म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् । तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन्। त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो।
“पूँजी”को अध्ययनले मेरो जीवन पूर्ण रूपले परिवर्तित भयो । यसले मेरो जीवनलाई कसरी परिवर्तन गर्यो भन्ने तथ्यलाई मेरो व्यक्तिगत टिपोटको आधारमा उल्लेख गर्दछु ।
मैले भारतको एक प्रतिष्ठित संस्थाबाट सन् १९६९ मा रसायन अभियान्त्रीकरण (केमिकल इन्जिनियरिङ) मा डिप्लोमा उत्तीर्ण गरेँ र अमेरिकन विश्वविद्यालयमा अर्थशास्त्रको विद्यावारिधिका लागि छनौट भएँ । म भर्ना भएको विश्वविद्यालयमा भियतनाममा अमेरिकी हस्तक्षेपको विरुद्धमा शक्तिशाली विद्यार्थी आन्दोलनको सुरुवात भएको थियो । तर मैरो विद्यावारिधिको पाठ्यक्रममा किन यति शक्तिशाली राष्ट्रले भियतनाम जस्तो तेस्रो विश्वको सानो राष्ट्रमाथि आक्रमण गरिरहेको छ भन्ने प्रश्नको जवाफ दिने विषयवस्तु थिएन ।
यसै समयमा म कार्ल मार्क्सको “पूँजी” अध्ययन समूहमा संलग्न हुन पुगेँ । मार्क्सद्वारा सन् १८५० र १८६० को समयमा लेखिएको अर्थशास्त्रको यो जटिल पुस्तकलाई कतिपयले अप्रचलित र असान्दर्भिक समेत मान्दछन् | तर मलाई के लाग्यो भने यस समयका मुख्य अर्थशास्त्रका पुस्तकहरूले वास्तविक संसारको व्याख्या गर्न सकेका छैनन् । त्यसैले म “पूँजी” अध्ययन समूहमा संलग्न भएँ, जसले मेरो समग्र जीवनलाई नै परिवर्तन गरिदियो ।
मैले विभिन्न सामाजिक विज्ञानका विषयहरूलाई आधार मानी विद्यावारिधि गरिरहेका विश्वविद्यालयका १० जना विधार्थीहरुकों समूहमा समावेश भई अङ्ग्रेजी भाषामा “पूँजी”को अध्ययन गरेँ ।
सर्वप्रथम मलाई के लाग्यो भने यो पुस्तकलाई निकै सावधानीपूर्वक अध्ययन गर्नुपर्दछ र जसका वाक्यको महत्त्वपूर्ण अर्थ रहेको छ । क्रमशः मैले के पाएँ भने मार्क्सको यो पुस्तक निकै विश्लेषणात्मक रहेको छ जसको अध्ययनबाट मैले मनोरञ्जन लिन थालेँ । मैले विश्वविद्यालयको सेमेस्टर सङ्गै यसलाई निकै पटक दोहोर्याएर अध्ययन गरेँ, जसमा मैले केही नयाँ धारणा प्राप्त गर्न थालेँ ।
“पूँजी”को अनुवादमा समेत कवितात्मक रहेको छ । मार्क्सको विज्ञतामा यति व्यापकता छ कि “पूँजी”मा राजनीतिक अर्थशास्त्र, द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवाद र सेक्सपियर वा गोथेका भनाइहरू समेत समाविष्ट छन्।
मार्क्सको लेख्ने कलामा केही मनोरञ्जनात्मकता र बुर्जुवा अर्थशास्त्रीहरू र पुँजीवादी प्रणालीप्रति कटाक्ष रहेको छ । इन्जिनियरिङमा स्नातक र गणितीय अर्थशास्त्रमा तालिमप्राप्त मैले “पूँजी’बाट के सिक्न सक्दथे? सर्वप्रथम मैले के बुझेँ भने समाज र यसको गतिशीलता बुझ्नका लागि ऐतिहासिक दृष्टिकोण आवश्यक पर्छ । दोस्रो, समाजको गतिशीलता उत्पादनका साधनमाथिको स्वामित्व, उत्पादक शक्ति र उत्पादनका साधन बिचको सम्बन्धले निर्धारित गर्दछ । तेस्रो, पुँजीवादी उत्पादन पद्धति निम्न तिन कुरामा आधारित रहेको छ:
१. उत्पादक शक्तिहरूलाई उत्पादनका साधनबाट अलग्याउनु र तिनीहरूलाई ज्यालादारी मजदुरमा रूपान्तरित गराउँदै एक ध्रुवमा पुर्याउनु ।
