिला रचना नै पाइँदैन । के भएको होला यो ?’ रविले लामै भाषण दियो ।
‘तिमी ढुक्क भए हुन्छ । म पठाउँछु । तोकिएकै समयमा ।’ उसलाई आश्वस्त पार्न खोज्दै उत्तर दिएँ ।
पठाउँछु त भनेँ, तर अब के उपाय निकाल्ने होला ? लेखिराखेको अप्रकाशित कुनै रचना जगेडा थिएन । चाहिने बित्तिकै तयार गर्न सक्ने कुरा पनि भएन । देश, काल, परिवेश, पात्र, घटना सबैको सुन्दर समायोजन भयो भने न जन्मन्छ सिर्जना, आकार ग्रहण गर्छ रचनाले, तर यति बेला मसित विगतको मेरो सक्रिय जीवनका सिर्जनात्मक कार्यका संस्मरणहरू मात्र बाँकी थिए । ती पनि अलिखित रूपमा ।
म परेँ फन्दामा । पठाउँछु त भनेँ, तर अब के गर्ने होला भन्ने चिन्ताले मलाई सताउन थाल्यो । भित्र पसेँ र पुराना फाइलहरू पल्टाउन थालेँ । करिब बिस वर्ष पुरानो एउटा लेख फेला पर्‍यो । ढुङ्गा खोज्दा देउता मिलेजस्तो लाग्यो । मनै उज्यालो भयो । यसैलाई थोरै परिमार्जन गर्छु र एउटा उपयुक्त शीर्षक राखेर पठाउँछु । आपत्कालीन समयमा काम चलाउनका लागि सबै लेखकहरूले गर्ने यही हो क्यारे । मनमनै भनेँ । तर कसरी पठाउने ? मसिना अक्षरमा सात आठ पाना छन् । टाइप गराउनु पर्छ । आफ्नो ढङ्ग छैन । आँखा कमजोर छन् । हात छिटो चल्दैन । एउटा टाइपिङ इन्स्टिच्युटमा गएर टाइप गराउनु पर्ला । सहरमा गएर टाइपिस्टलाई भेट्छु । उचित पारिश्रमिक दिएपछि टाइप गरिदिन्छन् । पेन ड्राइभमा ल्याएर सम्पादन चाहिँ बिस्तारै आफैँ गर्नुपर्ला । यस्तै ठान्यो मनले । त्यसपछि पुरानो फाइलमा फेला परेको त्यो आलेखलाई पट्याएर गोजीमा राखेँ र सहरको बाटो समातेँ ।
माइक्रो होलो होलै थियो तर ज्येष्ठ नागरिकका लागि छुट्टाइएको सिटमा त्यस्तै पच्चीस जतिकी युवती अढाई वर्ष जतिकी छोरीलाई काखमा च्यापेर बसिरहेकी थिई र उसको देब्रेतिर त्यस्तै बाइसकी जस्तै देखिने भर्खरै फक्रेको गुलाफको फूल जस्ती अर्की युवती थिई । टाउको निहुराउँदै म भित्र पसेँ । जानेवित्तिकै मेरा आँखा त्यही महिलाका आँखासित ठोक्किन पुगे । किञ्चित असमञ्जसेमा परेकी जस्ती देखिएकी उसले मेरो अनुहारमा आँखा अड्याएर भनी, ‘बुबा, बस्नोस्, म यता बसुँला ।’ सिटबाट उठ्न खोजेजस्तो गरेर उसले भनी । निकै सुझबुझ भएकी भद्र महिला रहिछे ऊ मैले मनमनै यस्तै ठानेँ ।
‘ठिक छ, तपाई बस्नुस् । म कतै मिलेर बसुँला । यताउता आँखा घुमाउँदै मैले भनेँ । देखेँ, चालक पछाडिको उल्टो सिट एउटा खाली रहेछ ।
म अलिकति ठेलिँदै कुनासम्म पुगे र आसन बिसाएँ । तेस्रो स्टपपछि म ओर्लिएँ र नेपाल यातायात समातेँ ।
बसका सबै सिट ठिक्क भरिएका थिए । कुनै पनि खाली थिएन र कोही पनि उभिएको थिएन । देब्रेतिरको दोस्रो लङमा ‘ज्येष्ठ नागरिक’ लेखिएको थियो । तर त्यस सिटमा सेतो कमिज, कालो पाइन्ट, काला जुत्ता र कालै चस्मा लगाएको, कालो कपालवाला, यस्तै पैँतिस–छत्तीस जतिको एउटा खाइलाग्दो अधबैँसे युवक काखमा कालै झोला राखेर, मानौँ भित्रतिरको वातावरणसित ऊ बिलकुलै अनभिज्ञ छ जस्तो भावमा, सबै कुरा देखिरहेको भए पनि केही नदेखेझैँ गरेर, कालै मोबाइल हातमा लिएर खेलाइरहेको थियो । म त्यही नजिक गएर सिटको टाउको समातेर उभिएँ । ए भाइ, उठ्नोस् त । यो ज्येष्ठ नागरिकको सिट हो । एक मन त यसो भनूँ जस्तो लागेको थियो, तर अर्को मनले त्यसो गर्न मानेन । यति त सामान्य विवेक भएको मानिस हो भने उसले पनि बुझ्नुपर्छ नि । भनिरहनुपर्ने कुरा हो र यो ? मैले मनमनै भनेँ । ठिक त्यति नै बेला दाहिनेतिरको लङमा छेउको सिटमा बसेकी युवतीका आँखासित मेरा आँखा जुध्न पुगे । हल्का हरियो रङको कुर्तामा सेतो किनारा, सेतो सुरुवालमाथि कुर्ताकै रङका छप्प छप्प परेका बुट्टा र वसन्त ऋतुको फूलबारीमा फक्रन लागेको गुलाफको कोपिलाजस्तो जोबन, हेर्दैमा हिसी परेकी त्यस युवतीको संस्कार पनि सलाम गर्न लायकको रहेछ भन्ने ठानेँ मैले । शिष्टतापूर्वक आग्रह गर्दै उठेर ठाउँ छोडिदिएपछि नाइँ भन्ने समय पनि मिलेन मलाई । ‘थ्याङ्क यु ।’ ऊतिर हेरेर मैले शिष्टतापूर्वक भनेँ र उसले छोडिदिएको सिटमा बसेँ ।
‘यति सामग्री टाइप गरिदिनु पर्याे । म तपाईँलाई उचित पारिश्रमिक उपलब्ध गराउने छु । रचनाको खाम टाइपिस्टको हातमा थमाउँदै मैले भनेँ ।
‘भइहाल्छ नि सर । म भोलि तिरै सकेर सरको इमेलमा राखिदिन्छु ।’ प्रेमपूर्वक खाम हातमा लिँदै अनुहारमा हल्का मुस्कान छरेर टाइपिस्टले उत्तर दियो ।
फर्कँदा पनि बसमा चढिसकेपछि ज्येष्ठ नागरिकलाई छुट्ट्याएको देब्रे तिरको दोस्रो सिटमा देखेँ, सेतो कमिज र कालो पाइन्ट लगाएको कालो कपालवाला, यस्तै बिस एक्काइसको लोर्के तन्देरी बसिरहेको थियो । बस खचाखच थिएन । बिलकुलै हल्का । सबै सिट भरिएका, तर कोही पनि नउभिएका । देब्रेतिरको ज्येष्ठ नागरिक लेखिए मुनिको सिटमा बसिरहेको लोर्के ठिटाका आँखामा आँखा अड्याएर मैले भनेँ, भाइ, यो ज्येष्ठ नागरिकको सिट हो, उठ । त्यस ठिटाले टाउको तन्काएर माथितिर हेर्‍यो र ‘ज्येष्ठ’ शब्दमा परेका किरमिर धर्कातिर हेर्दै भन्यो, ‘तर त्यहाँ त केरेको छ त्यसका कुरा सुनेर मलाई जङ चल्यो । पढ्न आउँछ कि आउँदैन ? दह फसल गरिरहने कि खुरुक्क उठ्ने ?’ म कड्किएँ ।
‘बुढा त बबाल रहेछन् बा केटाले यस्तै ठान्यो होला भन्ने लाग्यो मलाई । ऊ उठ्यो र ‘ल ल बस्नोस्’ भन्दै ठाउँ छोड्यो । सिटमा बसेपछि झ्यालबाट बाहिरतिर हेरेँ, देखेँ बाहिर कतै कतै क्षितिज किनारातिर बादलका टुक्रा देखिए पनि आकाश उघ्रिएको थियो । बस बेतोडले घुइँकिन थालेपछि घामका न्याना किरणहरूले मुसार्न थालेको मेरो शरीर झम्म पर्न थाल्यो र मेरा आँखा लोलाए । म एकै छिनमा झँकाए । निदाएको बेलाको सन्सार कस्तो हुन्छ कुन्नि ?
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