२. उत्पादनका साधनहरूलाई निजी स्वामित्व वा एकाधिकारमा रूपान्तरित गर्दै अर्को ध्रुवमा पुर्याउनु ।
३. उत्पादनको सम्पूर्ण नाफा र बजारबाट प्राप्त मुनाफा व्यक्तिगत खातामा जानु ।
मार्क्सले यी सम्पूर्ण नाफामुखी प्रणालीहरूको विस्तारको बारेमा व्याख्या गर्नुभएको छ । “पूँजी”को पहिलो भागमा उपनिवेशवादको आधुनिक सिद्धान्त र पुँजीवादको विश्वव्यापी चरित्रको बारेमा व्याख्या गरिएको छ। यसलाई मार्क्सले पुँजीवादी उत्पादन पद्धतिको नाफामुखी चरित्र र नाफाको औपनिवेशिक बिस्तारसँग जोडेर व्याख्या गर्नुभएको छ | पछि लेनिनले यसलाई साम्राज्यवादी प्रणालीको रूपमा व्याख्या गर्नुभयो ।
मार्क्सले “पूँजी”मा पुँजीवादी आर्थिक प्रणालीको विरोधाभास चरित्रका बारेमा उल्लेख गर्नुभएको छ । पुँजीपति बिचको द्वन्द्व तथा पुँजीपति र कामदार वर्ग बिचको द्वन्द्व समाजमा उत्पादक शक्तिहरूमा द्रुततर वृद्धि भइरहेको छ एकातिर भने अर्कोतिर अत्यधिक उत्पादन, उपभोक्ताको क्रय क्षमतामा ह्रास, अत्यधिक नाफा र बेरोजगारीमा वृद्धि भइरहेको छ । यो विरोधाभासले पुँजीवादी समाजको बढ्दो उत्पादन क्षमता र उपभोग क्षमताको घट्दो ह्रास देखाउँछ। जसले मागमा सङ्कट र बेरोजगारीको दरमा वृद्धि गराइरहेको छ ।
यसले पुँजीवादको बेथिति र अराजकता देखाउँछ जसको फलस्वरूप सम्पूर्ण आर्थिक क्षेत्रमा सङ्कट उत्पन्न भइरहेको छ । त्यसै गरी प्रविधिको बढ्दो विकासले उत्पादन दरमा वृद्धि भइरहेको छ । जसले बेरोजगारीमा वृद्धि र नाफामा घटबढ गराइरहेको छ । यी सम्पूर्ण ऐतिहासिक कारक तत्त्वहरूले पुँजीवादी प्रणालीमा उतारचढाव ल्याइरहेको छ र बेरोजगारीमार्फत कामदार वर्गको जीवनमा निकै नकारात्मक प्रभाव पारिरहेको छ ।
यी सबैको बाबजुद पुँजीपति वर्ग र पुँजीवादी राष्ट्रको बिचमा विश्व स्तरमा द्वन्द्व झाँगियो, दुई वटा विश्वयुद्धमा लाखौँ मानिस मारिए र ठुला कर्पोरेसनहरूले अत्यधिक नाफा हात पारे । हालसम्म पनि विश्व पुँजीवादमा सङ्कट कायम छ, अर्थतन्त्रमा गिरावट र बेरोजगारीको दर उच्च नै रहेको छ । अहिलेको विश्व पुँजीवादमा रहेको सङ्कट र जलवायु परिवर्तनको विश्वव्यापी सङ्कटमा पनि पुँजीवादी प्रणालीको मुख्य हात रहेको छ।मार्क्सको “पूँजी”ले पुँजीवादी उत्पादन स्वरूपको ऐतिहासिक विघटन र १९औँ शताब्दीमा भएका पुँजीवाद जीवन्त राख प्रक्रियाको विश्लेषण गर्दछ । बिसौँ शताब्दीको अनुभवले के देखाउँछ भने विश्वका औद्योगिक राष्ट्र र उपनिवेशमा रहेका राष्ट्रका जनताले पुँजीवादको विरुद्धमा विद्रोह गरिरहेका छन् । विज्ञान र प्रविधिमा आएको परिवर्तन, खाने, बस्ने स्थान, लुगाफाटो, शिक्षा र स्वास्थ्य लगायतका आधारभूत आवश्यकताको परिपूर्तिका बाबजुद २१औँ शताब्दीमा पनि पुँजीवादी प्रणालीमा सङ्कट नै रहेको छ । मार्क्सको “पूँजी”मा गरिएको पुँजीवादी प्रणालीको वैज्ञानिक व्याख्याले आधुनिक समाजमा रहेको धनी र गरिब बिचको असमानता बुझ्न झन् सघाउ पुर्याइरहेको छ ।
के “पूँजी” पढ्नु निकै चुनौतीपूर्ण हो ?