राजनीति

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

दक्षिण कोरियाको ब्याट्री कारखानामा आगलागी, १६ जनाको मृत्यु

काठमाडौँ । दक्षिण कोरियाको एक कारखानामा धेरै लिथियम ब्याट्री विस्फोट हुँदा आगलागी भएको छ । यस घटनामा १६ जनाको मृत्यु भएको...
सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

सर्वोच्चको अन्तरिम आदेशपछि जोगियो फणीन्द्रको प्रदेश सांसद पद 

काठमाडौँ । सर्वोच्च अदालतले गण्डकी प्रदेश सभा सदस्य फणीन्द्र देवकोटालाई तत्काल कारबाही नगर्न अन्तरिम आदेश दिएको छ । सर...
साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

साउदी अरबमा हज यात्रामा मृत्यु हुनेको सङ्ख्या १३ सय नाघ्यो

काठमाडौँ । साउदी अरेबियाको प्रशासनले हज यात्रामा मारिएका व्यक्तिको आधिकारिक तथ्याङ्क सार्वजनिक गरेको छ । साउदी प्रशासनका ...
अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

अन्पाको कविता वाचन तथा समीक्षा कार्यक्रम सम्पन्न

काठमाडौँ, असार ९ । विचार र सिर्जनाको संयोजन गर्दै कविताहरूमा अझ निखारता ल्याउने उद्देश्यका साथ अखिल नेपाल प्रगतिशील लेखक ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search