अब मैले “पूँजी”बाट के सिके भन्ने तथ्यलाई उल्लेख गर्दै छु । मेरो बुझाइमा राजनीतिक कार्यकर्ता र बौद्धिक वर्गले समेत भनिरहेको “पूँजी” निकै कठिन छ भन्ने भनाइमा कुनै सत्यता छैन। तर के चाहिँ सत्य हो भने “पूँजी”को पढाइमा एक स्तरको लगाव, अध्ययनमा निरन्तरता र तार्किकता हुन जरुरी छ। त्यसैले “पूँजी”को अध्ययन अत्यन्तै फाइदाजनक र असामान्य रूपले ज्ञान आर्जन उन्मुख छ।
“पूँजी”मा मार्क्सले “पूँजी”वादी उत्पादनको पद्धतिको विश्लेषण, यसको आन्तरिक गतिशीलता र विरोधाभासको उल्लेख गर्दै पुँजीवादको गतिशीलताको नियमलाई संक्षेप करण गर्नुभएको छ । यस्तो विश्लेषण ऐतिहासिक भौतिकवादी धारणाको आधारमा हुनुपर्छ, जसले उत्पादनको स्वरूपको विश्लेषणमा समेत सघाउ पुर्याउँछ। यसका लागि एक स्तरको भावनात्मकता अनिवार्य हुन्छ। मार्क्स कै शब्दमा “आर्थिक स्वरूपको विश्लेषणमा, न सुक्ष्मदर्शक यन्त्र न रासायनिक अभिकर्ताको नै प्रयोग गर्न सकिन्छ। भावनात्मक क्षमताले मात्र यसलाई विस्थापित गर्न सक्दछ।”
मार्क्सले आफ्नो लेखनमा सम्पूर्ण विज्ञानको प्रयोग गर्नुभएको छ। मार्क्सको पूँजीको प्रथम भागका तिन एकाइहरू वस्तु र मूल्यको धारणामा आधारित छन्। मार्क्सको “पूँजी”को अध्ययनमा कुनै नियमितता नभई जुनसुकै एकाइलाई जतिखेर जसरी पढे पनि हुन्छ। पाठकहरू जसले ऐतिहासिक दृष्टिकोणको आधारमा विश्लेषण गर्दछन्, उनीहरूले “पूँजी”को प्रथम भागको अन्तिम एकाइ पूँजीको आदिम वा प्राथमिक सङ्कलन वा सच्नय पढ्दा उपयुक्त हुन्छ। यस एकाइको ६० पेजले बेलायतमा सत्रौँ शताब्दीदेखि उन्नाइसौँ शताब्दीसम्म कसरी पुँजीवादी उत्पादन प्रद्धतिको ऐतिहासिक विकास भयो भन्ने प्रक्रियाको राम्रो ढङ्गले विश्लेषण गर्दछ।
कामदार वर्गको आन्दोलनको जुझारुपनको बारेमा “पूँजी”को भाग एकको एकाइ ३, ४ र ५ मा उल्लेख गरिएको छ। । जसमा सापेक्ष र निरपेक्ष अतिरिक्त मूल्यको विश्लेषण गरिएको छ। त्यस्तै पूँजीको १०औँ एकाइमा “कार्य दिवस” को बारेमा लेखिएको छ जसले तेस्रो विश्व खास गरी भारतको उपयोग र अन्य क्षेत्रमा रहेको काम गर्ने समयको बारेमा रहेको विविधताको व्याख्या गरिएको छ। यो एकाइले इतिहास खास गरी वैधानिक इतिहासको उल्लेख गर्दै वर्ग, अतिरिक्त मूल्यको पूँजी र शोषण विरुद्धको कामदार वर्गको प्रतिरोध आन्दोलनको उल्लेख गरेको छ।
मार्क्सको शब्दमा “काम गर्ने दिनको बारेमा पुँजीपति र मजदुरको बिचमा लामो समयदेखि द्वन्द्व चलिरहेको छ। जसले दुई विपरीत वर्गको प्रवृत्तिलाई देखाउँछ…।” मार्क्सले मजदुरलाई आफ्नो श्रमको मालिक भएको उल्लेख गर्दे यसलाई उसले आफू खुसी बेच्न पाउनुपर्ने तर्क राख्नुभएको छ । त्यसैले कामको घण्टा तोकिनु वास्तवमै म्याग्राकार्टा नै हो भन्ने धारणा मार्क्सको छ | यसलाई मार्क्सले सन् १८६० को दशकमा बेलायतको सन्दर्भमा व्याख्या गर्नुभएको थियो | जसलाई भारत, नेपाल लगायतका राष्ट्रको सन्दर्भमा पनि व्याख्या गर्नु पर्दछ।
“पूँजी” भाग -१को सातौँ, आठौँ र नवौँ एकाइमा क्रमशः सहकारिता, श्रम विभाजन र उत्पादन तथा यान्त्रिकता २ आधुनिक उपयोगको बारेमा व्याख्या गरिएको छ । मार्क्सले इन्जिनियर र प्राविधिकहरूको बारेमा उपयोगी हुने यो एकाइमा औद्योगिक उत्पादनका विषयवस्तुबारे व्याख्या गर्नुभएको छ । यसलाई मार्क्सले सामाजिक र ऐतिहासिक रूपान्तरणको प्रक्रिया मान्दै यसले पुँजीवादी उत्पादन पद्धतिमार्फत मजदुरको बेरोजगारी अवस्थाको समेत व्याख्या गर्नुभएको छ।
मार्क्सले उद्योगमा प्रविधिको प्रयोगले क्रान्तिकारी परिवर्तन ल्याएको धारणा राख्दे परम्परागत उत्पादनको स्वरूपलाई परिवर्तन गर्नुपर्ने धारणा राख्नुहुन्छ । उद्योगमा रसायन, प्रविधि र अन्य आधुनिक विधिको प्रयोगले उत्पादन प्रक्रियामा समेत परिवर्तन हुने र यसले सामाजिक सम्बन्धमा समेत प्रभाव पार्ने गर्दछ । प्रविधिको प्रयोगले श्रम विभाजन, विश्वव्यापी श्रमिक गतिशीलता र पुँजीवादी उत्पादन पद्धतिमा अत्यधिक प्रभाव पार्ने धारणा राख्दै यसले श्रमिकको अवस्था र बेरोजगारीमा समेत असर पार्ने धारणा राख्नु हुन्छ।
मार्क्सले आधुनिक उद्योगको भूमिकाको बारेमा सन्तुलित र ऐतिहासिक धारणा राख्नु हुँदै पुँजीवादी उत्पादन स्वरूपका अन्य विभिन्न पक्षहरूको विश्लेषण गर्नुभएको छ । उद्योग र कृषिको सम्बन्धमा समेत मार्क्सले आफ्नो धारणा राख्नुभएको छ । मार्क्सले पुँजीवादी औद्योगिक आधुनिकीकरणले कृषि र कृषि कामदारको जीवनमा परेको प्रभावको समेत विश्लेषण गर्नुभएको छ । मार्क्सका अनुसार पुँजीवादी उत्पादनले कृषि र निर्माणको क्षेत्रमा अत्यधिक प्रभाव पारेको छ | यसले भविष्यको भौतिक अवस्थाको उच्चतामा कृषि र उद्योगको एकताले महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ । मार्क्सले मानव र माटोबिचको सम्बन्धको समेत व्याख्या गर्दे माटोको उत्पादकताको विश्लेषण गर्नुभएको छ । मार्क्सका अनुसार पुँजीवादी कृषिले माटोलाई आफ्नो हितमा प्रयोग गरेको छ । उत्पादकत्व नाउँमा माटो र श्रमिकहरूको शोषण गरेको छ।
“पूँजी”; एक आनन्दपूर्ण अध्ययन
“पूँजी”को अध्ययन सरल र ज्ञानवर्धक छ। “पूँजी”को पहिलो भागको अध्ययनले हामीलाई पुँजीवादका मुख्य धारणा र पुँजीवादी उत्पादन पद्धतिको बारेमा बुझ्न सघाउ पुर्याउँछ । यो अत्युक्ति हुँदैन कि शासक वर्गले समेत पुँजीवादी उत्पादन स्वरूपको विश्लेषणका लागि “पूँजी”को अध्ययन गर्दछन् । बुर्जुवा विचारकहरू र बौद्धिक वर्गले समेत मार्क्सको पूँजीलाई अस्वीकार गर्दे यसको बौद्धिक चोरी गरिरहेका छन्। अर्थशास्त्रीहरूले मार्क्सलाई अर्थशास्त्रीको रूपमा नभई राजनीतिक प्रचारकको रूपमा व्याख्या गरिरहेका छन् । पुँजीवादभित्रको सङ्कट गहिरिँदै जाँदा र नवउदारवाद तथा किन्सको सिद्धान्तले यसको व्याख्या गर्न नसकेको सन्दर्भमा मुख्य अर्थशास्त्रीहरूले मार्क्सलाई पनि उत्तररिकार्डियन भनी हल्ला फिँजाइरहेका छन् । मार्क्सको सिद्धान्तलाई गलत ढङ्गले प्रचार गरिरहेका छन्|
मार्क्सको “पूँजी”को प्रथम भागमा उल्लेख गरिएको वस्तु र मूल्यको धारणा नै पूँजीको सबैभन्दा महत्त्वपूर्ण र कठिन धारणा हो । यो भागमा मार्क्सले वस्तुको उपयोग मूल्य र विनिमय मूल्यको उल्लेख गर्नुभएको छ । मार्क्सको विनिमय मूल्यको धारणा एक जटिल सामाजिक सम्बन्धको प्रतीक हो । जुन बाह्य र देखिने स्वरूपमा मात्र नभएर अत्यन्त गहिरो र पुँजीवादी उत्पादन स्वरूपलाई उजागर गर्ने धारणा समेत हो।
“पूँजी”को प्रथम भागको २५ एकाइ पनि त्यतिकै महत्त्वपूर्ण छ, जसले पुँजीवादी सञ्चित करणको नियमको बारेमा उल्लेख गर्दछ । यसले पुँजीवादी उद विकासको विरोधाभास मात्र नभएर वास्तविक संसारको विरोधाभास समेत उल्लेख गर्दछ । मार्क्सको “पूँजी”का सम्पूर्ण एकाइहरू यति महत्त्वपूर्ण छन् कि प्रत्येकले विगत र वर्तमान संसारको आवाज बोलिरहेको देखिन्छ। मार्क्सले तत्कालीन तथ्याङ्कलाई सावधानीपूर्वक प्रयोग गर्नुभएको छ र अनुभवसिद्ध तथ्यहरूको समेत प्रयोग गर्नुभएको छ । उहाँले पूर्वीय साहित्य र तत्कालीन समयका दार्शनिक विचारहरूलाई समेत यथास्थानमा राम्रो ढङ्गले प्रयोग गर्नुभएको छ।
मार्क्सले त्यस समयका प्रसिद्ध कवि गोथेको उल्लेख गर्दै पुँजीवादको विकास र यस भित्रका विरोधाभास र यसको विनाशको राम्रो ढङ्गले व्याख्या गर्नुभएको छ। त्यसैले “पूँजी”को अध्ययन गर्नुहोस्, यसको भूमिका पढ्न नछुटाउनुहोस् र तिनै भागको अध्ययनले तपाईँको ज्ञानको क्षितिज नवीन र फराकिलो समेत हुनेछ।
(प्रा. वैंकटेश आत्रेयद्वारा लिखित मार्क्सवादी राजनीतिक अर्थशास्त्र पूँजी भाग-१ को परिचय पुस्तकको एक अंश। अनुवाद: लेफ्ट रिभ्यु अनलाइन/ गोकर्ण ज्ञवाली र प्रमेश पोखरेल)